NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

टिकट वितरणको सूची हेरेर देउवा ढुक्क, चामत्कारिक नतिजा निकाल्ने गगनको विश्वास

काठमाडौं ।गत ४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेसको संसदीय दलको निर्वाचनका लागि बुधबार मतदान हुँदै छ । संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार छन् ।

देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । थापा पहिलोपटक दलको नेताका लागि निर्वाचन लड्दै छन् । निर्वाचन समिति संयोजक सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।

कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले सबैभन्दा ठूलो पार्टीको संसदीय दलको निर्वाचन उसको आन्तरिक जीवनका लागि मात्र नभई भावी सरकार गठनसहित समग्र राष्ट्रिय राजनीतिक कोर्सकै लागि महत्वपूर्ण छ । कांग्रेस दलको नेता निर्वाचित हुनु भावी प्रधानमन्त्रीको सबैभन्दा बलियो दाबेदार हुनु हो ।

कांग्रेस सभापति देउवाले दलको नेताको निर्वाचनपछि शक्ति बाँडफाँडको विषयमा छलफल गर्ने बताएका कारण सत्तागठबन्धनमा रहेका दलहरूले पनि यसलाई चासोपूर्वक पर्खेका छन् । कुनै एक दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार सरकार गठनका लागि १० मंसिरसम्म दाबी पेस गर्न राष्ट्रपति विद्यादेखि भण्डारीले आह्वान गरिसकेकी छिन् ।

इतर समूहका नेता डा. शेखर कोइरालाले थापालाई दलको नेताको उम्मेदवार बन्न समर्थन गरेर कांग्रेसको परम्परागत राजनीतिलाई नयाँ र रणनीतिक कोर्समा प्रवेश गराएका छन् । विश्लेषकहरूका अनुसार यसले आसन्न महाधिवेशन र निर्वाचनमै कांग्रेसको अंकगणित र सत्तासमीकरण बदलिन सक्छ । देउवा अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा छन् भने शेखर–गगन गठबन्धनप्रति अनुदार देखिँदै आएका छन् ।

दलको नेतामा निर्वाचित हुन देउवा र थापा दुवैले आफ्नो समूहको भोट सुरक्षित गर्ने र अर्को समूहको भोट तान्ने रणनीति अपनाएका छन् । मंंगलबार उम्मेदवारी टुंगो लागेसँगै आफ्नो पक्षमा मत ल्याउन दुवै नेता आफैँ र समूह परिचालनमा लागेका हुन् । दुवै समूहले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । निर्वाचन समितिले सोमबार ८९ सांसदको नाम अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको छ ।

हाल कांग्रेसको संसदीय दलमा ८९ सांसद रहेकाले बहुमतका लागि ४५ मत चाहिन्छ । विधानमा ५० प्रतिशत मत पाएपछि मात्रै दलको नेता चयन हुने व्यवस्था छ । अंकगणितअनुसार संस्थापन पक्षसँग सुविधाजनक बहुमत देखिन्छ । तर, दुवै पक्ष एक–अर्को समूहमा रहेका सांसदको समर्थन जुटाउने र मत बढाउने रणनीतिमा केन्द्रित छन् । ८९ मतदातामा संस्थापनमा ५४ र इतर समूहमा ३५ सांसद देखिन्छन् ।

महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलसमेतको समर्थनमा थापा दलको नेताको उम्मेदवार बनेपछि सभापति देउवामाथि चुुनौती थपिएको छ । देउवालाई पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताको समर्थन छ ।

सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का समर्थक बनेका छन् । महामन्त्री थापालाई नेता डा. शेखरको प्रस्ताव छ भने समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री शर्मा र युवा नेता पौडेल छन् । १४औँ महाधिवेशनदेखि निर्वाचनसम्म संस्थापन समूहमा रहेका युवा नेताले दलको निर्वाचनमा समीकरण फेरेपछि कांग्रेसभित्रको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

कांग्रेस दलको नेता चयनलगत्तै नयाँ सरकार गठन र शक्ति बाँडफाँडको राजनीतिक अध्याय पनि सुरु हुनेछ । अहिलेको राष्ट्रिय राजनीति र कांग्रेसको आन्तरिक जीवनमा समन्वयकारी भूमिका खेल्न सक्ने भएकाले दलको नेता देउवा बन्नुपर्ने संस्थापन पक्षको तर्क छ । कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको समय आएकाले थापा दलको नेता बन्नुपर्ने इतर समूहको भनाइ छ ।

सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेसमा विश्वासको वातावरण बनाउन देउवाको नेतृत्व आवश्यक रहेको बताए । ‘अहिलेको असहज परिस्थितिमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण निर्माण गर्न पनि आवश्यक छ । जसकारण मैले पार्टी सभापतिलाई समर्थन गरेको हुँ,’ पौडेलले भने । सभापति देउवाको समर्थक बनेका उपसभापति पूर्णबहादुर खड्का तत्कालीन अवस्थामा देउवाको क्षमता र अनुभव अहिलेको आवश्यकता रहेको बताउँछन् । पार्टीमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको पछिको विषय भएको उनको जिकिर छ । ‘संघ र प्रदेशमा सरकार निर्माण गरेर र प्रतिपक्षी दल एमालेसमेतलाई जोडेर लैजान सक्ने क्षमता र अनुभव सभापति देउवासँग छ । सबै कारणले सभापतिज्यू संसदीय दलको नेतामा उपयुक्त हुनुहुन्छ । उहाँको क्षमता र अनुभवको उपयोग गरेर मुलुकलाई अगाडि लिएर जानुपर्छ,’ उपसभापति खड्काको भनाइ छ, ‘त्यसपछि आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वाभाविक रूपमा अगाडि बढ्दै जान्छन् । अहिलेको आवश्यकता उहाँ नै हुनुहुन्छ ।’

देउवानिकट डा. प्रकाशशरण महतले राजनीतिक नेतृत्व आवश्यकताको सिद्धान्तमा चल्ने र अहिले अरू पार्टी र पार्टीभित्र पनि जोड्नका लागि देउवाको नेतृत्व आवश्यक रहेको दाबी गरे ।

सोमबार रातिसम्म इतर समूहबाट नेता कोइराला र महामन्त्री थापा दुवै दलको नेताको उम्मेदवारका आकांक्षी थिए । तर, मंगलबार उम्मेदवारी मनोनयनको समयसम्म आइपुग्दा इतर समूहमा सहमति जुट्यो र अझै बलियो रूपमा प्रस्तुत भयो । नेता कोइरालाले पार्टीमा स्थायित्व र निरन्तरता हेरेर महामन्त्री थापालाई आफ्नो समूहबाट अगाडि सारेको बताए । अहिलेको एकताले भविष्यमा सकारात्मक परिणाम निकाल्ने उनले दाबी गरे । ‘हामीहरूबीच धेरै छलफल भयो र स्थायित्व एवं निरन्तरतालाई ध्यानमा राखेर गगनजीलाई अघि सार्ने निर्णयमा पुगेका हौँ । १५औँ महाधिवेशनका लागि त अझै तीन वर्ष बाँकी छ । हामीबीचको समझदारी त्यसवेलै देखिँदै जान्छ,’ कोइरालाले भने ।

महामन्त्री थापाले पनि स्थायित्व र निरन्तरताका लागि आफ्नो उम्मेदवारी रहेको बताए । कांग्रेस र आमअपेक्षालाई पूरा गर्न आफू अगाडि आएको थापाको भनाइ छ । ‘यो वेला मत हाल्ने सांसदले हो । तर, सांसदले आफ्नो निर्वाचन क्षेत्रको आममतदाताको प्रतिनिधित्व गर्नुपर्छ,’ थापाले भने, ‘उहाँहरूले कांग्रेस र आमअपेक्षालाई हेरेर विवेकपूर्ण मतदान गर्नुहुनेछ ।’

उनले कोइरालाले परिवर्तनको सन्देश मनन गरेको र यसले इतर समूहलाई अझै सशक्त रूपमा अगाडि लैजाने बताए । ‘हामीलाई स्थायित्व, निरन्तरता र परिवर्तन चाहिएको छ । स्थायित्व र निरन्तरताको रूपमा उहाँले आफूलाई उभ्याउनुभएको छ । यसलाई जसले मनन गर्छ, जसले ठाउँ दिन्छ ऊ नै हाम्रो नेता हो । आज डा. शेखर कोइरालाले त्यसलाई मनन गर्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘हामी कांग्रेसभित्र निरन्तरताको स्थायित्वका लागि सँगै बसेर काम गर्छौँ र पार्टीलाई पनि रूपान्तरण गर्छौँ । देशलाई पनि परिवर्तनको बाटोमा लैजान्छौँ ।’

महामन्त्री विश्वप्रकाश शर्माले पनि कोइरालाले गरेको निर्णयले राजनीतिमा रूपान्तरणको सन्देश दिएको बताए । ‘आजको परिघटना बदलिएको समय र बदलिएको सोचबमोजिम कांग्रेसलाई आन्तरिक रूपान्तरणको दिशामा लैजाने खुड्किलोको रूपमा महसुस गरेको छु । यसमा महत्वपूर्ण भूमिका डा. शेखर कोइरालाले निभाउनुभएको छ,’ शर्माको भनाइ थियो, ‘उहाँले जुन प्रस्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ । गगनलाई संसदीय दलको नेता बनाउन उहाँले गरेको निर्णयले राजनीतिमा रूपान्तरणको सन्देश दिएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।