NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेसले पाउला त राष्ट्रपति ?

सभामुख र उपसभामुखको निर्वाचनलगत्तै कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनतर्फ ध्यान केन्द्रित गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको टुंगो नलागे पनि कांग्रेसले अहिलेदेखि नै तयारी थालेको छ । दलहरूबीच समझदारी बनाएर राष्ट्रपति आफ्नो पक्षमा पार्ने प्रयत्नमा कांग्रेस लागेको छ । तर, त्यसका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकालाई निर्णायका रूपमा लिएको छ ।

संविधान रक्षाका लागि पनि राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक रहने कांग्रेसको जिकिर छ । प्रवक्ता डा. प्रकाशशरण महतले अब कांग्रेस राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने पहलमा लाग्ने बताए । उनले संसद्मा रहेका सबैसँग छलफलबाट कांग्रेसको नाममा समझदारी बनाउन लाग्ने प्रयत्न भइरहेको जानकारी दिए । कांग्रेसले विशेष रूपमा प्रधानमन्त्री प्रचण्डको भूमिकालाई निर्णायक मानेको छ । संविधानमा एमालेबाट खतरा रहेको दाबी गर्दै आएको छ ।

‘कांग्रेस सहमतिकै पक्षमा छ । सहमतिको विषयमा निर्णायक भूमिका प्रधानमन्त्री प्रचण्डमै भर पर्छ । हामीले उहाँलाई विश्वासको मत दिने क्रममै संविधानको रक्षा गर्नुहोला भनेर दिएका हौँ । प्रचण्डजीसँग पनि संविधान रक्षाको सवालमा छलफल भएको छ । समझदारी बन्यो भने साझा उम्मेदवार नै हुन्छ,’ उनले भने, ‘सहमति हुन नसकेको अवस्थामा हामी आफ्नै रूपमा अगाडि जान्छौँ । यो प्रचण्डजीका लागि पनि परीक्षणको अवधि हो । पार्टीभित्र सबै मामिलामा हामी एकै ठाउँमा छौँ । अब राष्ट्रपतिका लागि केन्द्रित हुनेछौँ ।’

प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी रहने बताउँदै आएका छन् । बिहीबार सभामुख चयनपछि प्रतिक्रिया दिँदै उनले राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने बताएका थिए । उनले सत्तासाझेदार र आफूले सकेसम्म राष्ट्रपतिबारे समझदारी बनाउन कोसिस गरिरहेको उल्लेख गरे । ‘राष्ट्रपतिको कुरा बाँकी छ । हामी सत्तासाझेदार र मेरो पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौँ,’ प्रचण्डको भनाइ थियो ।

तर, माओवादीका उपमहासचिव जनार्दन शर्माले भने सत्तागठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने बताए । शनिबार संसद् भवनमा प्रतिक्रिया दिँदै उनले गठबन्धनसँग बहुमत रहेको र गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने जिकिर गरे । राष्ट्रपतिमा कांग्रेसको अपेक्षाबारे जानकार नभएको उनको भनाइ थियो । ‘अब केही दिनपछि राष्ट्रपतिको उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । अहिले गठबन्धनमा बहुमत छ । गठबन्धन दलभित्र नै सहमति बन्छ र गठबन्धनबाटै उम्मेदवार हुनेछ । सरकारमा भएका दलहरूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने हो । कांग्रेसको अपेक्षाबारे जानकारी छैन,’ शर्माले भनेका थिए ।

सरकारलाई विश्वासको मत दिएपछि सभामुख र उपसभामुखमा उम्मेदवार खडा गरेको कांग्रेसको स्ट्यान्ड राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा के हुन्छ भन्ने चासोको विषय बनेको छ । कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा पनि सहमतिका लागि संसद्मा रहेका सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । तर, समझदारीको अवस्था बनेन । कांग्रेसले बारम्बार एमाले अध्यक्ष केपी ओलीले संसद् विघटनको विषय उठाएको भन्दै संविधानमाथि खतराको रहेको विश्लेषण गर्दै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने दिन संसद्मा सम्बोधन गर्ने क्रममा ओलीको नाम नै उल्लेख गरेर संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका थिए । ‘उहाँ (ओली)ले संविधानको पूर्णकालीन संसद्को व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा दोहो‍र्‍याउनु भएको छ ।

संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ,’ देउवाले भनेका थिए, ‘सर्वाेच्च अदालतले पनि संविधानको व्यवस्थाअनुरूप विघटित संसद्को पुनस्र्थापना गरेको थियो । आज फेरि वर्तमान सत्तागठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि पनि यो परीक्षणको घडी हो ।’

कांग्रेस सांसद प्रदीप पौडेलले संविधानको रक्षाका लागि आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको कार्यक्रममा उनले विगतमा अनुकूलको राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।