NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा दुई मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिएका हुन् । प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल कांग्रेससहित १० दलले विश्वासको मत दिएका हुन् । गणतन्त्र स्थापनापछि विपक्षी दलकोसमेत विश्वासको मत पाउन प्रचण्ड पहिलो प्रधानमन्त्री भएका छन् ।

उनको पक्षमा २६८ मत परेको छ । विपक्षमा दुई मत परेको छ । २७५ सदस्य प्रतिनिधिसभामा बहुमतको लागि १३८ जान सांसदको समर्थन आवश्यक पथ्र्यो । मतदान प्रक्रियामा २७० सांसदमात्रै उपस्थित थिए भने पाँचजना अनुपस्थित रहे ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा भएको मत विभाजन प्रक्रियामा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जपा, नाउपा र स्वतन्त्र सांसदले प्रचण्डको पक्षमा मतदान गरेका थिए । यसैगरी उनको विपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एस र लोसपालेसमेत मतदान गरेपछि उनी भारी मतले विजयी भएका हुन् ।

प्रधानमन्त्री नियुक्ती प्रक्रियामा समर्थन नगरको एकीकृत समाजवादीलेसमेत उनलाई विश्वासको मत दिएका छन् । मंगलबार बिहान बसेको नेकपा एकको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका थिए ।

संसदमा सबैभन्दा ठूलो दल कांग्रेसभित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने विषयमा विवाद भएपछि कार्यसम्पादन समितिको बैठकबाट उनको पक्षमा निर्णय गरेका थियो । उनमो विषक्षमा नेपाल मजदुर पार्टी र राष्ट्रिय जनामोर्चाले भोट हालेका थिए ।

तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरी भाग लिएका प्रचण्ड निर्वाचनपछि सत्ता सहयात्री दल कांग्रेसलाई जिल्याउँदै ओलीको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए ।

संविधानको धारा ७६ को उपधार २ बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले तीन दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिमा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

समकालीन राजनीतिका चतुर खेलाडी ओली–प्रचण्डको पुनर्मिलनले संसदको सबैभन्दा ठूलो दल प्रतिपक्षमा पुगेको छ । संघदेखि प्रदेशसम्म सत्ता गुमाएको एमालेको हातमा सरकारको चाबी आएको छ । तत्कालीन सत्ता समीकरणबाट प्रधानमन्त्री को बन्ने भन्ने विषयमा कुरा नमिल्दा देउवाको साथ छोडेर प्रचण्ड ओलीसँग मिल्न गएका हुन् ।

को हुन् प्रचण्ड ?

२०५२ सालदेखि १० वर्ष लामो सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड २०६२ मा भएको १२ बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका थिए । त्यही १२ बुँदे सहमतिको जगमा २०६२/०६३ मा दोस्रो जनआन्दोलन भएको थियो । सोही आन्दोलनका कारण २४० वर्ष लामो नेपालको राजतन्त्र अन्त्य भएको थियो ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा २३८ सिटसहति माओवादी पहिलो दल बन्न सफल भयो । संघीय गणतन्त्र नेपालका उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए । वि.सं २०११ साल मंसिर २६ मा कास्कीको ढिकुर पोखरीमा जन्मिएका प्रचण्ड हाइस्कुल अध्ययनदेखि नै राजनीतिमा सक्रिय थिए । छिमेकी धनबहादुर विश्वकर्माको प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा अकर्षित भएका उनी कम्युनिष्ट नेता रुपलाल विश्कर्माको सम्पर्कमा आएका थिए ।

०२८ मा पुष्पलाल समूहबाट राजनीति जीवन प्रारम्भ गरेका प्रचण्डले ०३५ मा नेकपाको सदस्यता लिएका थिए । सोही बेलादेखि नै उनले भूमिगत राजनीति सुरु गरेका थिए । ०३९ मा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि उनी सिंहतिर लागेका थिए । मसालको महामन्त्री रहेका सिंह र मोहन वैद्यबीचमा फाटो आएपछि वैद्यसँग नजिकिएका प्रचण्ड ०४५ चैत १९ मा सेक्टर काण्डबाट नेतृत्वमा उदाएका थिए ।

सेक्टर काण्डबाट महामन्त्रीमा उदाएका उनी त्यसयता ३२ वर्षसम्म निरन्तर अध्यक्षको भूमिकामा रहेका छन् । वैद्य नेतृत्वको मशाल (मोटो मशाल) ले ०४५ चैत १९ मा काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोत्यो । केही प्रहरी चौकीमा आक्रमण पनि ग–यो । ०४४ मा तत्कालीन पञ्चायती सरकारले गर्न लागेको चुनावलाई असफल बनाउन ०४५ चैत १९ मा घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले चिनिन्छ ।

राजनीतिक वृत्तका जानाकारहरूले सेक्टर काण्डलाई कमजोर तयारीमा चालिएको अपरिपक्क कदम भएको टिप्पणी गरेका छन् । जसमा जिम्मेवार ठहराउँदै पार्टीले दर्जनौं कार्यकतालाई कारबाही ग–यो भने नेताहरूलाई आत्मालोचना गराएर छाड्यो । यतिलेमात्र घटना सामसुम हुन सकेन ।

राज्यपक्षले जिल्लास्तरका कार्यकर्ताहरूलाई धरपकट गर्ने र यातना दिनेक्रम बढ्दै गयो । नेताहरू पहिल्यै भूमिगत भएकाले सरकारी कारबाहीबाट बच्न सफल भए । तर, यस घटनाले पार्टीभित्र गम्भीर विवाद उत्पन्न भयो । नेताहरूलाई किन कारवाही नगर्ने भन्नेबारे पार्टीमा विवाद उत्कर्षमा चल्यो ।

अन्ततः ०४६ कात्तिकमा चितवनमा भएको केन्द्रीय कमिटी बैठकले सेक्टर काण्डलाई एक भुलको रुपमा लियो । महामन्त्री वैद्यकै प्रस्तावअनुसार त्यसमा संलग्न नेताहरूको एक–एक पद घटुवा गर्ने निर्णय ग–यो । बैठकको निर्णयबमोजिम वैद्य महामन्त्रीबाट पोलिटब्युरो सदस्यमा झरे भने पोलिटब्युरो सदस्यहरू केन्द्रीय सदस्य र केन्द्रीय सदस्य क्षेत्रीय सदस्यमा घटुवा भए । सेक्टर काण्डमा नफसेका नेता प्रचण्ड महामन्त्री भए । त्यतिबेला उनी ३५ वर्षका मात्र थिए ।

मशालको कमाण्ड आफ्नो हातमा आएपछि प्रचण्ड ०४६ को जनआन्दोलनपछि विभिन्न चार वामघटक मिलेर बनेको नेकपा (एकता केन्द्र) को महामन्त्रीसमेत बनेका थिए । वैद्यकै भनाइअनुसार निकै चतुर र तिक्ष्ण बुद्धी भएका प्रचण्डले एकपछि अर्को गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पकड बनाउँदै लगे । ०५१ सालमा एकता केन्द्र विभाजन भएपछि प्रचण्डले माओवादी समूह बनाएका थिए ।

माओवादी सशस्त्र युद्ध थाल्नुअघि प्रचण्डलाई देव गुरुङले मनाङस्थित घरबाट एउटा राइफल दिए । यस्तै लेखराज भट्टले दिएका पेस्तोल र केही थान जिलेटिन लिएर उनी गोरखा पुगे । त्यहाँ गएर हतियार चलाउन सिकाएका प्रचण्डले ०५२ साल फागुन १ गते देशभर युद्धको घोषणा गरे । ०५७ मा भएको नेकपा (माओवादी)को राष्ट्रिय सम्मेलबाट एकल अध्यक्ष भएका प्रचण्ड ०५८ मा जनमुक्ति सेनका सर्वोच्च कमाण्डर बने । प्रचण्डको नेतृत्वमा १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन भयो ।

०६२ मंसिर ५ मा तत्कालीन सात दल र माओवादीबीच भारतको दिल्लीमा भएको १२ बुँदे सहमतिपछि उनी खुला राजनीतिमा आए । ०६९ मा हेटौंडा महाधिवेशनमार्फत पार्टीभित्र शक्ति सन्तुलन मिलाउन प्रचण्ड आफ्नै नेतृत्वमा बहुपदीय प्रणालीमा गएका थिए । त्यसपछि तत्कालीन एकीकृत माओवादीले लिएको कार्यदिशा मन नपरेपछि वैद्य पार्टीबाट अलग भए । त्यसयता, पार्टी विभिन्न आरोह–अवरोहपूर्ण अवस्थामा गुज्रिरहेको छ ।

०७५ जेठ ३ मा नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षात्मक प्रणालीमा प्रचण्ड दोस्रो अध्यक्ष भएका थिए । तर, तीन वर्ष नबित्दै सर्वोच्च अदालतले नेकपा बदर गरिदिएपछि माओवादी केन्द्र ब्यूँतियो । त्यसपछि पुनः सो पार्टीको अध्यक्ष प्रचण्ड नै भए ।

गतवर्ष पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै पुनः पाँच वर्षका लागि अध्यक्षमा सर्वसम्मत बनाउने निर्णय गर्यो । यसरी प्रचण्डले झण्डै चार दशकसम्म निरन्तर नेतृत्व गर्न सफल भएका छन् । उनी संसदीय राजनीतिमा आएको १५ वर्षमा दुईपटक संविधानसभा सदस्य, दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित भए । २०७४ भएको वाम गठबन्धनबाट उनी गृहजिल्ला चितवन–३ बाट निर्वाचित भए । मंसिर ४ मा भएको निर्वाचनमा चितवन छाडेर गोरखा–२ बाट निर्वाचनमा विजयी भए ।

ताजा अपडेट

नेपालवाच विशेष