NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कहाँ–कहाँ हुँदैछ सांसद पद रिक्त?

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट निर्वाचित केही सांसदहरू पदमुक्त भएसँगै उक्त स्थान रिक्त हुने भएको छ ।

निर्वाचन भएको साढे दुई महिनामा प्रतिनिधिसभा सदस्यतर्फ दुईवटा निर्वाचन क्षेत्रमा सदस्य पद रिक्त भइसकेको छ भने एकमा फागुन २५ मा रिक्त हुनेछ ।

रिक्त भइसकेको निर्वाचन क्षेत्रमा हिमाली जिल्ला मनाङ र चितवन–२ रहेको छ । राष्ट्रपति निर्वाचनका कारण तनहुँ–१ र इलमा–२ मध्ये एक क्षेत्र रिक्त हुने सम्भावना रहेको छ ।

मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएसँगै उक्त पद स्वतः रिक्त भएको हो ।

काठमाडौंस्थित फनपार्कको जग्गा निकै सस्तो दरमा सञ्चालन गर्न दिई गुरुङले भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ । उनीसहित १४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ माघ, २०७५ मा मुद्दा दायर गरेको थियो । उनीहरूलाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रूपैयाँ बिगो मागदाबी सहित कैद सजायको माग गरिएको थियो ।

फागुन १६ मा आरोपित १४ जनामध्ये अदालतले पाँचजनालाई सफाइ दिएको थियो । गुरूङसहित ९ जनालाई दोषी ठहर गरिएको हो । दोषिउपर फागुन २५ गते सजाय तोकिने अदालतले जनाएको छ ।

गएको निर्वाचनमा एमालेका पाल्देन छेपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका थिए । गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गरेका थिए ।

यसैगरी फागुन २५ हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तनहुँ–१ का निर्वाचित सांसद रामचन्द्र पौडेल र इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्मावाङको क्षेत्रमासमेत उपनिर्वाचन हुने सम्भावना छ । दुईमध्ये एक क्षेत्रमा उपनिर्वाचन हुनेछ ।

उनीहरू दुईमध्ये राष्ट्रपतिमा निर्वाचित एकको क्षेत्रमा सदस्य पद रिक्त हुनेछ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेर निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार एकबहादुर रानालाई पराजित गरेका थिए ।

नेम्बाङले सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई जम्मा ११४ मतको अन्तरले पराजित गरेका थिए ।

अर्कोतर्फ चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएसँगै उक्त स्थान पनि उपनिर्वाचन हुने भएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामा नगएका कारण लामिछानेको पद बदर भएको थियो ।

लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा बैशाख १० मा निर्वाचन हुने आयोगले घोषणा गरेको छ ।

उपनिर्वाचन कहिले ?

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बाँकी रहेको अवस्थामा कुनै सदस्यको स्थान रित्तः भएमा उपनिर्वाचन गर्ने व्यवस्था छ । निर्वाचन सकिएको तीन महिना नबित्दै रिक्त रहेको चारवटा निर्वाचन क्षेत्रमा आयोगले उपनिर्वाचन गर्नेछ । त्यसमध्ये चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचनको मिति तोकिसकेको छ ।

मनाङको हकमा अदालतबाट पूर्णपाठ र संसद सचिवालयबाट पत्र नआइसकेका कारण उपनिर्वाचनको मिति तोकिएको छैन । आयोगका प्रवक्ता शालिगराम शर्मा पौडेलले संचद सचिवालयले उक्त स्थानमा सदस्य पद रिक्त रहेको पत्र र अदालतबाट पूर्णपाठ आएपछि आयोगले प्रक्रिया अघि बढाउने जानकारी दिए ।

‘अहिलेसम्म हामीलाई संसद सचिवालयले जानकारी दिएको छैन । अदालतबाट पूर्णपाठ पनि आइसकेको छैन,’ उनले भने, ‘यी दुईवटा प्रक्रिया पूरा भएपछि उपनिर्वाचनको मिति तय हुनेछ । अहिले हामी राष्ट्रपतिको चुनावमै व्यस्त छौं ।’