NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताहरूको नामावली बुधबार प्रकाशित गर्ने भएको छ । राष्ट्रपति निर्वाचन यही फागुन २५ र उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।

निर्वाचन प्रयोजनका लागि आयोगले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही कार्यालयले नामावली प्रकाशन गर्नेछ ।

संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो ।
०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ । राष्ट्रपति निर्वाचनको मनोनयन मिति नजिकिए पनि उम्मेदवार टुंगो लगाउन दलहरूले सकेका छैनन् ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० मतदाता हुन्छन् । संघीय सांसदको एक मतको मतभार ७९ र प्रदेश सभा सदस्यको एक मतको मतभार ४८ छ । दुवै जोड्दा ५२ हजार ७८६ मतभार छ । कुल मतको ५० प्रतिशत कटाउने व्यक्ति राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ । कुनै उम्मेदवारले ५० प्रतिशत नकटाएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ ।

 राष्ट्रपतिको निर्वाचन कार्यतालिका

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार मतदाता नामावली प्रकासित गर्ने, १० र ११ गते मतदाता नामावली सम्बन्धमा दाबी विरोध गर्ने, ११ र १२ मा सम्बन्धिन नामवलीमाथि उजुरी दिने र छानविन गर्नेछ ।

त्यस्तै १२ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने, १३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशित गर्ने रहेको छ । १४ गते उम्मेदावरविरुद्ध उजुरी दिने, १४ र १५ गते परेको उजुरीमाथि छानविन गरी निर्णय लिने कार्यतालिका छ । १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, १६ गते उम्मेदवारी फिर्ता लिने र त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन लागि मतदाता नामावली प्रकाशित गर्ने काम आयोगले राष्ट्रपतिकै कामलाई निरन्तरता दिने गरी कार्यतालिका बनाएको छ । जसअनुसार उराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची सोही दिन प्रकाशित हुनेछ र त्यसैदिन उम्मेदवारको विरूद्ध उजुरी दिने कार्यसूची रहेको छ ।
२८ फागुनमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।