NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री : मतले सुरक्षित तर आफ्नै मनमा असुरक्षित

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ४ जना पूर्वकम्युनिस्ट प्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।
२०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीे जननिर्वाचित पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भएका थिए । अधिकारीपछि लामो समय सत्ताको नेतृत्वमा पुग्न नसकेका कम्युनिस्टका लागि संघीय गणतन्त्र स्थापनापछि पटक–पटक सत्ताको नेतृत्वमा पुग्न सफल भए ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन विद्रोही माओवादी सबैभन्दा ठूलो दल भयो । अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए । तर ९ महिनामै प्रचण्ड सरकार ढल्यो । त्यसयता एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली र माओवादीबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । ओली र प्रचण्ड दुई–दुईपटक सत्ताको नेतृत्वमा पुग्न सफल भए । फेरि पनि यी दुई नेता आगामी निर्वाचनपछि पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् । २०६४ देखि लगातार गोरखा–२ बाट निर्वाचन जित्दै आएका भट्टराई योपटक संसदीय निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । निर्वाचनमा भाग नलिएपनि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उनी सक्रिय छन् ।

पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, माधव र झलनाथ सत्ता गठबन्धनबाट एमालेविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । ओली राप्रपा र जसपाको सहयोगमा गठबन्धनविरुद्ध भिडेका छन् । यी सबैले अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धन बनाएर अत्याधिक मतसहित निर्वाचन जितेका थिए । योपटक नेकपा हुँदै एमालेसमेत विभाजन भएको छ । ओलीबाहेक तीन पूर्वप्रधानमन्त्री सत्ता गठबन्धनका उम्मेदवार भएकाले आगामी निर्वाचनमा जितहारको विषयलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भएका छन् ।

परम्परागत दलका नेताहरूमाथि आम नागरिकमा देखिएको चरम राजनीतिक वितृष्णा र युवा तथा स्वतन्त्र उम्मेदवारहरूको सक्रिय सहभागीताले योपटकको निर्वाचन थप रोचक हुने देखिन्छ । आम मतदातामा देखिएको चरम निराशा र राजनीतिक चेतनाको स्तरका कारण आफ्नै सिट सुरक्षित नहुने पो हो कि भन्नेमा दलका नेताहरू चिन्तित देखिन्छन् ।

२०७४ मा वामपन्थीले झण्डै दुईतिहाइ मत पाएर पनि राजनीतिक स्थायित्व, विकास निर्माण र आर्थिक समृद्धि दिन नसकेको आरोप यी चारैजना नेतामाथि लागेको छ । योपटक एक अर्कालाई हराउन मोर्चाबन्दी कसेर निर्वाचनमा होमिएका उनीहरू आफ्नै निर्वाचन क्षेत्रमा कति सुरक्षित छन् भन्नेमा सबैको चासो देखाएका छन् । प्रचण्डबाहेक ओली, खनाल र नेपाल २०४८ देखि लगातार संसदीय निर्वाचनमा भाग लिंदै आएका नेता हुन् । यी सबैले आगामी निर्वाचन जिते आर्थिक समृद्धि, पूर्वाधार विकास र राजनीतिक स्थायित्व लागि विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरूले यस्तो प्रतिवद्धता जनाउन थालेको वर्षौ भइसकेको छ ।

नेताबाट पटक–पटक आश्वासन मात्र पाएको महशुस गरेका नागरिकहरूले नेताहरूको प्रतिवद्धतालाई विश्वास गर्न सकिरहेका छैनन् । यी नै प्रभावशाली चार जना कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरू मतका हिसाबमा बलिया देखिएका छन् । तर नागरिकमा देखिएको नैराश्यताले भने मनैदेखि भने यी नेता आफैं भने असुरक्षित देखिरहेका छन् ।

केपी ओली

एमालेका अध्यक्षसमेत रहेका केपी ओली अघिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले जित्न सफल भए । उनी ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जहाँ ओलीको मतान्तर २८ हजार ८४२ रहेको थियो ।

देशभर माओवादीसँग भागबण्डा गरेका ओलीले आफूमाथि षड्यन्त्र हुनसक्ने भयका कारण राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँगसमेत तालमेल गरेका थिए । एमालेसहित माओवादी र राप्रपाको संयुक्त मतको आधारमा ओलीे अत्याधिक मत ल्याउन सफल भए । राजनीतिमा चलाख देखिएका ओलीले आफ्नो सिट सुरक्षित गर्न क्षेत्र नं. ३ मा लिङ्देनलाई छोडे ताकि त्यतिबेला माओवादी र राजमोबाहेक अन्य दलसँग चुनावी तालमेल गर्ने नीति नै थिएन ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्र झापा ५ मा ४१ हजार ६१९ मत पाएको छ । यो वडाध्यक्षले पाएको मत हो । त्यस्तै वडाध्यक्षमा कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७७८, नेकपा एसले १९८८, राप्रपाले ८ हजार ३५३ मत पाएको छ ।

गठबन्धनको जम्मा मत ३४ हजार ७८८ रहेको छ । जबकी एमाले एक्लैको मत ४१ हजार ६१९ छ । एमाले ६ हजार ८३१ मतले अगाडि देखिन्छ । यो मतमा राप्रपाको मत थप भएकाले एमालेको मत ४९ हजार ९७२ रहेको छ । एमाले गठबन्धनभन्दा १५ हजार १८४ मतले अगाडि देखिन्छ । गठबन्धनबाट ओलीको प्रतिस्पर्धी पनि पुरानै अनुहार भएकाले ओलीलाई जित्न कुनै जटिल र थप रणनीति बनाइराख्न जरुरी छैन ।
संघमा गठबन्धनलाई सहयोग गर्ने शर्तमा स्थानीय तह निर्वाचनमा गठबन्धनले राप्रपालाई सघाएको थियो । तर राप्रपाले झापालगायत केही स्थानमा एमालेसँग तालमेल गर्ने केन्द्रीय नीति भएकाले दमक नगरपालिकाका मेयर राम थापा अप्ठ्यारोमा परेका छन् । यो क्षेत्रमा ओलीसहित २५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

२०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित भएका ओली समकालीन राजनीतिका चतुर खेलाडी मानिन्छन् । नेतृत्वमा आएसँगै उनी पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमासमेत प्रभाव जमाउन सफल भए । विपक्षीमाथि व्यंग्य र उखान–टुक्कासहित चोटिलो प्रहार गर्न उनी निकै माहिर देखिन्छन् । उमेरले ७१ वर्ष नाघेका ओली विभिन्न फण्डामार्फत चर्चामा आइराख्ने नेता हुन् ।

संविधान निर्माणपछि २०७२ मा प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएपछि उनी माओवादीको सहयोगमा २०७२ असोजमा प्रधानमन्त्री भएका थिए । भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री भएका उनले राष्ट्रियताप्रति अडान देखाउँदै लोकप्रियता हासिल गरेका थिए ।
२०४८, ०५१, ०५६ झापा–७ बाट प्रतिनिधिसभा निर्वाचन जितेका ओलीले २०६४ को संविधानसभा निर्वाचनमा झापा–६ बाट पराजित भए । २०७० र २०७४ को निर्वाचन झापा–६ र क्षेत्र नं. ५ बाट निर्वाचित भए । पार्टी विभाजनपछि गतवर्ष चितवनको सौराहामा भएको १० औं महाधिवेशनबाट दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गरेका ओली आगामी निर्वाचनमा पनि राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचन जित्ने दाउमा छन् । पार्टी विभाजन र सत्ता गठबन्धनको कसिलो मोर्चाबन्दीको बाबजुद पनि आगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गर्दै आएका ओलीको भविष्यवाणी कत्तिको सत्य हुन्छ, त्यसका लागि मंसिर ४ सम्म कुर्नुपर्नेछ ।

प्रचण्ड

वाम गठबन्धनको सहयोगमा अघिल्लोपटक चितवन–३ बाट निर्वाचित भएका पूर्वप्रधानमन्त्री प्रचण्डको चुनाव क्षेत्र सरेको छ । योपटक उनलाई एमालेका युवा उम्मेदवार अब्दुस मियाँले चुनौती दिएका छन् । जनमतको हिसाबले यो क्षेत्रमा एमाले थोरै मतले तेस्रो स्थानमा रहेको छ ।

२०६४ को संविधानसभापछि निर्वाचनमा भाग लिँदै आएका प्रचण्डले प्रत्येकपटक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका छन् । ०६४ मा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार रहेका थिए । त्यतिबेला काठमाडौं–१० बाट शर्मनाक हार ब्यहोरेका उनले सिराहाबाट भने झिनो मतले जितेका थिए । २०७४ निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका उनी योपटक अन्तिम समयमा आएर क्षेत्र परिवर्तन गरेका हुन् ।

२०७४ सालमा ९ हजार ३३८ मतान्तरले चितवन–३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई पराजित गरेका थिए । गोरखा–२ पूर्वप्रधानमन्त्री भट्टराईको निर्वाचन क्षेत्र हो ।

२०६४ देखि भट्टराईले लगातार निर्वाचन जित्दै आएका थिए । योपटक आफ्नो निर्वाचन क्षेत्र पूर्वसहकर्मी प्रचण्डलाई जिम्मा लगाएर आफू निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । त्यसैले प्रचण्डका लागि यो क्षेत्र नयाँ भएकाले अघिल्लोपटक भट्टराईको मतान्तर, समानुपातिकमा दलहरूले पाएको मत र गत वैशाखमा भएको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ ।

अघिल्लो निर्वाचनमा नयाँ शक्तिबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई भट्टराईले पराजित गरेका थिए । उनले ३१ हजार ८०७ मत ल्यायी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । भट्टराईको मतान्तर ६ हजार ८७४ रहेको छ । त्यतिबेला उनलाई कांग्रेसले सहयोग गरेको थियो । यो क्षेत्र भट्टराईको गृह क्षेत्र भएकाले उनको व्यक्तिगत प्रभाव राम्रै देखिन्छ । तर प्रचण्ड पूर्वप्रधानमन्त्री र सत्ता गठबन्धनका प्रभावशाली नेता भएपनि उनी नयाँ उम्मेदवार भएकाले कस्तो परिणाम आउनेछ त्यसका लागि केही दिन कुर्नैपर्ने हुन्छ ।

स्थानीय तह निर्वाचनमा गोरखा–२ बाट माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार १३६, एमालेले ७ हजार ९२६, जसपाले ७ हजार ५०४ र राप्रपा ८७८ मत पाएका छन् । योपटक कांग्रेस र भट्टराइकोसमेत समर्थन रहेकाले प्रचण्डले चुनाव जित्ने पक्कापक्की जस्तै देखिन्छ । यहाँ गठबन्धनको जम्मा मत ५० हजार ८९० रहेको छ । एमालेसँगको मतान्तर ४२ हजार ९६४ रहेको छ । गठबन्धन हुँदा प्रचण्ड सबैभन्दा सहज रुपमा चुनाव जित्ने नेताका रुपमा देखिन्छन् ।

उमेरले ६६ वर्ष पार गरेका प्रचण्ड कम्युनिस्ट पूर्वप्रधानमन्त्रीमध्ये कान्छा उम्मेदवार हुन् । उनी २५ वर्ष भूमिगत राजनीति गरी २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०५२ सालबाट सुरु भएको सशस्त्र विद्रोहको प्रचण्डले १० वर्ष नेतृत्व गरे । २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा २०६२÷६३ को जनआन्दोलन भयो । सोही आन्दोलनले नेपालबाट २४० वर्षे राजसंस्थाको अन्त्य गरायो । उनी २०६५ र २०७३ मा दुईपटक प्रधानमन्त्री भएका थिए । निर्वाचन जितेमा तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा उनी छन् ।

माधव नेपाल

अघिल्लो निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार रहेका नेपाल काठमाडौं–२ बाट विजयी भएका थिए । योपटक उनले गृहजिल्ला रौतहट–१ बाट चुनावमा भाग लिएका छन् । एकीकृत समाजवादीको पकड क्षेत्र रहेकाले उनले सहजै निर्वाचन जित्ने आकलन गरिएको छ । गठबन्धनबाट चुनाव लड्दा काठमाडौं–२ नेपालका लागि सुरक्षित देखिएपछि योपटक उनी गृहजिल्ला गएका हुन् ।

नेपाललाई एमालेका अजयकुमार गुप्ताले चुनौती दिएका छन् । गुप्ता पूर्वमेयरसमेत हुन् । योपटक एमालेले उपेन्द्र नेतृत्वको जसपाको साथ पाएको छ । लामोसमय सत्ता गठबन्धनसँग सहकार्य गरेका उपेन्द्रले चुनावको अन्तिम समयमा गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए । जसपाको साथले एमालेलाई केही राहत मिलेको छ ।

यता नेपाललाई महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको छ । अघिल्लोपटक यो क्षेत्रमा लोसपाकै उम्मेदवार विजयी भएका थिए । स्थानीय तहमा पाएको जनमतको हिसाबले लोसपाको बलियो स्थिति रहेको छ । यो क्षेत्रमा एकीकृत समाजवादी आफ्नै बलियो जनमत रहकाले गठबन्धनको सहयोगले नेपालाई चुनाव जित्न सहज देखिन्छ ।

रौतहट–१ मा अघिल्लोपटक राष्ट्रिय जनता पार्टीका उम्मेदवार अनिल झाले जितेका थिए । झा २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । झाको मतान्तर ५ हजार ५९५ रहेको छ । माओवादीका सत्यनारायण भगले १२ हजार ३३१ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा रौतहट– १ बाट एसले १९६९८, कांग्रेसले १६९२८, लोसपाले १२०६२, जसपाले ८२४१, माओवादीले ८१९१ र एमालेले ७३८५ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५६ हजार ८७९ रहेको छ । एमाले–जसपाभन्दा गठबन्धन ४१ हजार २५३ मातान्तरले अगाडि रहेको छ ।

नेपाल २०७० को निर्वाचनमा पनि काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए । मतपरिणाम हेर्दा नेपाल रौतहट–१ मा सुरक्षित रहेका देखिन्छन् । नेपाल २०६४ सालमा दुईदुई ठाउँबाट चुनाव हार्दा पनि प्रधानमन्त्री बन्न सफल भएका थिए ।

एमालेमा झण्डै १५ वर्ष महासचिव भएका पूर्वप्रधानमन्त्री नेपाल २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–१ बाट पराजित भएपछि नेपालले पदबाट राजीनामा दिएका थिए । एमाले ३३ सिटमा खुम्चिएको थियो । दुवै क्षेत्रबाट पराजित भएपनि प्रधानमन्त्री बन्ने सौभाग्य नेपाललाई मिलेको थियो ।

प्रधानसेनापति प्रकरणमा २०६५ वैशाखमा प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि नेपाल कांग्रेसको सहयोगमा २०६६ जेठमा प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भएपछि प्रचण्ड–नेपालको सम्बन्ध त्यतिबेला निकै चिसिएको थियो । २०४८, २०५१, २०५६, २०७० को निर्वाचनमा काठमाडौं र रौतहटबाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उमेरले ६९ वर्ष लागेका नेपाल गतवर्ष एमालेसँग विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् ।

झलनाथ खनाल

२०४८ देखि इलाम क्षेत्र–१ बाट लगातार प्रतिनिधिसभामा निर्वाचित रहेका पूर्वप्रधानमन्त्री एवं नेता खनाल योपटक पनि गठबन्धनको सहयोगमा साविक क्षेत्रबाट नै चुनावमा भाग लिएका छन् । उनलाई एमालेका जिल्ला अध्यक्ष तथा पूर्वमेयर महेश बस्नेतले चुनौती दिएका छन् ।
अघिल्लो निर्वाचनमा खनाल ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।

स्थानीय तह निर्वाचनमा इलाम–१ मा एमालेको २६२३३, कांग्रेसको २५७७२, एसको ९४८१, जसपा १८२९, माओवादी १२३५ र राप्रपाको ११६९ मत रहेको छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३८ हजार ३१७ मत रहेको छ । एमालेसँगको मतान्तर १२ हजार ८४ रहेको छ । गठबन्धनको भोट प्रभावित नभए आगामी निर्वाचनमा पनि चुनाव जित्ने देखिन्छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका सम्मानित नेता खनाल २०६७ माघमा प्रधानमन्त्री भएका थिए । २०६४ मा सबैभन्दा ठूलो दल रहेको माओवादी र एमालेबीच सम्बन्ध बिग्रदै गएपछि एमालेभित्र झलनाथ–वामदेव समूहले माओवादीसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए ।
माधव नेपाललाई राजीनामा दिन लगाएर झलनाथलाई प्रधानमन्त्री बनाउने गरी प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

तर झलनाथ–वामदेवको प्रस्ताव ओली पक्षले ठाडै अस्वीकार गरेका थिए । झलनाथ–वामदेव समूह र ओली समूहबीचको तीव्र मतभेदका कारण त्यतिबेला एमाले झण्डै विभाजन भएको थियो । प्रधानमन्त्रीमा प्रचण्ड, झलनाथ र रामचन्द्र पौडलबीच प्रतिस्पर्धा हुँदा १८ पटकसम्म संसदले प्रधानमन्त्री दिन सकेको थिएन । प्रचण्ड प्रधानमन्त्रीको दौडबाट पछि हट्दै खनाललाई समर्थन गरेपछि उनी प्रधानमन्त्री बन्न सफल भए ।

माओवादीको समर्थनमा प्रधानमन्त्री भएपछि पार्टीभित्र खनाल र ओलीबीच सम्बन्ध निकै चिसिएको थियो । पार्टीभित्र असहयोगका कारण उनले ६ महिनामै पदबाट राजीनामा दिएका थिए । खनालले इलाम–१ बाट २०५६ को बाहेक २०४८, ०५१, ०६४, ०७० र ०७४ को सबै निर्वाचन जितेका छन् । अन्तिमपटक निर्वाचनमा भाग लिएको बताएका खनालले गठबन्धनको सहयोग र एमाले भित्रबाट नै सहानुभूति मत पाएको खण्डमा निर्वाचन जित्ने सम्भावना देखिन्छ । बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए ।