NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जुत्ताचप्पल मेला : जहाँ सस्तादेखि महंगासम्म जुत्ताचप्पल पाइन्छ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सधैँजसो जुत्ताचप्पल मेला लागिरहेको हुन्छ । जुत्ताचप्पल मेला मात्रै नभएर विभिन्न अन्य व्यावसायिक मेलाहरू आयोजना हुने ठाउँ नै भृकुटीमण्डप हो भन्दा फरक नपर्ला ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले भने वर्षमा दुईपटकसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्दै आइरहेको छ । यसपटक पनि एशोसिएशनले जाडो मौसमलाई लक्षित गरेर ‘जुत्ता चप्पल व्यापार प्रवद्धन मेला’ आयोजना गरेको छ । यसभन्दा अघि एशोसिएशनले चाडपर्वलक्षित मेला आयोजना गरेको थियो ।

कार्तिक २४ गतेबाट सुरु भएको मेला पुस २ गतेसम्म सञ्चालन हुने छ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म भइरहेको छ । उक्त मेलामा जुत्ताचप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको एशोसिएशनले जनाएको छ । मेलामा तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल राखिएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने आयोजको भनाई छ ।

मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायतका ब्राण्डहरु प्रदर्शनीमा राखिएका छन् । उक्त मेलामा पाँच सय रूपैयाँको जुत्तादेखि १० हजारको जुत्तासम्म पाइने आयोजकले जनाएको छ । यत्तिबेला देशभर चुनावको माहोल छ । चुनावको १/२ दिनबाहेक अन्य दिन व्यापार बढ्ने जुत्ता बिक्रेताहरुको अपेक्षा छ ।

जाडो मौसमलक्षित जुत्ताचप्पल मेलामा पाइने भएकाले सर्वसाधराणहरुको आकर्षण बढ्दो मात्रमा देखिएको छ । नेपाली जुत्ताहरु गुणस्तरयुक्त, नयाँ-नयाँ डिजाइनका उत्पादन हुन थालेसँगै नेपाली उपभोक्ताले खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।

मेलामा आएका सर्वसाधारणहरु आफूले खोजेको र रोजेको जस्तै जुत्ताचप्पल पाएको बताउँछन् । आफूले चाहेकोजस्तो मूल्य र छुटसमेत पाएको कारण मेलामा आएको सर्वसाधरण सुनाउँछन् । साथै उनीहरु मेलामा अहिले बजारमा चलेका जुत्ताचप्पल पाएकोमा खुशी छन् ।

गुणस्तरमा नेपाली जुत्ताचप्पल विदेशीभन्दा कम नभएको बिक्रेता तथा सर्वसाधारणको भनाइ छ । निम्नस्तरका वर्गले पनि किन्न सक्ने मूल्यमा जुत्ताचप्पल पाउनुका साथै गुणस्तर पनि राम्रो भएकाले नेपालमा उत्पादन भएका जुत्ताचप्पलमा आकर्षण बढ्न थालेको सर्वसाधारणको धारणा छ । मेलामा भेटिएका कोही सर्वसाधरण भने बाटोमा हिड्दैगर्दा मेला लागेको देखेर भित्र छिरेको बताउँछन् । मेलाबारे सर्वसारणको सकारात्मक प्रतिक्रिया पाएको छ ।

मेलामा भेटिएका सानुकाजी श्रेष्ठ अरुबेला पनि भृकुटीमण्डपमा सपिङको लागि आइरहने गरेको बताउँछन् । घुमफिर गर्दै आउँदै आउने क्रममा जुत्तामेला लागेको देखेपछि जुत्ता हेर्नको लागि भित्र प्रवेश गरेको र आफूले खोजेको जस्तै जुत्ता पाएपछि किनेको सुनाए । उनले भने, ‘पहिले पनि म नेपाली जुत्ता नै लगाउथे,पहिलेको हेरेर अहिले जुत्ताको गुणस्तर एकदमै राम्रो छ, नयाँ डिजाइनहरु आएका छन्, मलाई मन प-यो ।’ उनी भन्छन्, ‘बाहिरभन्दा कम मूल्य र छुटमा पाएर लिएर हिँडेँ ।’

त्यस्तै पोखरा बस्दै आएकी र काम विशेषले हाल काठमाडौंमा रहेकी शुशिला शर्मा पनि नेपाली जुत्ताचप्पल अहिले उच्च गुणस्तर र नयाँ नयाँ डिजाइनमा आएकाले नेपाली जुत्ता नै लगाउन मन पराउने सुनाउँछिन् । उनी भन्छिन्, ‘जुत्तामेलामा नेपालमा उत्पादन जुत्ताहरु चित्तबुझ्दो नै पाएँ, किनेर नै जाने सोचमा छु ।’

ठूलाठूला पसलहरुमा दोब्बर मूल्य तिरेर किन्नुभन्दा यस्तो प्रकारको मेलामा राखिएका जुत्ता किन्न उनी सुझाव दिन्छिन् । साथै उनी आफू नेपाली भएर नेपाली जुत्ता नै मन पर्ने सुनाउँछिन् ।

अहिले जाडो मौसम सुरु भएको र बिहे पार्टीको मौसम भएकाले पार्टी सुज र विन्टर सुज ग्राहकको बढी रोजाइमा पर्ने गरेको जुत्ता बिक्रेताहरु बताउँछन् । अहिले नेपालमा धेरै जुत्ता उद्योगहरु हुनुका साथै धेरै डिजाइनका जुत्ताहरु उत्पादन हुने गरेका छन् । जसको कारण अहिले नेपाली जुत्ताप्रति आम सर्वसाधरणको बढी आकर्षण रहको क्रसरोड ब्राण्डका बिक्रेता कमलराज पुरी बताउँछन् । ग्राहकहरुको आकर्षण उत्साहजनक भएको र अहिले स्पोर्ट सुज र पार्टी सुज बढी जाने गरेको उनले सुनाए । उनले भने, ‘नेपाली जुत्ता पनि विदेशीभन्दा कम छैन भन्ने प्रमाणित भइसकेको छ । सस्तोमा राम्रो जुत्ता पाएर ग्राहकहरु खुशी हुन्छन् ।’

त्यस्तै स्टाइल सुज ब्राण्डका म्यानेजिङ डाइरेक्टर कुमार न्यौपानेको पनि धारणा कमलराजको जस्तै छ । अहिले नेपालमा उपभाेक्ताले खाेजे सबै माेडलका जुत्ताचप्पल पाउने भएकाले ग्राहकरूले नेपाली जुत्ता नै राेजाइमा पार्ने बताए । उनले भने, ‘पहिले एकदमै कम नेपाली जुत्ताहरु उत्पादन हुन्थे । मोडल पनि धेरै थिएनन्, जसको कारण नेपालीहरुले विदेशी जुत्ता मन पराउथे, अहिले त्यो अवस्था छैन । अहिले त यत्ति धेरै कम्पनी र मोडलका जुत्ता छन्, जुन देखेर ग्राहकहरु छक्क पर्छन् ।’

नेपाल स्वदेशी जुत्ताचप्पलमा आत्मनिर्भर उन्मुखतिर गएको जुत्ताचप्पल व्यवसायीहरुले बताउँदै आएका छन् । देशलाई जुत्ताचप्पलमा आत्मनिर्भर बनाउनको लागि उद्योगीहरुको एकल प्रयासले मात्रै भने असम्भव छ । त्यसका लागि राज्यले पनि त्यही किसिमको नीति ल्याउनुपर्ने जरुरी देखिन्छ ।

राज्यले उद्यमीहरुलाई उद्योग सञ्चालनमा सहज बनाइदिने र प्रोत्साहनमात्रै गरिदियो भने नेपाल जुत्ताचप्पलमा आत्मनिर्भर हुन सम्भव छ ।स्टाइल सुजका म्यानेजिङ डाइरेक्टर न्यौपाने भन्छन्, ‘हामी उद्यमीले चाहेर मात्रै हुँदैन राज्यको पोलिसी पनि हुनुप-यो । राज्यले उद्यमीहरुलाई सहज बनाइदियो र प्रोत्सान ग-यो भने नेपाल जुत्तामा आत्मनिर्भर हुन सकिने अवस्था छ ।’ उनी राज्यले कच्चापदार्थको भन्सार शुल्क कम गरिदिनुपर्ने, वित्तिय क्षेत्रबाट पनि बैंक ब्याजदर, बैंकबाट सजिलै ऋण उपलब्ध हुने व्यवस्था हुनुपर्ने माग राख्छन् ।

नेपाल जुत्ताचप्पलतर्फ आत्मनिर्भरउन्मुख हुँदै गर्दा उद्योगीहरुलाई चुनौती भने धैरै छन् । अहिले पनि नेपाल जुत्ताचप्पललमा प्रयोग हुने कच्चापदार्थको लागि भारत, चीनजस्ता विदेशी मुलुकमा निर्भर हुनेपर्ने अवस्था छ ।

नेपालमा बेरोजगारी व्याप्त मात्रामा छ । रोजगारीकै लागि लाखौँ युवाहरु ३०/३५ हजार तलबको लागि विदेशी भूमिमा गइरहेको अवस्थामा जुत्ताचप्पल उद्योगमा भने नेपाली कामदार पाउनै मुस्किल छ । उद्योगीहरुका अनुसार अहिले पनि नेपाली जुत्ताचप्पल उद्योगका लागि विदेशबाटै कर्मचारी ल्याउनुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्यको लागि सरकार र उद्योगीहरूबीचको तालमेल मिल्नु जरूरी देखिन्छ ।

भिडियो : अमरदीप श्रेष्ठ/ नेपालवाच