NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

उपराष्ट्रपतिमा रामसहायले यसरी मारे बाजी, यस्तो छ उनको जीवनी

काठमाडौं । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार रामसहायप्रसाद यादवले बाजी मारेका छन् । शुक्रबार भएको उपराष्ट्रपतिमा यादवले एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १४ हजार मतान्तरले पराजित गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति हुने उनी तेस्रो व्यक्ति हुन् ।

उनी निर्वाचित भएसँगै १४ वर्षपछि दोस्रो उपराष्ट्रपति पाएको छ । यसअघि २०६५ मा परमानन्द झा पहिलो उपराष्ट्रपति भएका थिए ।

उपराष्ट्रपतिमा यसरी बाजी मारे यादवले ?

मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा यादवले प्रतिनिधित्व गरेको दल जसपा तत्कालीन देउवा नेतृत्वको गठबन्धन त्यागेर एमालेसँग चुनावी तालमेल गरेको थियो । निर्वाचित पछि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए ।

१० पुसमा ओली निवास बालकोटमा भएको एमाले, माओवादीसहित ८ दलीय गठबन्धनमा जसपासमेत थियो । तर दलीय भागबण्डाप्रति असहमति जनाउँदै जसपा प्रचण्ड सरकारमा सहभागी भएन ।

मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्रालयसहित उपराष्ट्रपति जसपाले दाबी गरेको थियो । जसपाको मागमा एमाले र माओवादी असहमत भएपछि सरकारलाई दिएको समर्थन कायमै राखि सरकारमा नजाने निर्णय गर्यो । राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ८ दलीय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने निर्णय गर्यो । उक्त बैठकले उपराष्ट्रपति जसपालाई दिने सहमति भयो ।

उपराष्ट्रपति पाएसँगै जसपाबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गर्यो । यादवको उम्मेदवारीलाई लिएर एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका उम्मेदवार ममता झाले निर्वाचन आयोगमा उजुरी दिइन् ।

उजुरी पश्चात निर्वाचन आयोगले राष्ट्रपतिमा पुरूष उम्मेदवार विजयी भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग(महिला) उम्मेदवारी कायम रहनेगरी मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन थियो । तर आयोगका निर्णयलाई चुनौती दिँदै सत्ता गठबन्धनका नेताहरूले आयोगलाई दबाब दिएपछि पूर्वनिर्णयबाट आयोग पछि हट्यो । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । संविधानको यहि ‘वा’ को व्यवस्थाका कारण यादवको उम्मेदवारी कायमै रहेको आयोगको जिकिर छ ।

को हुन् नव निर्वाचित उपराष्ट्रपति ? 

यादवको जन्म वि.सं. २०१७ साउन ९ गते दिवंगत बुवा प्रसाद राय यादव र आमा सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो ।

उनी २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव थिए ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित थिए । बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक थिए ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका थिए । यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

उनले भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरे ।

सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुन् ।

राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका थिए । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भए । २०६५ मा उनी पार्टी महासचिव भए । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिन्छन् ।

यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । २०७४ सालमा बारा क्षेत्र न २ बाटै उनले चुनाव जिते । २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भए । २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भए । हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत छन् ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उनले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसकेका छन् । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् ।