NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

रेमिट्यान्स : चार महिनामा सवा दुई अर्ब बाहिरियो, चार खर्ब भित्रियो

नेपालमा काम गर्न आएका विभिन्न मुलुकका नागरिकहरूले पाँच वर्षमा झन्डै ३२ अर्ब रेमिट्यान्स उनीहरूको देशमा पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक ०७४/७५ देखि गत आव ०७८/७९ को अवधिसम्ममा ३१ अर्ब ८७ करोड १० लाख रुपैयाँ नेपालबाट बिदेसिएको हो । विश्वका विभिन्न मुलुकबाट नेपाल आउने आप्रवासी कामदारमार्फत औपचारिक रूपमा उक्त रकम बाहिरिएको हो । तर, नेपालमा सबैभन्दा बढी भित्रिने भारतका कामदारले अनौपचारिक रूपमा पठाउने रकम भने यसमा समावेश गरिएको छैन ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा विदेशी लगानीमा सञ्चालित आयोजनाहरूमा विदेशी कामदार नियुक्त गर्न पाउने व्यवस्था छ । स्ट्यान्डर्ड चार्टर्ड, डाबर नेपाल, ठूला जलविद्युत् आयोजना, ठूला गैरसरकारी संस्थामा विदेशी नियुक्त भएका विदेशी कामदारमार्फत औपचारिक रूपमा उक्त रकम बाहिरिएको हो ।

सो तथ्यांक भने विभागबाट श्रम स्वीकृति लिएर नेपालमा कार्यरत आप्रवासी कामदारले औपचारिक माध्यमबाट पठाएको रकम हो । योबाहेक नेपालमा श्रम स्वीकृति नलिईकन काम गर्ने कामदारले अनौपचारिक माध्यमबाट पनि ठूलो रकम मुलुकबाहिर पठाउने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘हामीसँग औपचारिक माध्यमबाट बाहिरिएको रकमको मात्रै तथ्यांक हुन्छ । अनौपचारिक रूपमा नेपालमा काम गर्ने कामदारको संख्या अझै धेरै छ, जुन हाम्रो तथ्यांकमा हुँदैन,’ उनले भने ।

अमेरिकाको पिउ रिसर्च सेन्टरले सन् २०१७ मा विश्वमा रेमिट्यान्स आप्रवाहबारे एक अध्ययन गरेको थियो । सो अध्ययनले भारतबाट करिब एक अर्ब अमेरिकी डलर (अहिलेको मूल्यअनुसार एक खर्ब ३२ अर्ब रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिने देखाएको थियो । त्यस्तै, नेपालबाट भने तीन अर्ब अमेरिकी डलर (अहिलेको मूल्य करिब तीन खर्ब ९६ अर्ब रुपैयाँ) रेमिट्यान्स भारत जाने प्रतिवेदनमा उल्लेख थियो । अर्थात्, भारतबाट नेपाल भित्रिने रेमिट्यान्सभन्दा बाहिरिने रेमिट्यान्स तेब्बर बढी भएको पिउको प्रतिवेदनले देखाएको थियो ।

विभागमा अनुसार नेपालमा भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट धेरै कामदार आउँछन् । यी कामदार नेपालको खुला सिमाना हुँदै भित्रिने भएकाले श्रम स्वीकृति नलिने गरेको उनले बताए । तसर्थ, यस्ता कामदारको सरकारसँग कुनै पनि तथ्यांक छैन ।

चार महिनामा सवा दुई अर्ब बाहिरियो, चार खर्ब भित्रियो

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो चार महिनाको अवधिमा रेमिट्यान्सबापत नेपालबाट दुई अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको सोही अवधिमा भने दुई अर्ब सात करोेड रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, आव ०७७/७८ को सोही अवधिमा एक अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्सबापत मुलुकबाट बाहिरिएको थियो ।

त्यस्तै, चालू आवको पहिलो चार महिनाको अवधिमा तीन खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा तीन खर्ब १४ अर्ब रुपैयाँ भित्रिएको थियो भने अघिल्लो आवको सोही अवधिमा तीन खर्ब ३७ अर्ब रुपैयाँ भित्रिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपाल भित्रिने आप्रवासी कामदार दक्ष र व्यावसायिक हुन्छन् । जसका कारण उनीहरूको पारिश्रमिक पनि उच्च हुन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगार विभागबाट हालसम्म ४७ लाख नेपाली कामदारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तर, नेपालबाट बिदेसिने नेपाली कामदारमध्ये अदक्ष रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै, गत आव ०७८/७९ मा मात्रै सात अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको थियो । आव ०७७/७८ मा ६ अर्ब एक करोड रुपैयाँ विप्रेषणबापत बाहिरिएको थियो । आव ०७६/७७ मा पाँच अर्ब ४३ करोड बाहिरिएको थियो । आव ०७५/७६ मा ६ अर्ब ९३ करोड र आव ०७४/७५ मा पाँच अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो ।