NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गठबन्धन विघटनको डिलमा

काठमाडौं । नयाँ सरकारमा प्रधानमन्त्री को ? कांग्रेस सभापति शेरबहादुर देउवा कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ? सहमति बनाउन नसक्दा सत्ता गठबन्धन विघटनको डिलमा पुगेको छ ।

शनिबार बालुवाटारमा भएको बैठकमा पनि देउवा र दाहाल आ–आफ्नो अडानबाट पछि हटेनन् । अपराह्न ४ बजे बैठक बोलाइए पनि त्यसअघि नै एकअर्कालाई दबाबमा राख्न दुवै पक्षबाट सन्देश र संकेत आदानप्रदान भइरहे । दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन भनेर कांग्रेस सांसदहरूलाई सूचना गरिएको थियो । सांसद चन्दा चौधरीले सांसदहरूलाई फोन गरी बालुवाटार आउन निम्तो दिएकी थिइन् ।

प्रधानमन्त्री देउवा कार्यक्रममा उपस्थिति मात्र जनाएर सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीमा सहभागी हुन बाडेगाउँ गएका थिए । ‘प्रधानमन्त्री आफैंले भन्दा पनि आरजु (राणा) म्याडमले बोलाउनुभएको रहेछ । त्यसैले धेरै सांसद जम्मा हुनुभएन,’ एक सहभागीले भने, ‘आरजु म्याडमले सरकारको नेतृत्व कांग्रेसले छाड्न हुन्न, ३२ सिट ल्याएको माओवादीलाई कसरी प्रधानमन्त्री दिन सकिन्छ भनेर तपाईंहरू पनि बोल्नुपर्‍यो भन्ने निर्देशन दिनुभयो ।’

अपराह्न ४ बजेको गठबन्धन बैठकमा दाहाल पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर गएका थिए । आफ्नोतर्फबाट उदार हुन नसक्ने मुद्दामा उनी गुरुङजस्तै नेताहरूलाई अघि सार्ने गर्छन् ।

पार्टीभित्रको दबाबका कारण पनि आफूले यसपालि सरकारको नेतृत्व छाड्न नसक्ने दाहालको दाबी थियो । उता देउवाले पनि पार्टी पंक्तिलाई नै देखाएर पहिलो पालो आफूलाई दिन आग्रह दोहोर्‍याएका थिए । ‘ठूलो दलले सरकारको नेतृत्व छाड्न हुन्न भन्ने पार्टीभित्र दबाब छ । छाड्दा पार्टीमा समस्या हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘प्रचण्डजीको बोली पनि त्यस्तै थियो । आफूहरूको सहयोगमा डेढ वर्ष कांग्रेसले सरकार चलाइसकेको अवस्थामा यस पटक माओवादीले नेतृत्व नपाए गठबन्धनमा बस्न पार्टीभित्र समस्या हुन्छ भन्ने उहाँको भनाइ थियो ।’

पाण्डेका अनुसार समझदारीका लागि कोसिस भइरहे पनि प्रस्ट संकेत देखिएको छैन । ‘विवाद भनेको देउवा र दाहालबीच को पहिला प्रधानमन्त्री हुने भन्ने मात्रै हो,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसको अडान यथावत् छ, कांग्रेसले राष्ट्रपति लिनैपर्ने हो भने प्रधानमन्त्री छाड्नुपर्छ । दुवै मुख्य पद एउटै पार्टीले लिएर कसरी गठबन्धन कायम हुन्छ ?’

नेताहरू टसमस नभएपछि आइतबार बिहान १० बजे बैठक बोलाइएको छ । गठबन्धनको प्रधानमन्त्रीमा दाबी लिएर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको सीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ । दुवै नेताका अडान हेर्दा तत्काल सहमति हुने सम्भावना निकै कम छ ।

बालुवाटार स्रोतका अनुसार कांग्रेस सभापति देउवाले पहिलोपल्ट सरकारको नेतृत्व लिन दुईवटा विकल्प अघि सारेका छन् । पहिलो विकल्पमा देउवा, दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल तीनै जनाले आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेस र माओवादीले दुई/दुई वर्ष नेतृत्व लिएर चार वर्षपछि चुनावी सरकारको नेतृत्व नेपाललाई दिने उनको प्रस्ताव छ । राष्ट्रपति र सरकारको नेतृत्व दुवै कांग्रेसले पाउने आसमा देउवाले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

महासचिव बेदुराम भुसालले पनि एकीकृत समाजवादीले सरकारमा नेतृत्व गर्ने विषयमा नेताहरू सकारात्मक रहेको बताए । ‘सरकारको नेतृत्व कांग्रेस र माओवादीले दुई–दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष आलोपालो गर्ने सहमतिजस्तै भएको छ,’ भुसालले भने, ‘तर अगाडि कसले नेतृत्व गर्ने भन्ने अझै टुंगिएको छैन । आइतबार यो विषयमा थप छलफल हुन्छ ।’

माओवादीलाई मनाउन देउवाले दुई विकल्प अघि सारेका छन् । नेपाललाई राष्ट्रपति दिने र माओवादीलाई सभामुख दिने प्रस्ताव उनको छ । उनका एक सहयोगी नेता भन्छन्, ‘माओवादी र एकीकृत समाजवादी एकीकरणमा जाने प्रबल सम्भावना रहेकाले यो प्रस्ताव स्विकार्दा उनीहरूलाई फाइदा हुन्छ भन्ने हाम्रा सभापतिको भनाइ छ । तर, दाहाल आकर्षित हुनुहुन्न । अझ राष्ट्रपति छाड्न हुन्न भनेर कांग्रेसभित्रै बलियो अडान छ ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नै देउवाको अडानबाट सन्तुष्ट छैनन् । उनले देउवासँग भनेको संवाद उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पाउने सम्भावना छैन । अहिले माओवादी वा समाजवादीलाई राष्ट्रपति दिएर अढाई वर्षपछि प्रधानमन्त्री दिने र त्यसपछि अढाई वर्ष कांग्रेस पूर्णतः शक्तिबाहिर बस्नु आत्मघाती हुन्छ । त्यसैले अहिले राष्ट्रपति लिने र पछि प्रधानमन्त्री पनि लिने विषय ठीक हो ।’

राष्ट्रपति छाड्नै हुन्न भन्ने आवाज कांग्रेसमा प्रबल देखिन्छ । नेताहरू पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्काले यो विषयमा देउवासँग भनाइ राखिसकेका छन् । पहिलो पालोमै प्रधानमन्त्रीमा दाबी गरिरहँदा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रदेशमा सरकारको नेतृत्व सबै गुमाउनुपर्ने हो कि भनेर कांग्रेस नेताहरू चिन्तित छन् ।

नेता पौडेलले त शनिबार खुमलटार पुगेर माओवादी अध्यक्ष दाहालसँग संवाद गरेका थिए । पौडेलका एक सहयोगीका अनुसार दाहालले आफूलाई देउवाबाट धोका हुन लागेको भन्दै गुनासो गरेका थिए । उनले भने, ‘चुनाव सम्पन्न भएपछि पुस २ को भेटमा देउवाले पहिलो चरणमै सरकारको नेतृत्व दिने भनेर आश्वस्त पार्नुभएको रहेछ । त्यसमा धोका हुन लागेको छ, तपाईंले गएर कुरा गरिदिनोस् भनेर प्रचण्डले पौडेलदाइसँग भन्नुभएछ ।’

दाहालले ‘तपाईं राष्ट्रपति र म प्रधानमन्त्री बन्दा’ शान्ति प्रक्रिया र गठबन्धनको मर्मअनुसार काम हुन्छ भनेर पनि सम्झाउन खोजेका थिए । पौडेलले गठबन्धनको विकल्प नसोच्न आग्रह गर्दै देउवासँग समझदारी गरेर अघि बढ्न आग्रह गरेको बताए । ‘को पहिलो, को पछि भन्ने कुरा तपाईंहरू बसेर मिलाउनुहोस्, तर गठबन्धन भत्काउने कुरा नहोस् भनेको छु,’ पौडेलले कान्तिपुरसँग भने ।

गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायतका नेताले प्रधानमन्त्री देउवालाई भेटेर पहिलो कार्यकाल दाहाललाई छाडेर भए पनि गठबन्धन बचाउन सुझाव दिएका छन् । ‘अहिले प्रचण्डजी छाड्ने स्थितिमा देखिनुहुन्न । यता नभए एमालेसँग जाने सम्भावना छ । उहाँलाई रोक्न भए पनि तपाईंले त्याग गर्नुस् र गठबन्धन बचाउनुस् भनेर प्रधानमन्त्रीलाई सुझाव दिएका छौं,’ एक नेताले भने ।

माओवादी उपमहासचिव वर्षमान पुनले शनिबार दिउँसो प्रधानमन्त्री देउवालाई भेटेका थिए । अहिले स्थिति हेर्दा कांग्रेस लचिलो हुनुपर्ने धारणा राखेको उनले बताए । ‘हिजो एमाले–माओवादी मिल्दा हामीले ३६ सिट जितेका थियौं । अहिले पाँच पार्टी मिल्दा पनि हामी १८ सिटमा सीमित भयौं । जनताले मन नपराएको जस्तो भयो गठबन्धन । त्यसभन्दा पनि हिजो २३ सिटको कांग्रेसलाई हामी ५७ सिट पुर्‍यायौं,’ पुनले भने, ‘यो गठबन्धनबाट घाटा भयो भनेर हाम्रा नेता–कार्यकर्ताले भनिराखेका छन् । त्यसकारणले अहिले कांग्रेसले लचकता देखाउनुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई स्पष्ट भनेको छु ।’

जवाफमा देउवाले ठूलो दलको हैसियतमा कांग्रेसले नै नेतृत्व पाउनुपर्ने दबाब पार्टीभित्रैबाट आएको बताएका थिए । ‘पहिलो अवधि हामी लिने हो । दोस्रो तपार्इंहरू लिनुस् । यसमा मिलेर जाऔं भन्ने कुरा प्रधानमन्त्रीले गर्नुभयो,’ पुनले कान्तिपुरसँग भने । पुनले आइतबार राष्ट्रपतिले दिएको समयसीमा सकिने हुँदा त्यसपछि ठूलो दलको हैसियतमा कांग्रेसबाट नै प्रधानमन्त्री हुने र माओवादी गठबन्धनबाट बाहिरिने जानकारी दिएका थिए । ‘संविधानमा त ३० दिनको समय छ । तर, राष्ट्रपतिले आइतबारसम्मलाई मात्रै समय दिएको हिसाबले हेर्दा ठूलो दलका तर्फबाट तपाईं शपथग्रहण गर्न जानुहुन्छ । त्यसपछि ३० दिनमा विश्वासको मत लिनुपर्छ । त्यसमा हामी छुट्छौं । गठबन्धन रहँदैन । त्यसकारण अब संयमित रहने अवस्था छैन । अझै सोच्नुस्,’ पुनले देउवालाई भनेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।