एमसिसी परियोजनाका लागि तनहुँका ६ स्थानीय तहको जग्गा अधिग्रहण

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका लागि तनहुँका ६ स्थानीय तहको जग्गा अधिग्रहण गरिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको मुआब्जा निर्धारण समितिको यही फागुन ११ गते बसेको पहिलो बैठकले विद्युत् प्रसारण लाइन टावरको जग निर्माणका लागि जिल्लामा आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने निर्णय गरेको हो ।
मिलेनियम च्यालेन्ज एकाउण्ट विकास समिति (एमसिए–नेपाल) ले मंगलबार एक सूचना जारी गर्दै तनहुँको आबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका,ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका क्षेत्रभित्रका विभिन्न स्थानका जग्गा अधिग्रहण गर्ने निर्णय भएको जनाएको छ ।
०७६ वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले एमसिसी परियोजनाअन्तर्गतको विद्युत् प्रसारण आयोजनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ (१) अनुसार जग्गा अधिग्रहण गरिएको हो । यसअघि यही प्रयोजनका लागि नुवाकोटमा पनि जग्गा अधिग्रहण गरिएको थियो ।
एमसिएका अनुसार, अधिग्रहण गरिएका जग्गाको नापजाँच, सर्वेक्षण, किला गाड्ने, साँध छुट्याउनेलगायत काम यही फागुन २६ गते प्राविधिक टोलीबाट हुँदैछ ।
प्रतिक्रिया