NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

विश्वमा पहिलो होली कसले खेलेका थिए ?

काठमाडाैं । फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लासका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। भारतमा अझ विशेष तरिकाले यो पर्व मनाइन्छ ।

तर के तपाईलाई थाहा छ यो पर्वसँग सम्बन्धित अन्य धेरै पौराणिक कथाहरु छन् । आज हामी तपाईलाई देवलोकमा खेलिएको पहिलो होलीको बारेमा बताउन गइरहेका छौं ।

रङको पर्व होलीको धार्मिक महत्वको कुरा गर्दा सबैभन्दा पहिले मनमा आउँछ भक्त प्रह्लाद र उनकी फुपु होलिका । पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।

हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो ।

दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

विश्वको पहिलो होली

होली पर्वको पौराणिक कथा भगवान शंकर र भगवान विष्णु दुवैसँग सम्बन्धित छ। हरिहर पुराणको कथामा भनिएको छ कि संसारको पहिलो होली देवाधिदेव महादेवले खेलेका थिए, जसमा प्रेमका देवता कामदेव र उनकी पत्नी रति उपस्थित थिए। यस कथामा भनिएको छ कि जब भगवान शंकर कैलाशमा आफ्नो समाधिमा मग्न थिए, कामदेव र रतिले तारकासुरलाई मार्न शिवलाई ध्यानबाट जगाउनको लागि नृत्य गरे।

रति र कामदेवको नृत्यले भगवान शिवको समाधि विचलित भयो, तब भगवान शंकरले आफ्नो क्रोधको आगोले कामदेवलाई जलाए। जब रतिले प्रायश्चितमा शोक गरे । दयालु भगवान शंकरले कामदेवलाई फेरि जीवित बनए । यसबाट प्रसन्न भएर रति र कामदेवले ब्रजमण्डलमा ब्रह्मभोजको आयोजना गरे, जसमा सबै देवी-देवताहरू सहभागी भए । चन्दनको टिका लगाएर रतिले उत्सव मनाए । भनिन्छ त्यो दिन फाल्गुन पूर्णिमा थियो ।

हरिहर पुराणका अनुसार ब्रह्माभोजमा भगवान शंकरले ढोल बजाए भने भगवान विष्णुले बाँसुरी बजाए । माता पार्वतीले वीणामा तरंग सृजना गरेकी थिइन् भने माता सरस्वतीले वसन्त ऋतुको रागमा गीत गाइन् ।

त्यसयता पृथ्वीमा हरेक वर्ष फागुन पूर्णिमाका दिन गीत, संगीत र रङसहित होली पर्व मनाउन थालिएको बताइएको छ ।

होलीको नियम के हो र कसरी खेलिन्छ ?

रंग वा अबीर लगाउनु अघि भगवानलाई समर्पित गर्नुपर्छ । उनीहरुको चाहना अनुसार यसो गर्न सकियो भने राम्रो हुन्छ । होलिका दहनबाट ल्याइएका भस्मले शिवलिंगको अभिषेक गर्दा पनि शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ । त्यसपछि तपाई कुनै पनि मनपर्ने रंगसँग होली खेल्न सक्नुहुन्छ। यसले मानिसमा माया र स्नेह बढाउँने विश्वास छ।

नेपालम होली

नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ । नेपालको विशेष सहरहरु काठमाडौँ, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढीलगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ ।

नेपालका गाँउहरूमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ?  होलीमा आजका युवाहरु इच्छाबिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिदैन । पछिल्लो समय भने यो विकृति विस्तारै कम हुँदै गएको छ । नेपालका मुख्य शहरहरूमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।