NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विदेशबाट फर्केर मौरीपालन

रुकुमपूर्व । जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्र्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थालेका छन् ।

रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन् । खाडी मुलुकमा काम गर्दा औसत मासिक ३० हजार कमाउने उनले अहिले भने मासिक औसतमा २५ हजार कमाइरहेको बताए । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उनी स्वदेश फर्किएर कृषि कर्ममा लागेका हुन् ।

उनी भन्छन्, ‘घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी तीन लाखको हारहारीमा भइरहेको छ ।’ विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उनको भनाइ छ ।

‘पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो’, भागीमानले भने, ‘सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।’ विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ । भागीमानले सेराना जातको मौरी पालेका छन् ।

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आएका छन् । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् ।

उनका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक २० हजार आम्दानी भइरहेको उनको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।