NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नयाँ संसदमा कांग्रेसका ८९ सांसद : को कुन पक्षका ?

काठमाडौं । समानुपातिकतर्फबाट छानिने सांसदको टुंगो लागेसँगै कांग्रेसमा संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ । पार्टीभित्र प्रधानमन्त्रीका आकांक्षीले दलको नेताको तयारीलाई तीव्र पारेका छन् । ६ नेताले आकांक्षा राखे पनि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले तयारी तीव्र पारेका छन् ।

कांग्रेसबाट निर्वाचित सांसद हेर्दा सभापति देउवा सहज बहुमतमा देखिन्छन् । तर, महामन्त्री थापाले देउवालाई चुनौती दिने घोषणा गरिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइराला र गगन समूहकै नेता शेखर कोइराला पनि दलको नेतामा आकांक्षी छन् । शेखर र गगनमध्ये एकजना मात्रै उम्मेदवार बन्ने यो समूहको भनाइ छ ।

पौडेल, प्रकाशमान र शशांक संख्यात्मक हिसाबले पनि कमजोर छन् । प्रकाशमान र शशांक पछिल्लो समय दलको नेताबारे मौन छन् । पौडेलले भने पार्टीभित्र र बाहिर नेताहरूसँग छलफल गरिरहेका छन् । अन्तिममा उनीहरू तीनैजनाले सभापति देउवालाई सघाउने कांग्रेस नेताहरूको दाबी छ ।

शनिबार समानुपातिकबाट आउने ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउँदा २२ नाम संस्थापननिकटका परेका छन् । यससँगै संसदीय दलमा देउवा थप बलियो बनेका छन् । आयोगमा बुझाइएको सूचीमा शेखर–गगन समूहका १० जनाको नाम समेटिएको छ । प्रत्यक्षतर्फ निर्वाचित ५७ मध्ये संस्थापनका ३३ र इतर समूहका २४ सांसद छन् । प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षधर ५५ सांसद छन् । त्यस्तै, प्रत्यक्ष र समानुपातिक गरी शेखर–गगन समूहका ३४ सांसद हुनेछन् ।

इतर समूहका नेता शेखर कोइरालाले आफ्नो दाबी अझै औपचारिक रूपमा राखेका छैनन् । यद्यपि, उनी र गगनमध्ये एकजना मात्रै अगाडि सर्ने गरी छलफल भइरहेको इतर समूहका सांसद सञ्जय गौतमले बताए । आफूहरूले दुई नेतालाई समझदारीमा ल्याउने प्रयास गरिरहेको उनको भनाइ छ । ‘हामी पनि दुईमध्ये एकजनालाई सहमतिमा ल्याएर अगाडि सार्न प्रयास गरिरहेका छौँ । महामन्त्री गगन थापाले तयारी गरिरहनुभएको छ । डा. शेखर कोइरालाले मुख खोलिसक्नुभएको छैन । उहाँले हामीलाई नेतृत्व गरिरहनुभएको छ । उहाँ यसमा गम्भीर हुनुहुन्छ,’ गौतमले भने, ‘सहमतिमा एकजनालाई संसदीय दलको नेतामा अगाडि सार्छौँ ।’

संस्थापन पक्षका सांसद

प्रत्यक्ष (३३) : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्का

समानुपातिक (२२) : शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा, डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र अञ्जनी श्रेष्ठ

इतर पक्षका सांसद
प्रत्यक्ष (२४) : डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे

समानुपातिक (१०) : सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।