NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

के साँच्चै चिनी स्वास्थ्यका लागि हानिकारक छ ?

एजेन्सी । चिनीलाई आज स्वास्थ्यको सबैभन्दा ठूलो शत्रु मानिन्छ । आहारविज्ञदेखि डाक्टरसम्म सबैले चिनी कम खाने सल्लाह दिन्छन् । स्वास्थ्यप्रति सचेत व्यक्ति चिनी खान डराउँछन् । के वास्तवमै चिनी खानै हुन्न त ?

हाम्रो जीवनशैलीमा अहिले गुलियो र मिठो परिकार अत्यधिक समावेश भइरहेको छ । यी सबै परिकारमा चिनीको पनि समावेश छ । केही क्षणका लागि यसले मुखलाई मिठो बनाए पनि यसले तपाईको सम्रग शरीरमा भने गम्भीर प्रकारका रोग ल्यादिन सक्छ ।

भनिन्छ, जे कुरा पनि थोरै हुँदा राम्रो मानिन्छ । अर्थात चिनी पनि कम खाँदा लाभदायिक नै मानिएपनि यसको अत्यधिक सेवन भने स्वास्थ्यका लागि घातक छ । यसले मधुमेह, मोटोपन, डिप्रेसन जस्ता समस्या निम्त्याउन सक्छ ।

छालामा असर
चिनीको अत्यधिक सेवनले छालामा नराम्रो असर पर्छ । ग्लाइकेसनको प्रक्रियामा, चिनीका अणुहरू कोलाजेन फाइबरमा संलग्न हुन्छन् । यस कारण, कोलाजेन फाइबरको प्राकृतिक लोच बिस्तारै समाप्त हुन्छ । जसले छाला चाउरी पर्न थाल्छ र समयभन्दा पहिले नै बुढो देखिन थाल्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा असर
चिनीको अत्याधिक प्रयोगले रोग प्रतिरोधात्मक क्षमतामा पनि असर गर्छ । धेरै चिनी खाँदा किटाणुहरूलाई मार्ने प्रतिरक्षा प्रणालीको क्षमता ४० प्रतिशतसम्म कम हुन्छ। यसले स्मरण शक्तिसमेत घटाउने गरेको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक व्यक्तिले दिनमा ६–७ चम्चा चिनी प्रयोग गर्नुपर्छ, अर्थात् दिनमा २५–३० ग्राम मात्रै चिनी खानुपर्छ ।

चिनीको विकल्पमा के प्रयोग गर्ने ?
चिनीको विकल्पमा तपाई ब्राउन सुगर प्रयोग गर्न सक्नुहुन्छ । यसले चिनीको विकल्प पुरा गर्नुका साथै स्वास्थ्यका लागि फाइदा पनि गर्छ । ब्राउन सुगरमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम र आइरन जस्ता धेरै खनिजहरू पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ र रोगहरूलाई टाढा राख्छ ।

त्यस्तै, अर्कौ विकल्प खजुर हो । खजुर मधुमेहका बिरामीले पनि खान मिल्छ । यसलाई चिनीको सट्टा चिया वा कफीमा राखेर खान सकिन्छ । मह पनि अर्को एक चिनीको विकल्प हो । एक चम्चा चिनी भन्दा मह खानु राम्रो र फाइदाजनक हुन्छ ।