NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रतिनिधिसभाको पहिलो बैठक : शीर्ष नेताहरूको घोचपेच, कसले के भने ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनपछि सोमबार संघीय संसदको पहिलो बैठक बस्यो ।

यसपटकको बैठकमा नवप्रवेशी दल राष्ट्रिय स्वतन्त्र पार्टीदेखि कुनैसमय मधेशमा पृथकतावादी आन्दोलन चलाएका सीके उर्फ चन्द्रकान्त राउतसम्मको प्रतिनिधित्व रह्यो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी १५ वर्षपछि राष्ट्रिय दलको मान्यता पाएको छ । एमालेबाट अलग भएका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन सकेन ।

राप्रपा १५ वर्षपछि राष्ट्रिय दलको मान्यतामामात्रै फर्किएको छैन, जेष्ठताको हैसियतले पूर्वअध्यक्षसमेत रहेका पशुपतिशमशेर जबराले बैठक सञ्चालनसमेत गरेका छन् । सँगै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले पनि संसदमा पहिलोपटक सम्बोधन गर्ने अवसर पाए ।

टेलिभिजन प्रस्तोताका रूपमा राजनीतिक नेतृत्वको चर्को आलोचना गर्दै आएका रवि र कुनै समय राष्ट्र विखण्डनको मुद्दा लिएर हिँडेका सिके राउतले संसदमा आफ्नो पहिलो सम्बोधनमा के बोल्छन् भन्नेबारे धेरैको चासो थियो ।

सोमबारको बैठकमा अघिल्लोपटक संसद विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि आफूलाई गणतन्त्रको जननी मान्ने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरे । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विगतमा संसदको नाम लिनसमेत निषेध गरेका राउतको आगमनले पहिलो संसद बैठकलाई थप रोचक बनायो ।

राजनीतिमा होमिएको ६ महिनामै उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाउन सफल भएका लामिछानेले आफू र आफूसम्बद्ध दलका सांसदबाट कुनै अनियमितता नगर्ने प्रतिवद्धता जनाए ।

टेलिभिजनमार्फत राजनीतिक दलका गतिविधिबारे कठोर आलोचना गर्दै आएका लामिछानेले आफूसम्बद्ध दल कुनै काण्डमा नमुछिने र अनियमितता भएको खण्डमा निर्मम सजाय दिन पनि पछि नहट्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै, विगतमा संसदीय व्यवस्थाका विरोधी रहेका जनमत पार्टीका अध्यक्ष राउतले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सांसदको रूपमा आफ्नो उदय सम्भव भएको बताए । आज रोष्टममा उभिएर सम्बोधन गर्दा आफूलाई नयाँ अनुभूति भएको बताउँदै उनले जनताको अभिमतप्रति कृतज्ञता व्यक्त गरे ।

यसैगरी उनले आफ्नो दलमा भएको आवेगलाई सकारात्मक परिवर्तनकालागि प्रयोग गरिने बताए । मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको पनि उनले बताएका छन् । योसँगै संघीयतालाई थप बलियो बनाउनमा पनि आफूले सहयोग गर्ने उनको भनाइ छ ।
अर्कोतर्फ आफू नेतृत्वको पार्टी निर्वाचनमा तेस्रो स्थानमा परे पनि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले आफूलाई समस्या केलाएर बस्ने छुट नभएको बताएका छन् ।

अहिलेको संसदमा उत्साह र आवेग दुवै देखिएको पनि उनको टिप्पणी छ । यी सबैबीच आफूहरू जनताको निन्तर निगरानीमा रहेकाले समास्याको समाधानको सूत्र खोज्न लाग्ने उनले बताए ।

उनले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताए ।

‘हामीले सुशासन दिन सक्छौं कि सम्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं,’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’

नयाँ आएका दललाई उनले संसदको पुँजीको रूपमा लिएका छन् । संसदमा नयाँ दलको प्रसतिनिधित्व हुनुलाई उनले लोकतन्त्र र नागरिकको जितको रूपमा अथ्र्याए ।

आफ्नो हातैमा आएको सत्ता गुमाएका नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि आफूले रचनात्मक भूमिका खेल्ने बताए । योसँगै जनताको मुद्दासँग जोडिइरहने पनि उनको भनाई छ ।

‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक व्यवस्थाको सवलिकरणका लागि विशेष योगदान गर्न सकोस्,’ उनले भने, ‘हामी सबै त्यसमा संलग्न हुन सकौं ।’

पहिलो बैठकमा उनले राज्यका सम्पूर्ण निकाय संविधान, कानुन र नैतिक आचरणमा चल्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू मुलुकका लागि अस्थिरताको कारक नबन्ने बताएका छन् । यसपटकको सरकारमा गणतन्त्रका पक्षधर र यसका विरोधी दुवैको साझा समर्थन रहेकाले आम जनमानसमा यो सरकारमा राप्रपा अस्थिरताको कारक बन्न सक्ने अड्कलबाजी काटिएकोे छ । उनले आफूहरू कसैलाई निषेध गरेर अघि बढ्ने पक्षमा नभएको र देशलाई शिरमा राखेर समस्याको सामूहिक सम्बोधन गर्ने बताए ।

‘हामीले कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । हामीभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन,’ उनले भने, ‘त्यसैले देशलाई शिरमा राखेर देशका समस्याहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्छ । राप्रपा देशमा अस्थिरताको कारक बन्ने छैन ।’

यसअघि आफ्नै नेतृत्वमा दुई तिहाइको सरकारसँगै दुईपटक संसद विघटन पारेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो सम्बोधनमा विघटनकै बचाउ गरे । बेलायतको उदाहरण पेश गर्दै संसद विघटन गर्नु प्रतिगमन नभएको उनले जिकिर गरेका छन् ।

‘अघिल्लोपटक संसद विघटन गर्नु प्रतिगमन हो भनेर विभिन्न हुइँया चलाइयो । त्यसो हो भने बेलायतमा धेरैपटक प्रतिगमन भएछन्,’ उनले भने, ‘प्रजातन्त्रको जननी भनिने बेलायतमा अस्तिसम्म पनि संसद विघटन भएको थियो । संसद विघटन गर्नु प्रतिगमन होइन । विभिन्न हतकण्डा अपनाएर सरकार ढाल्नु प्रतिगमन हो ।’

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतको संसद विघटनलाई इंकित गर्दै प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्ने कुरालाई मनन गर्न आग्रह गरे ।

उनले प्रधानमन्त्री प्रचण्डलाई जनताले परिवर्तनको अनुभूति गर्न पाउनेगरी काम गर्न सुझाएका छन् । ‘परिवर्तनको अनुभू िजनाले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा समाञ्स्य आओस् ।’