NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दलहरूबीच सत्ता समीकरण फेरबदलको अन्तिम कसरत : यस्तो बन्दैछ सम्भावित समीकरण

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ताको समय नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच सत्ता समीकरण फेरबदलका लागि अन्तिम कसरत भइरहेको छ । ओली–प्रचण्डको सत्ता गठबन्धन भत्काउन प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘ढोक्सा’ थापेको कांग्रेसका शीर्ष नेताहरू राष्ट्रपति निर्वाचमा निकै उत्साहित देखिएका छन् ।

एक शीर्ष नेताका अनुसार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन् । छलफल सकारात्मक भएको र राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्ने ‘ग्रिन सिग्नल’ पाएको नेताहरूको दाबी छ ।

‘माओवादीबाट राष्ट्रिय सहमतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय हुने र नयाँ राजनीतिक समीकरण बन्ने हाम्रो विश्वास छ । हामी अहिले पनि प्रधानमन्त्रीज्यूसँग निरन्तर सम्वादमा छौं’, कांग्रेसका नेता रमेश लेखकले दाबी गर्दै भने, ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उम्मेदवार उठाउँछ । हामीले उठाएको उम्मेदवारलाई माओवादीको पनि समर्थन हुनेछ ।’

यसैगरी राष्ट्रपतिमा पूर्वसहमतिको ख्याल गर्न प्रधानमन्त्रीलाई निरन्तर दबाब दिँदै आएको सत्ता साझेदार दल एमालेका अध्यक्षले एमालेबाट नै राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

‘राष्ट्रपति एमालेकै हुन्छ । अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ’, आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग ओलीले भने ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने हल्लाबीच वर्तमान सत्ता समीकरण बदलिने हो कि भन्ने आशंका बढ्दै गर्दा ओलीको बालकोट–बालुवाटार दौडधुप निकै बढेको छ । १० पुसमा नयाँ सरकार बनेपश्चात् राष्ट्रपतिको विषयमा छलफल गर्न ओली प्रधानमन्त्रीलाई २५ भन्दा बढी पटक भेटवार्ता गरिसकेका छन् । यद्यपि, प्रचण्डको सम्भावित कदमप्रति उनी निकै सशंकित देखिएका छन् ।
‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’ उनले भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ ।’

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको विषयमा प्रधानमन्त्रीको सम्भावित कदमप्रति संसय प्रकट गर्दै सरकार गठनअघिको सहमतिलाई प्रधानमन्त्रीले पालना गर्ने विश्वास व्यक्त गरे ।

‘यति छिट्टै प्रधानमन्त्रीले पूर्वसहमति तोड्नुहुन्छ भन्ने मलाई विश्वास छैन । तर उहाँको पछिल्लो अभिव्यक्ति र गतिविधिले केही संसय देखिएको छ । उम्मेदवारी मनोनयन दर्ताको दिनसम्ममा एउटा निकास निस्किन्छ’, उनले भने ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान राख्दै आएको माओवादीका शीर्ष नेताहरूले एमाले र कांग्रेस दुवै पक्षलाई मान्य हुनेगरी छलफलमा केन्द्रित रहेको छ । जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जिकिर गरे ।

‘अहिले विभिन्न शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ’, आइतबार पोखरामा आयोजित कार्यक्रमा उनले भने ।

सत्ता फेरबदलमा कांग्रेस उत्साहित, एमालेमा संसय

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले प्रक्रिया अघि बढाइसकेको छ । जसअनुसार १३ फागुनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका प्रकाशित गरेको छ । अहिले सत्तापक्षसँग ३१ हजार ५५५ मतभार रहेको छ । कांग्रेस गठबन्धनसँग २० हजार १३० मतभार रहेको छ । अन्य मतभार ९४३ रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई वर्षे कार्यकाल २८ फागुनमा सकिँदै छ । कांग्रेको उम्मेदवार विजयी हुनका लागि उसले कित माओवादीलाई मनाउनु पर्नेछ कित विपक्षी गठबन्धनबाट ५ हजार बढी मत तान्न सक्नुपर्ने बाध्यता छ ।

सरकार गठनपूर्व एमालेलाई राष्ट्रपति दिने वचन प्रधानमन्त्रीले अध्यक्ष केपी ओलीलाई दिइसकेका छन् । संसदबाट कांग्रेससमेतको विश्वासको मत पाएपछि आफ्नो पूर्वअडानबाट पछि हटेर राष्ट्रिय सहमितको विषय उठाउँदा उनी निकै अप्ठ्यारोमा परेका छन् ।
यद्यपि, राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसमा देखिएको उत्साहलाई अर्थपूर्ण मानिएको छ । कांग्रेसका महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, डा. प्रकाशशरण महत लगायत नेताहरूले राष्ट्रपतिमा कांग्रेसले उठाएकै उम्मेदवार विजयी हुने दाबी गर्दै आएका छन् । कांग्रेसले कसलाई उम्मेदवार बनाउछ भन्ने विषयमा अहिले सम्म औपचारिक निर्णय नभएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपाल श्रेष्ठको नाम चर्चामा छ । माओवादीसमेतको समर्थन हुने अवस्था आए पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बलियो रहेको कांग्रेसका एक नेताले दाबी गरेका छन् ।

‘माओवादीको समर्थनमा कांग्रेसको उम्मेदवार उठाउन सम्बन्धन्धमा दुवै पार्टीका शीर्ष नेताहरू सहमति नजिक रहेका छन् । माओवादीसहितको समर्थनमा रामचन्द्रजीलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल निरन्तर चलिरहेको छ’, ती नेताले भने ।
एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपनि राष्ट्रपतिको निर्वाचनपछि ओलीले प्रचण्ड सरकारलाई साथ नदिने नेता लेखकको जिकिर छ ।

‘एमालेबाट राष्ट्रपति भएपनि वा नभएपनि प्रचण्ड सरकारलाई एमालेले बोक्दैन । राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड सरकारलाई साथ कांग्रेसले दिन्छ । संविधान, लोकतन्त्र बचाउन पूर्वलोकतान्त्रिक–वाम गठबन्धन एक ठाउँमा आउनुको विकल्प छैन’, उनले भने ।

माओवादीका एक शीर्ष नेताका अनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विकल्प नभएको जिकिर गरे । राष्ट्रपति सबैको साझा संस्था भएकाले राष्ट्रिय सहमतिबाट नै राष्ट्रपतिको साझा उम्मेदवार चयन हुने ती नेताले बताए ।

‘राष्ट्रपतिमा कसलाई सघाउने भन्ने विषयमा माओवादीले केही दिनमा औपचारिक निर्णय गर्छ । राष्ट्रीय सहमतिबाट उम्मेदवार बनाउन सबैपक्षसँग हामीले छलफललाई निरन्तरता दिएका छौं । कांग्रेस र एमालेले आ–आफ्ना अडान कायमै राखेका छन् । उम्मेदवारी मनोनयन दर्ताको दिन सम्ममा दलहरूबीच राष्ट्रिय सहमित हुन्छ’, ती नेताले भने ।

निर्वाचनपछि सत्ता समीकरण बलदिने संकेत

राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेसका शीर्ष नेताहरूमा देखिएको उत्साह, उनीहरूको अभिव्यक्ति र माओवादीले निरन्तर राष्ट्रिय सहमतिको आडान कायमै राखेकाले निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुने संकेत देखिएको छ । सरकार गठन भएदेखि नै ओलीबाट निकै दबाब महशुस गरेका प्रधानमन्त्री प्रचण्डले ओलीको ‘एस म्यान’लाई कुनै हालतमा राष्ट्रपति नबनाउने अडानमा अडिक रहेको बुझिएको छ । ओलीसँगको पछिल्लो भेटवार्तामा पनि आफ्नो अडान कायमै राखेको प्रचण्ड निकट एक नेताको दाबी छ ।

‘विगतमा एमालेबाट राष्ट्रपति बनाउँदा संविधानर र लोकतन्त्रमाथि निकै संकट आयो । त्यो गल्ती योपटक गर्नुहुँदैन भन्ने अडानमा प्रधानमन्त्री हुनुहुन्छ । हामी १३ गतेसम्ममा हामी एउटा निष्कर्षमा पुग्नेछौं’, प्रचण्ड निकट एक नेताले भने ।

कांग्रेस र माओवादीसहितको साझा उम्मेदवार बनाउन शीर्ष नेताहरू अन्तिम कसरतमा रहेकाले साझा उम्मेदवार तय हुने उच्च स्रोतको दाबी छ ।

यस्तो हुनेछ सम्भावित सत्ता समीकरण

राष्ट्रपतिको निर्वाचनसँगै सत्ता समीकरण फेरबदल हुने सम्भावना बलियो बन्दै गएको छ । राष्ट्रपतिको निर्वाचनसम्म प्रधानमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने रणनीति कांग्रेसले बनाएको छ ।

प्रधानमन्त्रीसँगको निरन्तर छलफलमा माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गरे पाँचै वर्ष प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने गरी नेताहरूले लविङ गरिरहेको बुझिएको छ । ओलीबाट जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने र त्यसले आफ्नो सत्ता गुम्न सक्ने त्रासमा रहेका प्रचण्ड आफ्नो सत्ता टिकाउने सर्तमा आफ्ना उम्मेदवारलाई समर्थन गर्ने संकेत दिएको कांग्रेसका शीर्ष नेताको दाबी छ ।

निर्वाचनपछि वर्तमान सत्ता समीकरण भत्किने उनीहरूको जिकिर छ । एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डलाई रास्वपा, राप्रपा, जसपा, जपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । राष्ट्रपतिमा एमालेको उम्मेदवार पराजित भए एमालेबाट रास्वपा, राप्रपा सरकारबाट बाहिरिने आँकलन माओवादी र कांग्रेसले गरेको छ । पुरानै गठबन्धन ब्यूँताउने गरी समझदारी बनेको र कम्तिमा २ वर्ष प्रचण्ड सरकारलाई निरन्तरता दिने कांग्रेस नेताको दाबी छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले एउटै मोर्चा बनाएर चुनावमा भाग लिएका थिए । तत्कालीन लोकतान्त्रि–वाम गठबन्धनले १३६ सिट जितेको थियो । राष्ट्रपतिको निर्वाचनमा हारजितको लागि निर्णाय शक्ति रहेको माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको खण्डमा एमाले, रास्वपा र राप्रपाले समर्थन फिर्ता लिन सक्नेछ ।

अहिले एमालेको ८०, रास्वपाको १९ र राप्रपाको १४ गरी गठबन्धनमा १०३ सिट रहेको छ । यस्तो अवस्था आएको खण्डमा १४ सिट रहेको जसपा, ६ सिट रहेका जपा र एक स्वतन्त्रसहित ४ सिट रहेको नाउपा अहिलेसम्म अर्निणित रहेका छन् । सरकारलाई समर्थन गरेपनि जसपा र नाउपा सरकारमा गएको छैन । एमालेका कारण सरकार ढल्ने अवस्था आएमा जसपा, जपा र नाउपाको समर्थन आफूलाई हुने प्रचण्डले विश्वास लिएका छन् ।

संसदमा सबैभन्दा ठूलो दल रहेको कांग्रेस ‘ब्याक सपोर्ट’ कै कारण ओलीसँग अडान लिन प्रधानमन्त्रीलाई शक्ति मिलेको छ । कांग्रेससँग ९० सिट रहेको छ । एकीकृत समाजवादीसँग १० र लोसपासँग ४ सिट गरी विपक्षी गठबन्धनमा जम्मा १०४ सिट रहेको छ । माओवादीको ३२ सिटसमेत जोड्दा १३६ सिट रहनेछ । बहुमतका लागि प्रभु साहसहित जसपा, जपा र नाउपाको समर्थन आफूले पाउने विश्वास प्रधानमन्त्रीले लिएका छन् । जसपा, जपा र नाउपाको गरी तेस्रो पक्षसँग जम्मा २४ सिट रहेको छ ।

तीनै दलको समर्थन पाएमा प्रधानमन्त्री प्रचण्ड सुविधाजनक बहुमतमा रहनेछन् । तर सकेसम्म ती चुनौतीको समाना गरी सकेसम्म एमाले र कांग्रेसलाई मान्य हुने गरी साझा उम्मेदवार चयन गर्ने पक्षमा प्रधानमन्त्री रहेका बालुवाटार स्रोतको दाबी छ । राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता हुने दिनसम्म कांग्रेस र एमाले अडानबाट टसको मस नभए विकल्पमा पनि जान सकिने गरी प्रचण्डले रणनीति बनाएकाे पदाधिकारीका एक नेताले बताए ।