NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेसमा समानुपातिक छनोट : तीन पुरुष सिटमा कसले मार्लान् बाजी ?

काठमाडौं । समानुपातिकतर्फका नाम निर्वाचन आयोगमा बुझाउने अन्तिम दिनसम्म पनि कांग्रेसलाई नाम छनोट गर्न सकस देखिएको छ । समानुपातिकमा पाएका ३२ मध्ये २९ सिट महिलाका लागि छुट्याउनुपर्ने भएपछि बाँकी तीन पुरुषतर्फका नाममा सहमति जुटाउन नेतृत्वलाई समस्या देखिएको हो ।

महिला प्रतिनिधित्वमा समानुपातिकको बन्दसूचीअनुसार नाम छनोट गर्न समस्या छैन । तर, संसद्मा लैजानुपर्ने सूचीमा रहेका अधिकांश पुरुषमध्येबाट तीनजनाको नाम छनोट गर्नुपर्नेछ । समावेशी समानुपातिक ६ वटा क्लस्टरमध्ये पुरुषतर्फ खस–आर्यमा प्रकाशशरण महत, आदिवासीमा गोपालमान श्रेष्ठ, मधेसीमा विमलेन्द्र निधि, दलितमा जीवन परियार, मुस्लिममा फर्मुल्लाह मन्सुर र थारूतर्फ योगेन्द्र चौधरीको नाम एक नम्बरमा छ । उनीहरूमध्ये परियार र मन्सुर सहमहामन्त्री हुन् भने महत, निधि र श्रेष्ठ पूर्वपदाधिकारी हुन् ।

दलित र मुस्लिम क्लस्टरतर्फबाट प्रत्यक्षमा पुरुषको प्रतिनिधित्व शून्य भएकाले समानुपातिकबाट दलित र मुस्लिम पठाउन पार्टीभित्र दबाब छ । तर, स्रोतका अनुसार सभापति देउवाको प्राथमिकतामा महत, श्रेष्ठ र निधि छन् । यसबाहेक सहमहामन्त्री मन्सुर पदाधिकारी तहमा रहेका देउवाका विश्वासपात्रमध्येका एक हुन् ।

अर्कोतर्फ पुरुषको प्रतिनिधित्व गराउँदा पार्टीभित्रको इतर समूहलाई पनि समेट्नुपर्ने दबाब देउवालाई छ । जसमा दलित क्लस्टरतर्फ सहमहामन्त्री परियारको नाम छ । प्रत्यक्षतर्फ एकजना पनि दलित उम्मेदवारले टिकट पाएका थिएनन् । गठबन्धन गर्दा कांग्रेसले संघमा ९१ सिट र प्रदेशमा एक सय ८६ सिट पाउँदा एक सिट पनि दलित समुदायले नपाएपछि कांग्रेसमा चर्को आलोचना भएको थियो । जसकारण पनि सहमहामन्त्री परियारलाई समेट्नुपर्ने दबाब छ । मुस्लिमतर्फ भने मोहम्मद फिरदोस आलमले रौतहट २ बाट टिकट पाएका थिए । तर, उनी पराजित हुँदा कांग्रेसले प्रत्यक्षबाट मुस्लिमतर्फको प्रतिनिधित्व गराउन सकेन । परियारलाई पन्छाएमा कांग्रेसमा थप असन्तुष्टि बढ्ने नेताहरूकोभनाई छ । ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही संविधान र निर्वाचन प्रणालीको मर्मअनुसार पनि तीनमध्ये एकजना दलित पुरुषको प्रतिनिधित्व हुनुपर्ने जिकिर गर्छन् । उनी प्रत्यक्षतर्फ दलितलाई टिकट नदिइएको अवस्था रहेकाले समानुपातिकमा पनि पुरुषको प्रतिनिधित्व शून्य हुन नहुने बताउँछन् ।

‘दलित समुदायलाई प्रत्यक्षतर्फ एउटै पनि टिकट दिइएन । समानुपातिकबाट दलित महिला मात्रलाई समावेश गरेर हुँदैन । यसो गर्नु संविधानको भावनाविपरीत हुन्छ । संविधानले महिला र दलितलाई प्राथमिकता भनेको छ । २९ सिट महिलाले पाउने भएपछि तीन सिटमध्ये एकमा दलित पुरुषको प्रतिनिधित्व अनिवार्य हुनुपर्छ,’ रसाइलीले भने ।

कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका पूर्वसचेतक मीन विश्वकर्मा समानुपातिकबाट प्रतिनिधित्व गराउँदा दलित महिला मात्र संसद्मा देखिने अवस्था आएको बताउँछन् । ‘नियमतः महिला या पुरुष जे भए पनि दलित समुदायबाट पाँचजना महिला मात्रको संसद्मा उपस्थिति रहने देखिन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

अर्का केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले प्रतिनिधित्व गराउँदा प्रत्यक्षबाट शून्य प्रतिनिधित्व भएका दलित र मुस्लिम क्लस्टरतर्फ पनि पुरुषलाई समावेश गराइनुपर्ने बताए । यसलाई नेतृत्वले समयमै उपयुक्त निर्णय गरेर जानुपर्ने उनको भनाइ छ ।

‘पार्टीलाई साँच्चै समावेशी बनाउने हो भने प्रत्यक्षबाट शून्य प्रतिनिधित्व भएको दलित र मुस्लिम क्लस्टरतर्फ पनि पुरुषलाई समावेश गराइनुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसलाई नेतृत्व र कार्यसम्पादन समिति बैठकले मनन गर्नुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।