NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चुच्चे नक्साको जिल्लामा ओलीको पराजय : भीम रावल कि गठबन्धन ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १५० सिट जित्ने दाबीसहित नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट चुनावी सभा गरेको थियो । कात्तिक १८ गते दार्चुलाको खलङ्गाबाट तामझामसहित शुरु भएको अभियान पूर्वमा पुगेर टुंगिएको थियो । सभालाई सम्बोधान गर्न अध्यक्ष केपी ओली पहिलोपटक सदरमुकाम खलङ्गा पुगेका थिए । उनले दार्चुलाबाट चुनावी अभियान गर्नुको मुख्य कारण कालापानी क्षेत्रलाई राष्ट्रियतासँग जोड्नु थियो । जुन क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा ओली सरकारले सार्वजनिक गरेका थिए । त्यही चुच्चे नक्सालाई देखाएर एमाले राष्ट्रियताको पक्षमा दृढ रहेकोे सन्देश दिनु ओलीको रणनीति थियो ।

सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए– ‘कालापानी क्षेत्र मेरो सरकारले ल्यायो । निर्वाचनपछि एमाले सरकारले भारतको कब्जामा रहेको भूमि फिर्ता ल्याउँछ । परमादेशी सरकार राष्ट्रियताको पक्षमा छैन । भारतसँग कुरा गर्न यो सरकार लगलग काँपेको छ । गुमेको भूमि फिर्ता ल्याउने आँट यो सरकारसँग छैन ।’

चुच्चे नक्सा देखाएर ओलीले जहाँ चुनावी सभा गरे, त्यहिँ एमाले पराजित

तर मंसिर ४ को चुनावी परिणाम ओलीले सोचेकोभन्दा उल्टो आयो । पछिल्लो चुनावी परिणाम अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेस ५३ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । ३ स्थानमा अग्रता कायमै राखेको छ । एमालेले ४१ सिट जितेर दोस्रो भएको छ । २ स्थानमा अग्रता कायमै राखेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १७ सिट जितेको छ । यसैगरी एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपाले ६ सिट जितेको छ । एक स्थानमा अग्रता कायमै राखेको छ । त्यस्तै लोसपाले ४, नाउपाले ३, राष्ट्रिय जनमोर्चाले १, जनमत पार्टीले १ र अन्यले ६ सिट जितेको छ ।

समानुपातिकतर्फ २३ लाख ४ हजार ४४९ मतसहित एमाले पहिलो दल भएको छ । २२ लाख ७ हजार ५२७ मतसहित कांग्रेस दोस्रो दल भएको छ । तेस्रो स्थानमा रहेको माओवादी ९ लाख ६६ हजार ३०४ मत पाएको छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पाटीले ९ लाख २३ हजार ९६५ मत पाएको छ ।

समानुपातिकतर्फ मतको आधारमा एमाले अगाडि रहेपनि प्रत्यक्षतर्फ ओलीको मिसन–१५० फेल खाएको देखिन्छ ।
२०७२ मा ओलीले राष्ट्रियताको नारा दिएर ओलीले जुन उचाइ हासिल गरेका थिए, योपटक चुच्चे नक्सा भएको सुदूरपश्चिमकै जनताले उनलाई पत्याएनन् । योपटक दार्चुलामा नै एमाले पराजित भयो । त्यो क्षेत्रका बलिया उम्मेदवार रहेका गणेश सिंह ठगुन्नालाई पराजित गरी उद्योगमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू निर्वाचित भए ।

प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा बाजुराबाहेक सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । अघिल्लोपटक ११ सिट जितेको एमालेले योपटक प्रतिनिधिसभा सदस्यमा २ सिटमा खुम्चिएको छ । २०७४ मा सुदूरपश्चिमका १६ मध्ये एक सिट मात्र जितेको कांग्रेसले अहिले सात सिट जितेको छ । तीन सिट जितेको माओवादी केन्द्र योपटक शून्य भएको छ ।

प्रदेशसभाका प्रत्यक्षतर्फ ३० निर्वाचन क्षेत्रमा सार्वजनिक भएको नतिजा अनुसार कांग्रेसले ११ सिट जितेर पहिलो, नेकपा (माओवादी केन्द्र) ८ सिट जितेर दोस्रो भएको छ । नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेर तेस्रो भयो । एमालेले ३ सिट जितेर चौथो दल भएको छ । एकीकृत समाजवादीले २ सिट जितेर पाँचौँ दल भएको छ । अघिल्लो चुनावमा ३२ मध्ये प्रदेश सभातर्फ प्रत्यक्षमा एमालेले १७ सिट जितेको थियो । कांग्रेसले अघिल्लो चुनावमा ४ सिट र माओवादीले १० सिट जितेको थियो ।

सुदूरपश्चिमा एमाले पराजयको कारण रावल होइन, गठबन्धन

सुदूरपश्चिममा योपटक एमालेको सर्मनाक हारको मुख्यकारण पूर्वइन्चार्ज तथा नेता डा. भीम रावलमाथि ओलीको व्यवहारलाई लिएको छ । अघिल्लो निर्वाचनमा अछाम–१ बाट निर्वाचित भएका रावल योपटक पनि प्रतिनिधिसभा सदस्यका आकांक्षी थिए । उनलाई एमाले अछाम जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका थिए । अन्तिममा रावलाई ओलीले टिकट नदिइ पूर्वमाओवादी नेता झपट बोहरालाई टिकट दिए । राष्ट्रिय नेताको छवि बनाएका नेतामाथि ओलीले बदला लिएको भन्दै सुदूरपश्चिमका एमाले नेता तथा कार्यकर्ता उनीसँग चिढिए । चुनावी सभालाई सम्बोधन गर्न दुईपटक सुदूरपश्चिम पुगेका ओलीले रावलाई सँगै लिएर गएनन् । रावलपक्षका कार्यकर्ताले सभामा खोजी गर्दासमेत ओली रावलाई होच्याउने काम गरेको एमालेका सुदूरपश्चिमका पूर्वसंयोजक नेत्र मैनालीले बताए । ‘रावलका पनि केही गल्ति छन् । तर एमालेको संगठन निर्माणमा रावलको भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन । उनी यहाँका ब्राण्ड हुन्’, उनले भने, ‘राष्ट्रिय छवि भएका नेतालाई ओलीले टिकट नदिनु, सभामा सँगै लिएर जान नसक्नु ठूलो गल्ति हो ।’

कार्यक्रममा रावललाई टिकट नदिएको भन्दै कार्यकर्ताहरूले हुटिङ नै गरेका थिए । जवाफमा ओलीले सुदूरपश्चिममा सयौं रावल भएकाले बुढो नेतालाई टिकट दिन आवश्यक नभएको सार्वजनिक टिप्पणी गरे । ओलीका यी अभिव्यक्तिले झनै आक्रोसित भएका मतदाताहरूले एमालेका उम्मेदवारलाई हराएर बदला लिएको मैनालीको बुझाइ छ ।

तर एमाले सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्णबहादुर थापा रावलको कारण एमाले पराजय नभएको दाबी गर्छन् । समानुपातिकतर्फ अहिलेपनि एमाले पहिलो दल रहेको जिकिर गर्दै उनले गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरेको कारण एमालेले अपेक्षाकृत परिणाम प्राप्त नभएको बताए ।

‘यहाँ भीम रावलको कारण एमाले पराजित भएको मिडियाबाजी भएका छन् । रावल फ्याक्टरले सुदूरपश्चिमा एमालेलाई केही फरक पारेको छैन । मेरै क्षेत्र बाजुराको कुरा गर्नुहुन्छ भने सत्ताको चरम दुरुपयोग भएको छ । एमालेका उम्मेदवारलाई छानि–छानि हराउन गठबन्धनले षड्यन्त्र गरेका हुन् । कुनै व्यक्ति विशेषका कारण एमालेले पराजय भोगेको होइन’, उनले भने ।

यस्तो छ सुदूरपश्चिममा एमालेको अवस्था

योपटक मतगणना शुरु भएको १५ निर्वाचन क्षेत्रमध्ये एमाले २ स्थानमा खुम्चिएको छ । अघिल्लोपटक ३ सिट जितेको माओवादी योपटक निल भएको छ । यो प्रदेशमा एमालेसहित कांग्रेस, एकीकृत र नागरिक उन्मिुत्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।
बझाङमा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी २८ हजार १४३ विजयी भए । एमालेका उम्मेदवार ऐन महर २७ हजार १४५ मत पाए । अछाम–१ एकीकृत समाजवादी शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित विजयी भए । एमालेका झपटबहादुर बोहरा १५ हजार ४५ मत पाए । त्यस्तै अछाम–२ मा कांग्रेस पुष्पबहादुर शाह २२ हजार ९५४ ल्याइ विजयी हुँदा एमाले यज्ञबहादुर बोगटी १६ हजार ११४ मतसहित पराजित भए ।

डोटीमा एकीकृत समाजवादीका प्रेम आले २७ हजार २९० सहित विजयी भए । एमालेका गौरी कुमारी वली २३ हजार ४ सहित पराजित भइन् । बाजुरा एमाले कर्णबहादुर थापा उम्मेदवार रहेका छन् । कांग्रेस बद्रीप्रसाद पाण्डे उम्मेदवार रहेका छन् । यहाँ अहिलेसम्म मतगणना हुन सकेको छैन ।

बैतडीमा एमालेका उम्मेदवार दामोदर भण्डारी ३३ हजार ६११ मत ल्याएर विजयी भए । माओवादीको उम्मेदवार नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत पाए । यसैगरी डडेलधुरामा कांग्रेस उम्मेदवार शेरबहादुर देउवा २५ हजार ५३४ मतसहित विजयी भए । स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ ल्याइ पराजित भए । त्यस्तै कञ्चनपुर–१ मा एमाले उम्मेदवार तारा लामा तामाङ २४ हजार ८९२ मतसहित विजयी भए । माओवादी केन्द्रका उम्मेदवार बीना मगर १९ हजार ३४६ ल्याएर पराजित भइन । उनी प्रचण्डका बुहारीसमेत हुन् । अघिल्लोपटक उनी यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

यसैगरी कञ्चनपुर–२ मा कांग्रेसका उम्मेदवार एपी साउद २८ हजार १०० मतसहित विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नरबहादुर धामी २१ हजार ६४५ कञ्चनपुर–३ मा कांग्रेसका उम्मेदवार रमेश लेखक ३० हजार ५२३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् । यहाँ सिफारिस भएका दीपकप्रकाश भट्टको नाम प्रदेश कमिटीमै नपुगी गाएभ भएको थियो । ओलीले आफ्नो विश्वास पात्र पाललाई टिकट दिएका थिए ।

कैलाली–१ नेपाल उन्मुत्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भइन । उनका प्रतिस्पर्धी कांग्रेसको उम्मेदवार रामजनम चौधरीले १८ हजार ८ मत पाए । कैलाली–२ मा नेपाल उन्मिुत्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी १९ हजार १५ सहित विजयी भए । एमाले झपटबहादुर रावलले १३ हजार ९७९ मत पाए । कैलाली–३ मा नेउपाका उम्मेदवार गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए ।

त्यस्तै कैलाली–४ मा कांग्रेस वीरबहादुर बलायर २६ हजार १७१ सहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका लेखराज भट्टले २२ हजार ५८७ मत पाए । कैलाली–५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त २१ हजार ३९२ मतसहित विजयी भए । एमालेका नारदमुनी रानाले २० हजार ३१८ मत पाए । दार्चुला–१ कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले २८ हजार ५१५ सहित विजयी भए । एमाले गणेश सिंह ठगुन्नाले २६ हजार ३८१ मत पाए ।