NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रवि लामिछाने : राजनीतिमा छलाङ, तर प्रश्नै प्रश्नको घेरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बन्न सफल भएका छन् । गतअसारमा सञ्चारकर्म छाडेर राजनीतिमा हामफालेका लामिछाने ६ महिनामै गृहजस्तो शक्तिशाली र संवेदनशील मन्त्री हात पार्न सफल भए । लामो समय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जानतासँग’ प्रस्तोता रहेका उनी विदेशीएका नागरिकका पीडा र दुःखका विषय उठान गरेर चर्चामा आएका थिए ।

असार ७ गते आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजनबाट राजीनामा दिएर नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका थिए । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा परम्परागत राजनीतिक दललाई धक्का दिँदै आश्चर्यजनक नतिजा निकाल्न सफल भए ।
उनी चितवन–२ बाट एमालेका शक्तिशाली उम्मेदवार कृष्णभक्त पोखरेललाई अत्याधिक मतसहित पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनको पार्टीले प्रत्यक्षमा ७ सिट र समानुपातिकमा १३ सिट जितेको थियो । संसदमा चौंथो दल बन्न सफल भयो । शुरुमा काठमाडौं वा चितवन–३ बाट चुनाव लड्ने तयारी गरेका लामिछाने प्रचण्ड गोरखा–२ गएपछि उनी चितवन–२ बाट चुनावमा उठेका थिए । चितवन–३ का राप्रपाका उम्मेदवार रहेका विक्रम पाण्डेसँग साँठगाँग गरेको उनीमाथि आरोप छ ।

गठबन्धनको फाइदा उठाउँदै सोमबार उपप्रधानसहित गृहमन्त्रीको पद तथा गोपनियताको सपथ लिए । स्थानीय तहमा काठमाडौं, धरान लगायत शहरमा स्वतन्त्र उम्मेदवारले उत्साहजनक मत पाएर विजयी भएकोमा उत्साही भएका लामिछाने मौकामा चौका हान्न सफल भएका छन् । राजकाजसम्बन्धी केही ज्ञान नभएका लामिछानेले देशकै संवेदनशील शक्तिशाली मन्त्री पाएसँगै उनको क्षमता र कार्यकुशलताको परिक्षण शुरु भएको छ । गृहमन्त्रीमा आफ्नो अडान नछोड्नुमा रविको नियतमाथि विभिन्न आशंका उब्जिएको छ । चर्चासँगै पछिल्लो समय एकपछि अर्को झमेलामा फसेका मन्त्री लामिछानेमाथि नैतिकता र कानुनी प्रश्न उठ्न थालेको छ ।

यस्तो छ उनको विगत

डिल्लीबजारस्थित विजय स्मारकबाट २०४९ सालमा एसएलसी पास भएका मन्त्री लामिछाने २०३२ भदौ २८ मा काभ्रेको मण्डनदेउपुरमा जन्मेका हुन् । त्यसअघि काठमाडौंको भोटेबहालस्थित अरनिको बोर्डिङ स्कुलमा केही वर्ष पढेका उनी  भृकुटी माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । लामिछानेले काठमाडौं महांकालमा बाल्यकाल विताए । पाँच दाजुभाइ र दिदीबहिनीमध्ये उनी कान्छा हुन् ।

उनका दाई हरिशरण लामिछाने रेडियो नेपालमा कार्यरत भएकाले उनी पनि रेडियोमा आकर्षित भएको उनी बताउँछन् । । एसएलसीपछि रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गरे । आइए पढ्दा–पढ्दै २०५० उनले काठमाडौंकै इशा श्रेष्ठसँग लगन गाँठो कसे । त्यतिबेला अध्ययनसँगै उनी रेडियोमा बोल्ने, टेलिभिजन कार्यक्रमहरूमा उद्घोषण गर्नेजस्ता काम गर्न थालिसकेका थिए ।

केही समय उनले इमेज एफएममा प्रस्तोता रहेको उनी स्वीकार्छन् । त्यहाँ कार्यरत रहँदा पत्रपत्रिकाका समाचार पढ्नेदेखि समसामयिक विषयमा श्रोतासँग कुराकानी गर्ने गरेको पत्रकार जगदिश खरेलसँगको कुराकानी बताएका छन् । त्यतिबेला स्रोतामाझ आफू लोकप्रिया भएको उनको दाबी छ ।

सन् २००२ मा उनले अमेरिका लागि भिजिट भिसा पाएपछि उनले नेपाल छाडे । भिजिट भिसामा अमेरिका पुगेपछि उनी नेपाल फर्किएन उतै बसे । अमेरिकामा उनी न्यूयोर्क हुँदै बाल्टिमोरमा कलाकार प्रेमराजा महतसँग बस्न थाले । अमेरिका बसाइकै क्रममा उनले सन् २००८ मा रविले अमेरिकाको ग्रिनकार्ड पाए ।

‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयमा गिनिज बुकमा नाम लेखाउन उदेश्यले उनी २०६९ मा नेपाल फर्किए । उनको मनसायलाई सहजिकरण न्यूज २४ का अध्यक्ष अनिल जोशीले गरिदिए । चैत २९ गते रविले न्यूज २४ मा कार्यक्रम सुरू गरे । २०७० वैशाख १ गते उनले ६२ घन्टा १२ मिनेटसम्म लगातार कार्यक्रम चलाएको रेकर्ड बनाए । उनले सन् २०११ मा युक्रेनका दुई जना टेलिभिजन प्रस्तोताले लगातार ५२ घन्टा ’टक सो’ ब्रेक गरेका थिए ।

उनको रेकर्ड नेपाल लगायत अन्तर्राष्ट्रिय मिडियालेसमेत कभर गरेपछि उनी निकै चर्चित भए । उनको सार्वजनिक जीवनमा ख्याति कमाउँदै गर्दा उनको निजी जीवन संकटमा धकेल्लिदै गयो ।

उनले पारिवारिक सम्बन्ध सुधारका लागि २००८ मा श्रीमतीसँगै दुई छोरीलाई अमेरिका लगेपनि सम्बन्धमा कुनै सुधार आएन । पहिलो श्रीमतीसँगको सम्बन्धलाई पारपाचुके गरेर उनी नेपाल फर्किए । २०७२ मा केपी ओली प्रधानमन्त्री भएपछि नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीसँग सिधा कुरा चलाए । २०७३ मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री भएका प्रचण्डले उनलाई पन्छाए । त्यसपछि रवि पुनः न्यूज २४ टेलिभिजनमा प्रस्तोताको काम गर्न थाले । त्यसबेला उनी सिधा कुरा जनतासँग कार्यक्रम चलाएका थिए । खारगरी खाडी मुलुकमा दुःख पाएका नेपालीहरूको विषय उठान र राजनीतिक वेथितिमाथि खरो रुपमा उत्रिएपछि उनी निकै चिर्चित भए । त्यहि कार्यक्रमबाट उनले नाम कमाउनुको साथसाथै एकपछि अर्को झमेलामा फस्दै गए ।

२०७५ मा उनीविरूद्ध अमेरिकी पासपोर्ट नत्यागी नेपालमा अवैधानिक रुपमा बसोबास गरेको उजुरी प्रेस काउन्सिलमा पर्यो । उजुरीपछि २०७५ जेठ ४ मा आफ्नो पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको उनले सार्वजनिक रूपमै बताए ।
त्यहिवर्ष उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी अमेरिका सबै सम्पत्ति श्रीमती र छोरीको नाममा गरिदिए । पारिवारिक झमेलाबाट मुक्त भएका रवि २०७६ मा टेलिभिजनमा कार्यरत पूर्वसहकर्मी शालिकराम पुडासैनी हत्या आरोपमा पत्राउ परे । यद्यपी उनीमाथि लागेको मुद्दा अदालतले खारेज गरिदियो ।

२०७७ सालमा रविले न्यूज २४ छाडे । आफ्नै लगानीमा उनले २०७८ मा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरे । नयाँ टेलिभिजन सञ्चालनमा आएसँगै आफू अहिले नै राजनीतिमा नहाम्फाल्ने प्रतिक्रिया दिएका थिए । तर टेलिभिजन खोलेको ९ महिनामै उनले नयाँ पार्टी खोलेर राजनीतिमा आए ।

देशमा भएको भ्रष्टाचार र वेथितिको अन्त्य गर्न राजनीतिमा आएको दाबी गरेका उनीमाथि नै सशासन र कानुन उल्लङ्घन गरेको आरोप लाग्दै आएको छ । रविमाथि नेपालको कानुन मिचेर राजनीति दल दर्ता गरेको, अमेरिकी नागरिकता नत्यागेको, पुरानै नागरिकताबाट निर्वाचनमा भाग लिएको लगायत आरोप लगाउँदै उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

उनको विषयमा प्रहरीले छानविन जारी राखेको अवस्थामा उनी गृहमन्त्रीमा नियुक्त भएपछि यतिबेला विभिन्न आशंका उब्जिएको छ । रवि गृहमन्त्री भएसँगै उनीविरुद्ध परेको मुद्दा प्रभावित हुन सक्ने आशंका गरिएको छ । उपप्रधानसहित गृहमन्त्री बनाउन शर्त राखेर प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका उनको नियतमाथि राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ ।