NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सभामुखमा देवराज घिमिरे विजयी, पक्षमा १६७, विपक्षमा १०० मत

काठमाडौं । सत्ता गठबन्धनबाट सभामुखमा प्रस्तावित उम्मेदवार देवराज घिमिरेले सभामुखमा निर्वाचित भएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार भएको निर्वाचनमा घिमिरेले १६७ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका ईश्वरी न्यौपानेले १०० र दिन्न भन्ने पक्षमा एक मत पाएका छन् ।

प्रतिनिधिसभामा उपस्थित २७५ जनामध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका छन् ।

विपक्षमा कांग्रेस, नेकापा एस, राजमो र लोसपाले समर्थन गरेका थिए ।

यस्तो छ नवनिर्वाचित सभामुख घिमिरेको पृष्ठभूमि

वि.सं. २०१३ साल जेठ १३ गते ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा घिमिरेको जन्म भएको थियो । गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट उनले विद्यालय शिक्षा प्रारम्भ गरेका थिए । ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट ०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका थिए । उनले धरानको महेन्द्र बहुमुखी क्याप्पस आइ.ए. र काठमाडौंको त्रि–चन्द्र कलेजबाट स्नातक अध्ययन गरेका छन् ।

०३१ सालमा झापा विद्रोहपछि वामपन्थी राजनीतिमा लागेका घिमिरे ०३२ देखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)को विद्यार्थी संगठनमा लागेका हुन् । त्यतिबेला बुर्जुवा शिक्षाविरूद्ध अभियान सञ्चालन गरेका उनले २०३५ सालमा नेकपा मालेको सदस्य भएका थिए । २०३५ पुष ११ गते पुनर्गठित कम्युनिस्ट पार्टी मालेको संगठक भएर ताप्लेजुङ र तेह्रथुमा काम गरे । २०३६ देखि २०४६ सम्म कठिन भूमिगत जीवन बिताएका घिमिरे २०४९ सालमा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए । २०४८ मा भएको प्रतिनिसभा सदस्यमा तत्कालीन महासचिव मदन भण्डारीले उम्मेदवा बन्न गरेका प्रस्ताव उनले अस्वीकार गरेका थिए । उनी २०५० मा मेची अञ्चल इन्चार्ज, २०५८ मा पार्टीको केन्द्रीय विभागहरूको इन्चार्जको जिम्मेवारी पाएका थिए । पार्टीभित्र अध्यक्ष केपी ओली र वर्तमान राष्ट्रपतिसमेत रहेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको विश्वास पात्रका रुपमा उनी चिनिन्छन् । २०५६ सालमा घिमिरे राष्ट्रिय सभा सदस्य निर्वाचित भए ।

२०७१ सालको नवौँ राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भएपछि उनको अवसरको ढोका खुल्दै गएको छ । ओलीकै रोजाईमा उनले २०७४ मा सचिवालय प्रमुख भएर काम गर्ने मौका पाए । २०७५ एमाले र माओवादीबीच पार्टी एकता भइ बनेको नेकपाको प्रदेश १ को अध्यक्ष भए । ०७८ मा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भए । हाल अर्जुनधारा नगरपालिका–६ झापाका स्थायी बासिन्दा रहेका उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् । झापा विद्रोहमा तत्कालीन शासकबाट सुखानी जंगलमा मारिएका सहीद स्मृति प्रतिस्ठानका अध्यक्षसमेत हुन् ।

एमालेमा कम अवसर पाएका नेतामध्ये घिमिरे पनि एक हुन् । पार्टीभित्र उनलाई इमान्दार, सादकी र वौद्धिक नेताका रुपमा चिनिन्छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २८ हजार ७ सय १६ मत ल्याउदै झापा–२ बाट निर्वाचित भए । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् ।

सत्ता भागबण्डामा गठबन्धनबाट एमालेले सभामुख पाएको थियो । सभामुखमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्तले आकांक्षा देखाएका थिए । तर ओलीले सभामुखमा प्रस्ताव गरेपछि सभामुख बन्ने बाटो खुलेको छ ।

बिहीबार हुने सभामुखको निर्वाचनमा घिमिरे निर्वाचित भए संघीय गणतन्त्र स्थापनापछिको उनी पाचौं सभामुख हुनेछन् । सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएमा उनले विपक्षी दलकोसमेत विश्वास जितेर तटस्थता देखाउन चुनौती छ ।