NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लन्च मिटिङसँगै छतको पारिलो घाममा चिसिएको सम्बन्ध प्रगाढ बनाउँदै प्रचण्ड र ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनको ठूलो दल एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो समय सम्बन्ध चिसिएको राजनीतिक वृत्तमा चर्चा चलिरहेको बेला दुई शीर्ष नेताबीच सोमबार चौंथोपटक भेटवार्ता भएको छ ।

वर्तमान सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानन्त्रीसँग ओली असन्तुष्ट रहेको प्रचण्ड निकट नेताहरूको बुझाइ छ । १० पुसमा ओलीको प्रस्तावमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा संसदबाट विश्वासको मत लिएका थिए ।

सत्ता पक्षसँग सुविधाजनक मत हुँदाहुँदै प्रचण्डलाई ‘सप्राइजिङ’ भोट दिएर कांग्रेसले दुई शीर्ष नेताबीच अविश्वासको बिउ रोपेको छ । विपक्षी दलले दिएको विश्वासको मतप्रति संसदमा कटाक्ष गर्दै अध्यक्ष ओलीले ढोक्सामा कुनै माछा नपर्ने धम्की दिएका थिए । विपक्षीको समेत गरी ९९ प्रतिशत मत पाएर दंग परेका प्रचण्ड ओलीको शंशयपूर्ण धम्किपछि झस्किएका छन् ।

आफ्नै बलमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले कांग्रेससँग मिलेर दोहोरो भूमिका खेलेको हुन सक्ने ओलीले आशंका छ । त्यही आशंकालाई मेट्न प्रचण्ड ६ दिनमा दुईपटक ओली निवास पुगेका छन् । चिसो मौसमसँगै चिसिएको सम्बन्धलाई न्यानो बनाउन यी दुई नेताले घरको छत प्रयोग गर्न थालेका छन् । ओलीको लन्चसहितका निम्तो मान्न प्रधानमन्त्री ओली निवास पुगेका हुन् ।

दुई नेताबीचको भेटवार्तामा मन्त्रालय भागबण्डा, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसद सचिवालयको ५ माघमा सभामुखको चयन हुने कार्यतालिका छ । एमाले र माओवादीबिच प्रधानमन्त्री र सभामुखको कार्यकाल बाँड्ने सहमति भइसकेको छ । सहमतिअनुसार पहिलो साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र सभामुख एमालेको तर्फबाट हुने भन्ने छ ।

पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न दुई नेताको लन्च मिटिङ भएको थियो । एमाले नेतासमेत रहेका व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा ओली र प्रचण्डले मार्सी चामलको भात खाएको विषय अहिलेपनि अहिले पनि उत्तिकै चर्चा छ ।

यी दुई नेताबीच देखिएको अविश्वासका कारण प्रधानमन्त्रीमा नियुक्त भएको २२ दिनसम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँगको विषयमा प्रचण्डले सत्ता शेयरिङको विषयमा कांग्रेससँग पनि छलफल हुने बताएपछि ओली झस्किएका हुन् ।

देउवा–प्रचण्ड समीकरण भत्किएपछि प्रचण्ड सरकारलाई कांग्रेसले समर्थन गर्दैन भन्ने बुझाइ ओलीको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाएर सत्ताको चाबी आफ्नो हातमा लिएर किङमेकर बनिराख्ने ओलीको दाउ थियो । तर ओलीले अनुमान विपरित कांग्रेस, नेकपा एस, लोसपाले सरकारलाई विश्वासको मत दिएपछि प्रचण्ड झन शक्तिशाली भए । संसदीय अंकगणितमा देखिएको अस्वभाविक नतिजाले झस्किएका ओली आफ्नो भूमिका खुम्चिएको महशुस गर्न थालेका छन् ।

एमालेको समर्थनबिना पनि प्रचण्ड सरकार नढल्ने देखिएपछि ओली अप्ठ्रोमा परेका हुन् । प्रचण्डको भूमिकालाई लिएर ओलीपक्षका नेताहरूले विभिन्न आशंका व्यक्त गर्न थालेका छन् । ओली निकट एक उच्च नेताका अनुसार एमालेलाई राष्ट्रपति नदिनका लागि कांग्रेसले भित्रभित्रै खेल खेलिरहेको हुन सक्ने उनीहरूको अनुमान छ ।

‘प्रधानमन्त्री भएपछि सबै पक्षसँग छलफल गर्नु प्रचण्डजीको वैयक्तिक विषय हो । हाम्रो आशंका प्रधानमन्त्रीलाई बहुमत हुँदाहुँदै विपक्षी कांग्रेसले विश्वासको मत दिनु स्वभाविक मान्न सकिँदैन’, ती नेताले भने, ‘कांग्रेसको राम्रो नियत भएको भए प्रचण्डलाई प्रधानमन्त्री बनाइहाल्थे नि । उहाँलाई प्रधानमन्त्री बनाएको भए संघदेखि प्रदेशसम्म उहाँकै सरकार हुन्थ्यो । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहित सबै पद आफै ओगट्न खोज्ने कांग्रेसले आफूले समर्थन नगरेको सरकारलाई विश्वासको मत दिनुमा राम्रो नियत देखिँदैन ।’

१० पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा–प्रचण्ड गठबन्धनको बैठकमा देउवाले प्रधानमन्त्री बनाउन नचाहेपछिm प्रचण्डले कांग्रेससँगको सम्बन्ध तोडेर ओलीसँग घाँटी जोड्न पुगेका थिए । ओलीले प्रचण्डलाई स्वागत गर्दै प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई एमाले, माओवादी, रास्वपा, जसपा, जपा र नाउपाले समर्थन गरेको थियो ।

आफूहरूबीच पुनर्मिलन भएको खबर ओली–प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाउँदै सार्वजनिक गरेका थिए । प्रचण्डसँग त्यसअघिको तिक्ततापूर्ण सम्बन्धलाई प्रगाढ बनाउन ओली ११ पुसमा प्रधानमन्त्रीलाई भेट्न बिहानै खु्मलटार पुगेका थिए । दुई वर्षपछि आफूलाई भेट्न आएकोमा दंग पर्दै ओलीलाई पुष्पगुच्छाले स्वागत गरेका थिए । घरको छतमा लगेर सुन्तला खुवाएका थिए । विगतका तितामिठा विषयलाई भुल्दै छतको पारिलो घाममा राजनीतिक विसुन सुकाएका थिए । सत्ता स्वार्थका लागि दुई शीर्ष नेता नजिकिएको आशंकाबीच चिसिएको सबन्बन्धलाई न्यानो बनाइराख्न दुवै तर्फबाट भेटवार्ता जारी छ । आइतबार मात्र प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । भेटवार्तामा मन्त्रिपरिषद विस्तार र सत्ता भागबण्डाबारे छलफल भएको प्रधानन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार अघि आफूलाई समर्थन गर्ने १० दलको बैठक मंगलबार राख्ने तयारी गरेका छन् ।

सत्ता बाहिरका कांग्रेस, नेकपा एस र लोसपाले सरकारलाई समर्थन गरेपछि उनीहरूसँग सत्ता भागबण्डामा छलफल गर्न आवश्यक देखिएकाले प्रधानमन्त्रीज्यूले सरकार समर्थक सर्वदलीय बैठक बोलाएको प्रचण्ड निकट एक नेताले बताएका छन् ।

उनका अनुसार प्रधानन्त्रीले एक चरण विपक्षी दलहरूको समेत कुरा सुनेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेको ती नेताले बताए ।

‘प्रधानमन्त्रीज्यूले योपटक विपक्षी दलहरूको समेत अभुतपूर्व विश्वासको मत पाउनुभएको छ । सरकार विस्तार अघि कांग्रेसको पनि कुरा सुन्नु आवश्यक छ । कांग्रेसलाई सभामुख दिने हो कि भन्ने पनि छ’, ती नेताले भने, ‘यी सबै विषय एमालेसँग छलफल गरेरमात्र हुन्छ । प्रधानमन्त्री बन्ने बेलामा राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिने सहमति भएको भए एमालेलाई चिढाउनु हुँदैन । यदि भागबण्डामा सहमति नभएको भए राष्ट्रपति वा सभामुख मध्ये एक पद दिन आपत्ति जनाउने विषय छैन । तर जे गरेपनि एमाले र माओवादीबीचको सहमतिले काम गर्दा राम्रो हुन्छ ।’

यद्यपि पद बाँडफाँटमा कांग्रेससँग आफ्नो कुनै गुम्त सहमति नभएको प्रचण्डले स्पष्टिकरण दिँदै आएका छन् । ओलीसँग सम्बन्ध चिसिएर हुन सक्छ विश्वासको मत लिएको ६ दिनमै दुई शीर्ष नेताबीच ४ पाटक भेटवार्ता भइसकेको छ । तरपनि सम्बन्धमा आशंका बाँकी नै छ । विश्वासको मत लिएको भोलिपल्ट अर्थात् २७ पुसमा गोरखा पुगेका प्रचण्ड काठमाडौं उत्रिए लगत्तै ओलीलाई भेट्न बालकोट पुगेका थिए । ओलीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले पावर शेयरिङमा कांग्रेससँग कुनै सहमति नभएको स्पष्टिकरण दिए । भेटवार्तामा उनले राज्यका प्रमुख पद राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पदहरूमा सत्ता साझेदार दलहरूबीचको सहमतिमै भागबण्डा मिलाउने आश्वासन दिएको बुझिएको छ ।

ओलीलाई भेटेको भोलिपल्ट २८ पुसमा प्रचण्डलाई भेट्न ओली आफै बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्तामा सात प्रदेशको मुख्यमन्त्री, सभामुखलगायत विषयमा छलफल गरी भागबण्डा मिलाएका थिए । गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकको सहमति अनुसार सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति भइसकेको छ । सभामुख चयन प्रक्रिया जारी छ । सरकारलाई भोट हालेकै विषयलाई लिएर विपक्षीहरूले दुई पार्टीबीचको सम्बन्धमा फाटो ल्याउन खोजिएको आशंका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको भनाइ छ ।

‘सरकारलाई विश्वासको मत दिएका दलहरूसँग प्रधानमन्त्रीले भेट गर्नु स्वभाविक छ । तर भोट हालेकै विषयलाई लिएर एमाले र माओवादीबीच सम्बन्ध बिग्रिएको भन्दै विपक्षीले खुशीयाली मनाउनु उचित छैन । विपक्षीले समर्थन गर्दैमा पावर शेयरिङ गर्नुपर्छ भन्ने जरुरी छैन’, उनले भने ।

समकालीन राजनीतिका चलायमान र चतुर खेलाडी रहेका यी दुई शीर्ष नेताले २०७४ को निर्वाचनको सम्मुखमा कार्यगत एकतासँगै एमाले र माओवादीबीच पार्टी एकता गर्ने घोषणा गरेर सबैलाई आश्चर्यचकित बनाएका थिए । संघदेखि प्रदेशसम्म चुनावी तालमेल गरी निर्वाचमा होमिएका वाम गठबन्धनलाई त्यतिबेला जनताले अत्याधिक मतसहित अनुमोदन गरेका थिए । जनादेशको भावना अनुसार ओली र प्रचण्डले पार्टी एकता गरी सरकार सञ्चालन गरे । तर यी दुई नेताबीच देखिएको शक्ति संघर्षका कारण झण्ड दुई तिहाइको वामपन्थी सरकार तीन वर्ष नपुग्दै ढल्यो ।

७३ वर्षको इतिहासमा शक्तिशाली भएको कम्युनिस्ट आन्दोलन सत्ता स्वार्थकै कारण पुनः छिन्नभिन्न भएको थियो । दुईवर्ष अघिको तिक्ततालाई विर्सदै यी दुई नेताबीच देखिएको सम्बन्धलाई थप विस्तार गर्न अहिले दुवै पक्षका नेताहरू लागि परेका छन् । तत्काल पार्टी एकता सम्भव नभएपनि कार्यगत एकता जारी राख्ने उदेश्यका साथ दुवै पार्टी अघि बढेका छन् । शीर्ष दुई नेताकाबीच आपसी अविश्वसलाई कम गर्दै सहमतिमा सत्ता भागबण्डा मिलाउने प्रयास जारी राखेका छन् ।