NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्रपतिमा ओलीको माधव कार्ड : प्रचण्ड धर्मसंकटमा, कांग्रेसमा अलमल

काठमाडौं । सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको पदाधिकारी बैठक बस्नुअघि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग भेट गरे ।

दुई शीर्ष नेताबीचको भेटमा आफूलाई ओलीबाट राष्ट्रपतिको प्रस्ताव आएको जानकारी प्रचण्डलाई गराएका थिए । ओलीबाट संस्थागत रुपमै राष्ट्रपतिको प्रस्ताव आए कसरी अघि बढ्ने भन्नेबारे प्रधानमन्त्री र नेपालबीच छलफल भएको बुझिएको छ ।

‘माधवजीलाई ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको अध्यक्षले बैठकलाई जानकारी गराउनुभयो । पहिला बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र गुरु बरालजीमध्ये एक जनालाई राष्ट्रपति बनाउनुपर्ने ओलीले प्रस्ताव गर्नुभएको रहेछ । ती नाम प्रधानमन्त्रीले अस्वीकार गर्नुभएपछि माधवजीको नाम प्रस्ताव गर्नुभएको रहेछ । यस हिसाबले राजनीति परिस्थिति जटिलतर्फ गएको उहाँको बुझाइ थियो । ओलीको कोर टिमको मान्छेलाई कुनै हालतमा राष्ट्रपति बनाउन हुँदैन भन्ने बैठकको निकर्ष छ । राष्ट्रपतिको विषयमा निर्णय लिने अधिकार बैठकले अध्यक्षलाई दिएको छ’, माओवादीका एक पदाधिकारीले भने ।

प्रधानमन्त्रीको कार्यव्यस्ताकै कारण दिउँसो साढे ४ बजे बोलाइएको बैठक ढिला गरी बसेको थियो । पदाधिकारी बैठक सारेर पोखरा विश्वविद्यालयको १८ दीक्षान्त समारोहमा भाग लिन पोखरा पुगेका प्रचण्ड नयाँ घटनाक्रम विकसित भएपछि कार्यक्रम छोट्याएर काठमाडौं फर्किका थिए ।

एमालेसँग सहकार्य सकिएको प्रचण्डको निष्कर्ष

एमालेसँगको सहकार्य लगभग बन्द भएको प्रधानमन्त्रीको निष्कर्ष रहेको छ । कांग्रेससँग नयाँ शिराबाट सहमति गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्ने प्रचण्डको आंकलन छ । परिस्थिति थप जटिल हुन सक्नेतर्फ संकेत गर्दै एक–दुई दिनमा स्पष्ट हुने उनले बैठकलाई जानकारी गराएका थिए । एक–दुई दिनको घटनाक्रम हेरेर पार्टीले आवश्यक निर्णय लिने ती पदाधिकारीको भनाइ छ । राष्ट्रपतिको विषयमा निर्णय लिने अधिकार बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले १० पुसमा एमालेसँग भएको सहमतिको उपादेयता सकिएको र नयाँ शिराबाट अघि बढ्नुपर्ने ‘ब्रिफिङ’ गरेका थिए । एक पदाधिकारीका अनुसार राष्ट्रपति बनाउने गरी ओलीबाट प्रस्ताव आए सहयोग गर्न नेपालले प्रचण्डसँग सहयोग मागेका थिए । सकेसम्म ओलीले प्रचण्डलाई गलाएर आफ्नै कोर टिमका व्यक्तिलाई राष्ट्रपति बनाउन दबाब दिने रणनीति बनाएका छन् । यदि एमालेले राष्ट्रपति गुमाउने अवस्था आए वर्तमान गठबन्धन कायमै राखि नेपाललाई अघि सार्ने ओलीको दाउ छ ।

त्यही रणनीति अनुसार प्रचण्डलाई कांग्रेससँग मिल्न नदिन ओलीले सोमबार नेपालसँग करिब ४ घण्टा गोप्य भेट गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार ओलीले नेपाललाई आफ्नै निवास बालकोट बोलाएका थिए । बालकोटमा भेट गर्न नेपालले अस्वीकार गरेपछि महाराजगंजस्थित एक नेताको घरमा भेट भएको हो ।

‘ओलीले माधव कमरेडलाई आफ्नै निवासमा भेट्न बोलाउनुभएको थियो । बालकोटमा भेट्ने ओलीको प्रस्ताव उहाँले ठाडै अस्विकार गर्नुभयो । त्यसपछि दुवै नेतालाई सहज हुनेगरी भेटवार्ताको वातावरण मिलाइएको हो’, एकीकृत समाजवादीका एक नेताको दाबी छ । भेटवार्तामा राष्ट्रपतिको निर्वाचन, पार्टी एकता, विकसित राजनीतिक घटनाक्रमलगायत विषयमा गम्भीर छलफल भएको बुझिएको छ । यसैगरी ओलीले नेपाल समाजवादीका अध्यक्ष डा.बाबुुराम भट्टराई र झलनाथ खनालसँग पनि भेट गरी राष्ट्रपतिको प्रस्ताव गरेका छन् ।

सत्ता संकटबारे प्रधानमन्त्रीको चिन्ता

एमालेसँगको सहकार्य लगभग बन्द भएको निष्कर्ष निकालेका प्रचण्डले पछिल्लो समय कांग्रेसका शीर्ष नेताहरूसँग नियमित संवादमा छन् । आइतबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका सभापति देउवासहितको टिमले कांग्रेसको उम्मेदवारलाई समर्थन औपचारिक प्रस्ताव राखिसकेका छन् । भेटवार्तामा १० पुसको घटनालाई बिर्सिएर नयाँ शिराबाट सहकार्य गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेका छन् । बालुवाटार छलफलमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिको विषयले आफ्नो सरकार ढल्ने हो कि भन्ने चिन्ता रहेको देखिन्छ ।

‘हाम्रो उम्मेदवारलाई समर्थन गर्दा कम्तिमा पनि तीन वर्ष प्रधानमन्त्री बन्ने उहाँको चाहना देखिएको छ । राष्ट्रपतिको निर्वाचनपछि जुनसुकै बेला आफ्नो सकार ढल्न सक्ने उनीमा त्रास देखिन्छ’, ती पदाधिकारीले भने, ‘त्यस्तो अवस्थामा प्रधानमन्त्रीले कांग्रेसको बलियो साथ खोज्नुभएको छ । उहाँको आशय बुझेपछि कांग्रेसका उम्मेदवारलाई समर्थन गरे उहाँको सरकार टिकाउन लिखित तमशुक गरेर दिन्छौं भनेर हामीले आश्वस्त पारेका छौं ।’

कांग्रेसको प्रस्तावलाई सकारात्मक रुपमा लिएका प्रचण्डले यस विषयमा पार्टीबाट निर्णय गराउने बताएका थिए । कांग्रेसका नेतासँगको भेटमा प्रधानमन्त्रीले रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने गरी निर्णय गरोस् भन्ने चाहना रहेको बुझिएको छ ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्रीको दौडधुप निकै बढेको छ । कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा सत्ता साझेदार दल एमाले र कांग्रेसको आ–आफ्नै अडान कायमै रहेको अवस्थामा उनी धर्म संकटमा परेका छन् । प्रचण्डको सत्ता जोगिनका लागि कांग्रेस वा एमालेको बलियो साथ चाहिन्छ । त्यसैले उनी एमाले र कांग्रेस दुवैलाई मान्य हुनेगरी राष्ट्रपतिको उम्मेदवार बताउन चाहन्छन् । १० पुसमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका उनी कांग्रेसकोसमेत विश्वासको मत पाएपछि राष्ट्रपतिको विषयमा निर्णय लिन निकै अप्ठ्रोपमा परेका छन् ।