NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपति निर्वाचन सम्बन्धमा पार्टीभित्रै प्रश्न उठेपछि रास्वपाले दियो स्पष्टिकरण

काठमाडौं । आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पछिल्लो समय आलोचनाको शिकार बन्दै आएको छ ।

नागरिकता प्रकरणमा १३ माघमा सर्वोच्च अदालतले सभापति रवि लामिछानेको सांसद र मन्त्री पदमुक्त गरिदिएपछि मिडियामाथि उनले निकै आक्रोस पोखेका थिए भने न्यायालयको भूमिकामाथि प्रश्न उठाएका थिए ।

गत असारमा सञ्चारकर्म छाडेर राजनीतिमा आएका रविले दल गठन गरेको ५ महिनामै २० सिट जिताउन सफल भएका थिए । तर अमेरिकाको नागरिकता त्यागेपछि नेपालको संविधान र कानुन बमोजिम नागरिकता पुनः प्राप्तिमा प्रक्रिया नपुगेको भन्दै सर्वोच्चले उनको पार्टी र राजकीय पद खारेज गरेको थियो । अदालतको आदेशका कारण सरकारमा गएको ४२ दिनमा रवि बाहिरिएका थिए । उनी अहिले चितवन–२ मा हुने उपनिर्वाचन लागि तयारी गरिरहेका छन् ।

११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका रविलाई पुनः मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि २२ माघमा पत्रकार सम्मेलन गरी रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसयता मौन रहेका रविको पछिल्ला गतिविधि र निर्णयका कारण पार्टीभित्र र बाहिर आलोचना भएको छ ।

राजनीतिमा आएको छोटो समयमै आलोचना हुनुमा दलगत भन्दापनि रविको व्यक्तिगत निर्णय क्षमता जिम्मेवार रहेको रास्वपाकै नेताहरूको भनाइ छ ।

नागरिकता सम्बन्धी रविको सामान्य त्रुटिका कारण पार्टीसमेत विवादमा तानियो । उनले निर्वाचनअघि अमेरिकाको नागरिकता त्यागेको निस्सा सम्बन्धिन निकायलाई जानकारी दिएको भए उनको सांसद र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद जाने थिएन । तर उनले जानेर वा नजानेर कानुनी पाटोलाई बेवास्था गर्दा पार्टी र राज्यलाईसमेत क्षति पुगेको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा स्वार्थ बाझिने मन्त्रालयमा जानु र पदमुक्त भएपछि पनि पुनः दबी गर्नुले उनीमाथि नैतिक, कानुनी र संवैधानिक प्रश्न उठ्यो । यसैलाई इस्यु बनाएर दुई महिना नपुग्दै सरकारबाट बाहिरिएपछि रास्वपाका नेताहरू नै असन्तुष्ट देखिएका छन् । रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गर्यो ।

राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा रास्वपा अनिर्णयको बन्दी बन्यो । निर्वाचन आयोगले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारीको मनोनयन दर्ता समय तोकेको थियो । चुनावमा गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बने । तर रास्वपाले राष्ट्रपतिमा उम्मेदवारी नै दिएन । निर्वाचनको दिन मतदान सुरू भइसक्दासमेत मतदान गर्ने÷नगर्ने सम्बन्धमा अनिर्णित भयो । अन्तिम समयमा आएर निर्वाचन आचारसंहिता लागु भएको कारण देखाउँदै मतदानमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न निर्णय लियो । पार्टी नेतृत्वको निर्णय क्षमतामाथि केन्द्रीय सदस्यहरूले नै प्रश्न उठाए ।

‘वैकल्पिक शक्तिको रूपमा हामीलाई जनताले अनुमोदन गरेर पठाएको हो । राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरू भइसक्दासमेत पार्टीको आधिकारिक निर्णय सार्वजनिक नहुँदा हामी नै आश्र्चय भएका छौं’, केन्द्रीय सदस्य गणेश कार्कीले भने । महन्वपूर्ण विषयमा केन्द्रीय समितिले निर्णय नगरी पदाधिकारीले निर्णय गरेकोमासमेत असन्तुष्ट पोखे ।

त्यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले युवाले नेतृत्व गरिरहेका भनिएको रास्वपा र राप्रपाले राष्ट्रपति निर्वाचनमा आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ गरेकोप्रति प्रश्न उठाएका छन् ।

‘युवाले नेतृत्व गरिरहेका भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा आफ्नो धारणा धेरै ढिला गरि गर्नुले युवा क्षमताको परिक्षण गराई रहेको त छैन ?,’ रविमाथि उनले प्रश्न उठाए ।

राष्ट्रपतिको निर्वाचन सम्बन्धमा पार्टी र नेतृत्वप्रति प्रश्न तथा आलोचना चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले आधिकारिक रूपमा मुख खोलेको छ । शुक्रबार रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति चुनावको बारेमा उनले स्पष्ट रूपमा तीन वटा सवाल उठाएकाे छ।

१. हाम्रो वाचापत्रमा उल्लेख गरिएको गैर दलीय राष्ट्रपतिको अर्थ राष्ट्रिय स्वतन्त्र पार्टीको पनि नहुनु हो र पार्टीले त्यस्तो उम्मेदवार पार्टी बाहिरबाट खोज्नु पर्ने थियो । जुन अनुपातमा जनताले रास्वपालाई मत दिएका छन्, त्यो मतभारले त्यसरी प्रस्तावित व्यक्ति राष्ट्रपतिमा निर्वाचित नहुने निश्चित थियो । राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेदवार गैर दलीय हुन जरूरी त थियो नै, सोहि अनुरूप राष्ट्रिय स्थरको व्यक्तित्व पनि हुनु आवश्यक थियो । हार्ने निश्चित भएको चुनावमा त्यस्तो गैर दलीय राष्ट्रिय व्यक्तित्व पार्टीले नपाएको कुरा सत्य हो र त्यस्ता व्यक्तित्वलाई रास्वपाको मात्र उम्मेदवार बनाएर उहाँहरूको गैर दलीय छविलाई पनि असर गर्छ कि भनेर हामी यसपटक एक स्टेप ब्याक हुन बाध्य भयौँ ।

२. हाम्रो वाचापत्र अनुरूप उम्मेदवार नभएपछी हामीसँग दुइ उम्मेदवार विकल्पका रुपमा थिए । यससन्दर्भमा गणतन्त्रको सिद्दान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिस्कार गर्नु उपयुक्त थिएन । स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरुबीच भएको छलफल पछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको दबाब विना नै मतदान गर्नु भएको हो । उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ ।

३. पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित थियो । भिन्दा भिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देशसमेत जान सक्थ्यो । रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागी रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो । पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन । बाँकी अवस्थामा मतभारका आधारमा जेजति गर्न हिँडेका छौँ, हौसला आवश्यक छ र तत् अनुसार नै मार्गदर्शन गरिरहनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।