NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माधव नेपालको पार्टीले देला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत ?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने ? सरकारमा सहभागी हुने वा नहुने ? अहिलेकै अवस्थामा पार्टीलाई चलाउने कि एमाले वा अरू कोही कम्युनिस्ट–समाजवादी शक्तिसँग एकता गरेर जाने ? एकीकृत समाजवादीका सामुन्ने अहिलेका यक्षप्रश्न हुन् । तर, अचानक बदिलिएको राजनीतिक शक्ति सन्तुलन र समीकरणपछि कुन दिशामा पार्टी अगाडि बढाउने भन्नेमा अध्यक्ष माधव नेपाल अलमलमा छन् ।

गत ४ मंसिरको निर्वाचनमा अपेक्षाकृत परिणाम हात नपर्दा राष्ट्रिय दलको मान्यतासमेत पाउन नसकेपछि नैतिक र राजनीतिक दबाबको सामना गरिरहेका अध्यक्ष नेपाल त्यतिवेला थप तनावमा आए जब उनलाई जानकारीसमेत नदिई तत्कालीन पाँचदलीय गठबन्धनमा रहेका प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बने । अचानक भूमिका साँघुरिएपछि नेपाल अलमलमा छन्, सरकार गठनको एक सातासम्म समर्थन गर्ने–नगर्नेबारे निर्णय लिएका छैनन्, पार्टीको आगामी कदमबारे पनि निर्णयविहीन अवस्थामा छन् ।

एमालेसँग विद्रोह, त्यसपछिको सत्ता–राजनीति, स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनसम्म प्रचण्डसँग सहकार्य गरेका नेपाल एमाले–माओवादी सत्तागठबन्धन बनेपछि किनारामा छन् । अब के गर्ने ? आफैँ निर्णय लिन नसकेका नेपाल पार्टी नेताहरूस“ग परामर्शमा छन् । शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकमा कुनै मुद्दामा नेताहरूबीच एकरूपता देखिएको छैन, थप छलफलका लागि सोमबार पोलिटब्युरो बैठक बोलाइएको छ ।

एक नेताका अनुसार सरकारलाई विश्वासको मत दिने–नदिने निर्णय सचिवालय गर्न सक्छ । प्रधानमन्त्रीबाट ठोस प्रस्ताव आए सरकारलाई समर्थन गरेर जान सकिने मनसाय नेतृत्वको छ । पार्टीलाई कसरी अगाडि बढाउने भन्नेमा अध्यक्ष माधवकुमार नेपालले विभिन्न तहका नेताहरूसँग परामर्श लिइरहेका छन् । दुई दिनसम्म स्थायी कमिटीमा नेताहरूले आ–आफ्नो विचार राखेका छन् । तैपनि नेपाल ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।

राष्ट्रिय पार्टी बन्न नसकेको अवस्थामा एकीकृत समाजवादी चल्न सक्दैन भन्ने एकथरी नेता तथा कार्यकर्ता छन् । उनीहरू एमालेमा फर्किने वा माओवादीसँग मिसिनुपर्छ भन्ने मान्यता राख्छन् । अधिकांश नेता तथा कार्यकर्ता नयाँ ढंगले अघि बढेर पार्टीलाई सशक्त बनाउनुपर्छ भन्ने पक्षमा छन् । तल्लो तह र प्रवासमा रहेका नेता तथा कार्यकर्ता विगतको समीक्षा गर्दै पार्टीलाई व्यापक रूपले पुनर्गठित गरेर अघि बढाउनुपर्छ भन्नेमा छन् । स्थायी कमिटी र अर्चुअल बैठकमार्फत सुझाव पेस गर्ने क्रममा पार्टीमा लाइन स्पष्ट देखिन्छ । त्यसैले स्थायी कमिटी बैठकले ठोस निर्णय लिन सकेन । यसले आफ्नो ढंगले धारणा बनाउने छुट दिएको छ ।

‘हामीले गलत चिन्तनको दृढतापूर्वक खण्डन गर्नुपर्छ । अहिले हाम्रो पार्टीको व्यापक पंक्ति नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने पक्षमा छ । देश र प्रवासमा रहेका पार्टी कार्यकर्ताको पंक्ति हामीले विगतको समीक्षा गर्दै पार्टीलाई व्यापक रूपले पुनर्गठित गरेर अघि बढाउनुपर्छ भन्ने पक्षमा छ । यो चिन्तन हाम्रो पार्टी पंक्तिमा रहेको मुख्य प्रवृत्ति हो,’ सम्मानित नेता खनाल भन्छन्, ‘वर्तमान अवस्थामा समाजवादको स्पष्ट लक्ष्य लिएर अघि बढ्ने हाम्रो पार्टी नै हो । यो पार्टीलाई वैचारिक र संगठनात्मक दुवै हिसाबले पुनर्गठित गर्दै नयाँ आँट, हिम्मत र ठोस योजनाका साथ अघि बढ्नुको विकल्प छैन ।’

राष्ट्रिय पार्टी बन्न नसकेको कारण खोजेर कमजोरी नदोहोरिने गरी संकल्प गर्नुपर्ने भन्दै त्यसका लागि विशेष बैठक आयोजना गर्नुपर्ने खनालको मत छ । अविलम्ब राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गर्नुपर्ने माग पनि उठेको छ ।‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा स्थायी कमिटीका नेताहरूले धारणा राख्नुभयो । पार्टी पुनर्गठन महाअभियानमा लाग्नुपर्ने सुझाव नेताहरूको छ,’ उपमहासचिव एवं केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष