NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

कोभिडमा ल्याइएका २५३ भेन्टिलेटर प्रयोगविहीन

काठमाडौं । कोभिड महामारीका वेला उपचारका लागि ल्याइएका दुई सय ५३ थान भेन्टिलेटर अहिले विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा प्रयोगविहीन बनेका छन् । महामारी सुरु भएपछि देशभरका अस्पतालमा पठाइएका सात सय ४४ मध्ये साढे दुई सयभन्दा धेरै भेन्टिलेटर प्रयोगविहीन भएका हुन् ।

कोभिड संक्रमण उच्च रहेका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीय र प्रादेशिक अस्पताल, मेडिकल कलेज, पालिकास्तरमा रहेका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएको थियो । तीमध्ये केही कोभिडका बिरामी घट्दै जाँदा त केही भवन र जनशक्ति अभावले प्रयोगमा छैनन् ।

विभिन्न कारण देखाएर अधिकांश अस्पतालले करोडौँ मूल्यका भेन्टिलेटर थन्क्याएर राखेका छन् । भेन्टिलेटर मेसिन कतै बिरामी नभएर, कतै जनशक्ति नभएर त कतै भवन नभएर प्रयोगविहीन छन् ।

कोभिड बिरामी उपचारका लागि मात्रै प्रयोगमा ल्याइएका ८० वटा भेन्टिलेटर अहिले विभिन्न अस्पतालमा थन्किएको अवस्थामा छन् । कोभिड उपचारकै लागि पठाइएको नारायणी अस्पतालमा १७, भेरी अस्पतालमा १६, कोसी अस्पतालमा १४, शुक्रराज ट्रपिकल अस्पतालमा आठ, राप्ती प्रादेशिक अस्पतालमा ६, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वटा भेन्टिलेटर मेसिन हाल बन्द छन् ।

यसबाहेक इलाम जिल्ला अस्पतालमा तीन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताल र महाकाली अञ्चल अस्पतालमा दुई–दुईवटा मेसिन बन्द छन् । यस्तै, गौतम बुद्ध अस्पताल, मनमोहन कार्डियोथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सोलखुम्बु जिल्ला अस्पताल, तेह्रथुम जिल्ला अस्पतालमा एक–एकवटा भेन्टिलेटर हाल प्रयोगविहीन छन् ।

जनशक्ति अभावमा समेत आठवटा मेसिन सञ्चालनमा आउन सकेका छैनन् । जसमध्ये मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा चारवटा, बर्दिबास अस्पतालमा तीनवटा र नलागाड गाउँपालिकाको (जाजरकोट) स्वास्थ्य चौकीमा एउटा मेसिन जनशक्ति नहुँदा सञ्चालनमा छैनन् ।

भवन र अन्य उपकरण नहुँदासमेत मेसिन स्टोरमा थन्किएका छन् । जसमध्ये दमक अस्पतालमा सात र प्रादेशिक अस्पताल जनकपुरधाममा तीनवटा मेसिन सञ्चालनमा छैनन् । भवन र अन्य उपकरण नभएकै कारण भक्तपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, मनमोहन मेमोरियल सामुदायिक अस्पताल र सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा दुई–दुईवटा मेसिन र जोगबुडा अस्पतालमा एउटा मेसिन थन्किएका छन् ।

कोभिड महामारीमा दाताको सहयोगमा आएका मेसिन आवश्यकता नै नभएका अस्पतालमा पठाउँदा पनि स्टोरमै थन्किएका छन् । वीर अस्पतालमा आवश्यकताभन्दा बढी ल्याउँदा ५६ वटा भेन्टिलेटर स्टोरमै छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा र भक्तपुर अस्पतालमा दुई–दुईवटा मेसिन स्टोरमा छन् । केही स्वास्थ्य चौकी र अस्पतालमा मर्मत अभाव र अन्य आवश्यक उपकरण नहुँदा पनि करोडौँ मूल्यका भेन्टिलेटर मेसिन स्टोरमा छन् ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले उच्च संक्रमणका वेला पठाइएका मेसिन संक्रमण दर घटेपछि प्रयोगमा नआएको बताए । ‘कोभिडका बिरामीको चाप नियन्त्रणका लागि दातृ निकायको सहयोग र खरिद प्रक्रियाबाट आवश्यकताभन्दा बढी उपकरण ल्याइयो । अहिले संक्रमण घट्दै जाँदा प्रयोगविहीन हुनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘कतिपय ठाउँमा चाहिनेभन्दा बढी मेसिन अस्पतालमा पुगेका थिए, अहिले थन्किएका पाइएको छ ।’

उनका अनुसार महामारी सुरु भएदेखि सञ्चालनमा ल्याइएका चार सय ९१ वटा मेसिन पूर्णतया सञ्चालनमा छन् । आवश्यकताभन्दा बढी भएका र जनशक्ति, भवन र अन्य उपकरण अभावमा सञ्चालनमा आउन नसकेका मेसिनको व्यवस्थापनका लागि तयारी भइरहेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।