NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दोधारमा घनश्याम भुसाल : साना वामपन्थी घटकसँग मिलेर पार्टी खोल्ने कि नेकपा एस प्रवेश गर्ने ?

काठमाडौं । निर्वाचनको मुखमा एमाले परित्याग गरेर दलबिहिन भएका घनश्याम भुसाल पछिल्लो समय राजनीतिक भेटघाटमा निकै सक्रिय रहेका छन् । झण्डै तीन दशक वामपन्थी राजनीतिमा सक्रिय रहेका भुसाल मार्क्सवादी चिन्तक र सैद्धान्कि नेताका रुपमा चिनिन्छन् ।

एमाले अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भएको भन्दै उनले असोज २२ गते पार्टी परित्यागको घोषणा गरेका थिए । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार रहेका भुसाललाई टिकट नदिइ ओलीले राप्रपाका उम्मेदवार दीपक बोहरालाई समर्थन गरेका थिए ।

निर्वाचनमा पराजय र पार्टीबिहिन भएपछि उनी साना वामपन्थी घटकसँग मिलेर नयाँ पार्टी खोल्ने वा एकीकृत समाजवादी प्रवेश गर्ने भन्नेमा दोधारमा रहेका छन् । यसै शिलशिलामा शीर्ष नेताहरूसँग छलफल जारी रहेपनि अहिलेसम्म उनी कुनै निष्कर्ष पुग्न सकेका छैनन् । ओलीको कदमबाट रुष्ट भएका भुसालले पार्टी परित्याग गरी सत्ता गठबन्धनको सहयोगमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग तीन हजार ५८२ मतले पराजित भए ।

निर्वाचनमा पराजय भोगेपछि भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव डा. बेदुराम भुसाललगायत शीर्ष नेतासँग भेटवार्ता गरिसकेका छन् । रुपन्देहीबाट काठमाडौं फर्किए लगत्तै भुसाल आफ्ना पूर्वनेता माधव नेपाललाई भेट्न मंसिर १८ गते नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटको क्रममा संक्षिप्त चुनावी समीक्षा र वामपन्थी एकताबारे छलफल भएको प्रचार विभाग सदस्य विश्वमणि सुवेदीले जानकारी दिए ।

‘उहाँ अध्यक्ष ज्यूलाई बधाई दिन आउनुभएको थियो । भेटका क्रममा समग्र चुनावी हारजित र वामपन्थी एकताबारे संक्षिप्त कुराकानी भयो’, उनले भने, ‘अध्यक्षज्यूले पार्टीबिहिन भएर नबस्न पार्टीमा आउन उहाँलाई सुझाव दिनुभयो । अध्यक्षको प्रस्तावप्रति आफू सकारात्मक भएको जवाफ दिएका छन् ।’

अध्यक्ष नेपाललाई भेट गरेपश्चात् उनी एकहप्ता अगाडि नेकपा एसका शीर्ष नेताहरूलाई भेट्न पार्टी कार्यालय कोटेश्वर पुगेका थिए । उनलाई अध्यक्ष नेपाल, नेता खनाल र महासचिव भुसाल लगायत शीर्ष नेताहरूले पार्टीमा आउन उनालाई आग्रह गरेको उनका स्वकीय सचिव गौतम राईले जानकारी दिए ।

‘पूर्वनेताको हिसाबले एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेटवार्ता हुनु स्वभाविक हो । उहाँहरूले पार्टीमा आउन आग्रह गर्नुभएको छ । तर उहाँ अहिले नै पार्टी प्रवेशबारे कुनै निर्णयमा पुग्नुभएको छैन’, राईले भने, ‘दाईको जोड भनेको वृत्तह वामपन्थी एकतामै हो । त्यसकैलागि कम्युनिष्ट पार्टीको नेताहरूसँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।’

आइतबार साँस्कृतिक कार्यक्रमका लागि पोखरा जान लागेका भुसालले नेकपा बहुमत समूहका शीर्ष नेताहरूसँग भेटघाटमा व्यस्त छन् । स्रोतका अनुसार उक्त समूहका संयोजक धर्मेन्द्र बास्तोलाले पार्टी एकताका लागि प्रस्ताव गरेका छन् । नयाँ संश्लेषणका आधारमा एउटै कम्युनिस्ट पार्टी बनाएर जान बास्तोलाले भुसालसँग प्रस्ताव गरेका थिए । यसप्रति उनी सकारात्मक भएपनि नयाँ पार्टी बनाएर जाने वा विभाजित कम्युनिस्ट पार्टीबीच वृहत्त वापन्थी एकता गर्नेबारे निष्कर्षमा पुगिसकेका छैनन् ।

‘विभिन्न कोणबाट प्रस्ताव आएका छन् । उहाँको जोड साना कम्युनिस्ट पार्टी बनाउनु भन्दापनि वृहत्त वामपन्थी एकताका लागि भइरहेको छ’, उनी निकट एक नेताले भने, ‘एमालेमा हुँदा उहाँ फुर्सदिला थिए । पार्टी छोडेपछि राजनीतिक सक्रियता ह्वात्तै बढेको छ । कुनै पार्टीमा जाने वा नयाँ दल खोल्ने भन्नेमा गम्भीर छलफल जारी छ । पार्टीबिहिन भएर बस्ने कुरा त आउँदैन । यसबारे केही समयमा निर्णय हुनेछ ।’

एकीकृत समाजवादीका शीर्ष नेतासँग भुसालको पछिल्लो हिमचिमलाई लिएर उनी पार्टी प्रवेश गर्न लागेको रुपमा अर्थाइएको छ । एमालेमा लामो समय नेपाल निकट रहेका भुसाल पार्टी विभाजनको विपक्षमा उभिएका थिए । शीर्ष नेतासँग भुसालको हिमचिमलाई लिएर एकीकृत समाजवादीका नेताहरूसमेत सकारात्मक छन् ।

‘निर्वाचन सकिएपछि हाम्रा शीर्ष नेतासँग उहाँले दुईपटक भेट गरिसक्नुभएको छ । एकपटक निर्वाचित नेताहरूलाई बधाई दिने शिलशिलामा उहाँ पार्टी कार्यालय आउनुभएको थियो । भेटको क्रममा पार्टीमा आउन हामीले प्रस्ताव गरेका छौं’, नेकपा एसका एक नेताले भने, ‘यस विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ । निर्वाचनअघि कम्युनिस्ट पार्टीबीच जुन किसिमको चिक्तता थियो । निर्वाचन परिणामले त्यो तिक्तता केही हदसम्म मेटिइसकेको छ । अबको ध्यान वृत्तह वामपन्थी एकताका लागि हुनुपर्छ भन्नेमा हामी सकारात्मक छौं ।’

यसैगरी माओवादीको भागमा परेको रुपनन्देही–१ भुसाललाई छाडेर राजनीतिक सदासयता देखाएका अध्यक्ष प्रचण्डले माओवादीमा आउन भुसाललाई आग्रह गरेका छन् । माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन प्रचण्डले आग्रह गरेका थिए । प्रचण्डको प्रस्तावलाई धन्यवाद दिँदै उनले स्वतन्त्रबाट निर्वाचनमा भाग लिए । माओवादीमा जानेबारे भुसाल सकारात्मक नरहेको उनका सचिवालयले जनाएको छ ।