NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विपन्नलाई निसाना बनाएर चिनियाँ खोप परीक्षण

काठमाडौँ — मेडिसिन साइन्स एन्ड रिसर्च (एमएसआर) बेइजिङले कोभिडविरुद्ध बनाइरहेको नयाँ खोपको क्लिनिकल ट्रायल नेपालमा भइरहेको छ । तर, निश्चित विपन्न समुदायलाई निसाना बनाएर भइरहेको परीक्षणले ‘मेडिकल इथिक्स’ को प्रश्न उठाएको छ ।

नेपालमा ‘स्थानीय एकीकृत विकास समाज नेपाल’ (सोलिड) ले यो खोप परीक्षणको जिम्मा लिएको छ । तर, आफूमाथि भइरहेको परीक्षणको विषयमा सोधखोज गर्न नसक्ने समुदायलाई निसाना बनाइएको छ । उनीहरूमध्ये नुवाकोटका ७२ वर्षीय साइँला लामाले यो खोपको दुई डोज लगाइसकेका छन् । गाउँका अरू पनि यो परीक्षणमा छन् तर उनीहरू आफूमाथि परीक्षण भइरहेको खोपबारे अनभिज्ञ छन् ।

‘गाउँमा पैसाको लोभ देखेर खोप लगाउन गयो भन्ने हल्ला छ । म त तलाखु गाउँको हेल्थपोस्टका डाक्टरले कोरोना फेरि आउँछ, त्यसबाट बच्न खोप लगाउनुपर्छ भनेर आएको हुँ,’ स्वयम्भूस्थित मनमोहन मेमोरियल टिचिङ अस्पतालमा दोस्रो डोज लगाएपछि उनले भने, ‘सुरुमा लुगलुग कामें, बान्ता पनि भयो ।’ गाउँमै खेती किसानी गर्ने उनले माघ २ मा पहिलो डोज लगाएका थिए ।

कोभिड–१९ विरुद्धको नयाँ खोप विकास गर्न एमएसआरले नेपालमा ‘क्लिनिकल ट्रायल’ गरिरहेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्डअनुसार ट्रायलमा सहभागीलाई खोपबाट हुन सक्ने जोखिम, साइड इफेक्ट र बेफाइदाबारे जानकारी गराउनुपर्छ । कसैलाई खोप लगाउनुपरे त्यसबारे सम्पूर्ण जानकारी दिइनुपर्ने खोप ऐन २०७२ मा पनि उल्लेख छ । खोपका कारण कुनै स्वास्थ्य समस्या आइपरे सम्पूर्ण जिम्मा खोप लगाउने संस्थाले लिनुपर्ने र क्षतिपूर्तिसमेत दिनुपर्ने हुन्छ । तर, खोप लगाएका धेरैलाई योबारे जानकारी छैन ।

औषधि व्यवस्था विभागका अधिकारीहरूका अनुसार यो खोप १८ वर्षमुनिकाले लगाउन मिल्दैन । खोपका कारण कपाल झर्ने, शरीरमा फोका आउने, नियमित महिनावारी नहुने, एलर्जी, सुगर र प्रेसरका बिरामीमा जोखिम बढ्न सक्छ ।

खोपको कारण तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने पनि हुन सक्छ । त्यही भएर यो ट्रायल जहाँ पायो त्यहीं गर्न नमिल्ने औषधि विभागका अधिकारीहरू बताउँछन् । नुवाकोटकै ६६ वर्षीया सीता तामाङ र ४० वर्षीया रीता तामाङले पनि सोमबार दोस्रो डोज लगाए । घुँडा र नसा दुख्ने रोग निको हुने विश्वासमा खोप लगाउन आएको उनीहरूले बताए । गाउँमा मेलापात गर्ने उनीहरू पढ्न लेख्न जाँदैनन् । ‘सुई लगाइसकेपछि सबै रोग निको हुन्छ, कोरोना पनि लाग्दैन भन्यो,’ उनीहरू भन्छन्, ‘काठमाडौं गएको ज्याला पनि आउँछ भनेकाले लगाउन आएका हौं ।’ उनीहरूका श्रीमान्ले भने पहिलो डोज मात्रै लगाए । खोप लगाएपछि रक्तचाप बढेको र ज्वरोले च्यापेपछि अर्को डोज नलगाएको उनीहरूको भनाइ छ । आफूलाई पनि सुरुमा बान्ता हुने, ज्वरो आउने र जीउ दुख्ने समस्या भएको सीताले सुनाइन् ।

नुवाकोटबाटै आएका ४२ वर्षीया नरेश तामाङको भनाइ पनि उनीहरूको जस्तै छ । कोरोनासँग लड्न सक्ने क्षमता बढ्छ भनेर खोप लगाउन आएको उनले बताए ।

मनमोहन मेमोरियल टिचिङ अस्पतालमा सोमबार क्लिनिकल ट्रायलमा सहभागी अधिकांश उनीहरूजस्तै निमुखा र निम्न वर्गका थिए । चीनको जियान्सु रिबायो टेक्नोलोजी कम्पनीको प्रायोजनमा सञ्चालित ट्रायलमा सहभागी हुने प्रत्येकलाई यातायात र खाजा–खानाको खर्चबाहेक छुट्टै तीन हजार रुपैयाँ दिने गरिएको छ । सोलिडका अनुसार यो प्रोजेक्ट ४० देखि ४५ करोड रुपैयाँको हो । ट्रायल गरिएको नयाँ खोपलाई ‘रिकोभ’ भनिएको छ । तेस्रो चरणको यो ट्रायल नेपालमा ६ महिनाअघि कुनै पनि खोप नलिएका १८ वर्ष वा सोभन्दा माथिका करिब ५ हजार वयस्क (६० वर्षमाथिका १५ प्रतिशतसमेत) मा गर्ने योजना छ । खोपको पहिलो चरण न्युजिल्यान्ड र दोस्रो चरणको ट्रायल फिलिपिन्स र यूएईमा गरिएको दाबी गरिएको छ । तेस्रो चरणको ट्रायल पनि सफल भए यो खोपले अनुमति पाई बिक्रीका लागि पठाइनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।