NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

थोरै तलबमा पनि कसरी बचत गर्ने ? बचत गर्न यी हुन् उपयुक्त तरिका

जोकोही आफ्नो तलबको केही हिस्सा बचत गर्न चाहन्छन् । तर ज्ञानको कमीले गर्दा या अन्य कुनै कारणले चाहेर पनि मानिसहरू बचत गर्न सक्दैनन् । धेरैजनाले आफ्नो अनावश्यक खर्च बढाएर त्यसो गर्न असफल हुन्छन् ।

आजको समयको कुरा गर्ने हो भने विश्व छिटो छिटो परिवर्तन भइरहेको छ । साथै यो परिर्वतनशील समयमा विश्वभरका सबै मानिस मूल्यवृद्धिको चपेटामा परेका छन् । यत्तिबेला वस्तुको भाउ बढेको छ, खर्च बढ्दै गएपनि आम्दानीको स्रोत बढेको छैन । जसको कारण कोही पनि बचत गर्न सक्ने स्थितिमा छैन ।

महंगी बढेसँगै खर्च धान्नको लागि मानिसहरू एकभन्दा बढी आम्दानीको विकल्प खोज्न बाध्य भएका छन् । कोही एकभन्दा बढी रोजगार गर्न थालेका छन् त कोही एकै समयमा धेरै परियोजनामा काम गरिरहेका छन् । तर पनि अहिले पैसाको अभाव धेरैले झेलिरहेका छन् ।

यस्तो समयमा बचत कसरी सम्भव होला ? धेरैलाई यो समयमा बचत गर्न सकिन्न भन्ने लाग्नु स्वभाविक हो । तर हामीले यस्तो परिस्थितिमा पनि बचत गर्न नसिकिने भन्ने कुरा भने हुँदैन ।

बचत गर्ने बानी किन महत्वपूर्ण छ ? यस्ता छन् बचत गर्नुका फाइदा

तपाईं पनि पैसा बचत गर्न चाहनुहुन्छ र प्रत्येक महिनाको अन्त्यमा राम्रो बचत चाहनुहुन्छ भने, तपाईंले आफ्नो खर्च कम गर्न अतिआवश्यक छ । खर्च घटाउनुको अर्थ तपाईंले आफ्नो खाना र पेय पदार्थ र अत्यावश्यक वस्तुहरू प्रयोग गर्न छाड्नु वा तिनीहरूलाई कटौती गर्नु भनेको होइन । कतिले बचत गर्नुपर्छ भन्दै आफ्नो खाना र पेय पदार्थ नै प्रयोग गर्न छाड्छन् जुन गलत हो । भोकै बसेर बचत गर्नुको पनि त अर्थ हुँदैन ।

धेरैपटक, सही जानकारीको कमीको कारण, हामी हाम्रो अनावश्यक खर्चलाई चिन्न सक्दैनौं र धेरै खर्चको कारण बचत गर्न असमर्थ छौं । बचत गर्न गाह्रो यो परिस्थितिमा पनि बचत कसरी गर्न सकिन्छ भन्ने बारेमा केही उपयोगी नियम यहाँ प्रस्तुत गर्न गइरहेका छौँ । जसलाई पछ्याएर तपाईँले आफ्नो बचतलाई धेरै गुणा सजिलै बढाउन सक्नुहुन्छ ।

अनावश्यक खर्चबाट बच्नुहोस्

प्रायः हामी हाम्रो अनावश्यक खर्चहरू पहिचान गर्न नसक्दा धेरै कम बचत गर्न सक्षम छौं । सबै भन्दा पहिले हामीले हाम्रो अनावश्यक खर्चहरू के हो भनेर जान्न आवश्यक छ । प्रायः हामीले देख्ने गरेको कुरा या हामी आफैले पनि गर्दै आएको बानी के छ भने, हामी तलब पाउनेवित्तिकै महँगो होटेल वा बारहरूमा आफ्ना साथीहरूसँग पार्टी गर्न मन पराउँछौँ, जसले हाम्रो अनावश्यक पैसा त्यहाँ खर्च भइरहेको हुन्छ ।

यस्तो अवस्थामा, तपाईंले यस्तो अनावश्यक पार्टीबाट बच्ने प्रयास गर्नु आवश्यक छ । महंगो होटल, रेष्टुरेन्टमा गएर पार्टी गर्नुभन्दा बरु आफ्नै घरमा राख्न सकिन्छ । यसले बचत गर्न सहज हुन्छ । यस्तो निर्णय गर्ने काम आफ्नै हो, साथीभाइले महंगो पार्टी या महंगो कुराको माग गरेको खण्डमा आफैले अस्वीकार गर्न सक्नुपर्छ । तब हामीले पैसा बचत गर्न सक्छौँ ।

अनावश्यक किनमेल नगनुहोस्

हामी कतिको बानी हुन्छ, बजारमा देखेजति हामी उठाएर ल्याउँछौ । अझ कतिजनाको महिनामा तीन चार पटक किनमेल गर्न मल जाने बानी पनि हुन्छ । जहाँबाट उनीहरुले महंगो लुगाफाटा किन्न मन पराउँछन् ।

हामी धेरैपटक हामीलाई आवश्यक नभएका चीजहरु थुपारिरहका पनि हुन्छौँ, जुन राम्रो हैन । जसका कारण खर्च बढ्छ र बचत फेरि घट्छ ।
यस्तो समयमा पनि हामीले हाम्रो आवश्यकताको चीजहरू के हो भनेर पहिचान गर्न आवश्यक छ र ती अतिआवश्यक चीज मात्रै किनेर खर्च घटाएर बचत गर्न सकिन्छ । आफ्नो लागि आवश्यक चीज केहो त्यसको लिस्ट बनाएर त्यहीअनुसार चल्दा झन् राम्रो हो । पहिलो महिनामा किनेका सामग्री बाँकी छ भने त्यो चलाएर तपाईंले नयाँ महिनामा धेरै कम अनावश्यक वस्तुहरू किनमेल गर्न सक्षम हुनुहुनेछ र राम्रो रकम बचत गर्न सक्षम हुनुहुनेछ ।

प्रत्येक महिनाको लागि बजेट छुट्याउनुहोस्

बचत गर्न सजिलो अर्को महत्वपूर्ण नियम प्रत्येक महिनाको लागि बजेट छुट्याउनु पनि हो । कतिपय समयमा महिनाको बजेट योजना नबनाउँदा राम्रो बचत भएपनि बजेट निर्धारण नगरिएको कारणले गर्दा, तपाईंले आफ्नो बचत धेरै छिटो खेर जाने कुरामा खर्च गर्नुहुन्छ ।

यस्तो अवस्थाबाट बच्नको लागि आफैंले बजेट बनाउनु पर्छ, जसबाट राम्रो बचत गर्न सकिन्छ । कुन मौसम, समयमा कुन कुरा आवश्यक छ, त्यसको योजना बनाउनुपर्छ । जस्तै गर्मी महिनामा गर्मीयामको कपडा आवश्यक छ भने, त्यो कपडाको लागि त्यस्तै योजना बजेटमा राख्नुपर्छ ।

लगानी गर्नुहोस्

पैसा कमाएर मात्रै हुँदैन, बचत गर्न जान्नुपर्छ अनि बचत गरेर मात्रै हुँदैन त्यसलाई लगानी गर्न सक्नुपर्छ । बचतको केही अंश लगानी गर्दा त्यो पैसा दुईगुना चार गुणा वृद्धि हुन्छ, यसले तपाइँको बचत झन् बढ्दे जान्छ ।

लगानीका लागि बैंकको मुद्दती निक्षेप, सेयर बजार वा म्युचुअल फण्डमा लगानी गरेर पर्याप्त रकम प्राप्त गर्न सकिन्छ । यदि तपाइँ लगानी गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ महिनाको अन्त्यसम्म कुर्नु पर्दैन, तपाइँ महिनाको सुरुमा वा तलबको आगमनसंग एक निश्चित रकम लगानी गर्न सक्नुहुन्छ ।