NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बारा–२ बाट निर्वाचन लड्ने तयारीमा उपेन्द्र :  जित कति सहज ? यस्तो छ हिसाबकिताब

काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार दल दर्ता आह्वान गरेपछि रिक्त रहेका निर्वाचन क्षेत्रमा चुनावी चहलपहल बढेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१, उपराष्ट्रपति रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ र रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा आयोगले उपनिर्वाचनको तयारी तिव्र पारेको हो ।

निर्वाचन कार्यतालिका अनुसार चैत २० गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । चैत २१ गते उम्मेदवारबारे दाबी विरोध गर्न पाइनेछ । २२ गते उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानविन गरी निर्णय गर्नेछ । २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

बैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट जसपाका अध्यक्षसमेत रहेका पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन् । मंसिरमा भएको निर्वाचनमा यादव सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

राउतले ३५ हजार ४२ मत ल्याइ विजयी हुँदा यादवले जम्मा १६ हजार ९७९ मत पाएका थिए । बारा–२ बाट उनका अति विश्वासिला पात्र रामसहायप्रसाद यादव विजयी भएका थिए । चैत ३ मा भएको उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय विजयी भएपछि उक्त क्षेत्रबाट उपेन्द्र आफै उठ्ने तयारी गरेका जसपाका एक कार्यकारिणी सदस्यले बताए ।

‘बारा–२ बाट निर्वाचनमा उठ्न अध्यक्षजीले पनि मनसाय देखाउनुभएको छ । पार्टीले पनि उहाँ उम्मेदवार बनेमा चुनाव जित्न सहज हुने सुझाव दिएको छ । यद्यपि कसलाई उम्मेदवार बनाउने भन्ने सम्बन्धमा कुनै निर्णय भएको छैन’, ती सदस्यले भने ।

एमालेसँग तालमेल गरी तत्कालीन पाँचदलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गरेका रामसहाय झिनो मतले पराजित विजयी भएका थिए । रामसहाय १३ हजार ८२२ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाह १३ हजार ४६८ मत पाएका थिए ।

उपेन्द्रलाई चुनाव जित्न कति सहज ?

कुनै बेला मधेशका मसिहा भएको दाबी गर्ने यादव २०६२/०६३ को जनआन्दोलनपछि मधेश विद्रोहबाट राजनीतिमा स्थापित भएका नेता हुन् । माओवादीबाट राजनीति सुरू गरेका उनी २०५९ पछि मधेशी जनअधिकार फोरम संगठन बनाएका थिए । सोही संगठनबाट २०६४ को संविधानसभा निर्वाचनमा भाग लिएका उनले सप्तरी–२ र सुनरी–५ बाट अत्याधिक मतले विजयी भएका थिए । त्यतिबेला फोरमले ५४ सिट जितेर संसदको चौंथो ठूलो दल बन्न सफल भयो ।

२०७०, २०७४ को निर्वाचन जितेका यादव योपटक मधेशमा नयाँ शक्तिका रूपमा उदाएको जपाका अध्यक्ष राउतसँग पराजित भए । उनी पराजित भएपछि आफ्ना विश्वास पात्र रामसहायलाई उपराष्ट्रपति बनाएर पुनः प्रनिधिसभामा आउन चाहेका थिए । त्यही योजना बमोजिम रामसहायलाई उपराष्ट्रपति बनाउन यादव सफल भएका छन् ।

आसन्न उपनिर्वाचनमा यदि उनी बारा–२ बाट उठेको खण्डमा कांग्रेस, माओवादी सहितका दलहरूले समर्थन गर्ने संकेत दिएका छन् । तर सत्ता घटक जनमत पार्टीले यादवविरुद्ध उम्मेदवारी दिने बताएका छन् ।

‘बैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट हामीले छुट्टै उम्मेदवारी दिनेछौं । चुनावको लागि वर्तमान गठबन्धन बनेको होइन’, ती नेताले भने ।

गएको निर्वाचनमा एमालेको साथ पाएपनि जसपाका उम्मेदवारले झिनो मतले जितेका थिए । तर पार्टी अध्यक्षसमेत रहेका यादव राष्ट्रिय राजनीतिमा स्थापित नेता भएका हुनाले उनको उपस्थितिले चुनावी परिणाममा फरक पार्न सक्छ । त्यो क्षेत्र यादव बाहुल्य क्षेत्र भएकाले सामुदायीक मतसमेत आउने अपेक्षा जसपाको छ ।

गएको चुनावी परिणाम हुँदा यादवलाई निर्वाचन जित्न त्यति सजिलो छैन । मंसिर ४ मा भएको निर्वाचनमा तत्कालीन कांग्रेस, माओवादीसहित तत्कालीन पाँचदलीय गठबन्धनले जम्मा १३ हजार ४६८ मत पाएको छ । एमालेको समर्थन पाएको जसापाका उम्मेदवारले १३ हजार ८२२ मत पाएको छ । जसपाको उम्मेदवारको मतान्तर जम्मा ३५४ देखिन्छ ।

योपटक उपेन्द्र मधेश केन्द्रित दल सबै एक ठाउँमा भएपनि जसपा, लोसपा, नाउपाले उनलाई समर्थन गर्ने सम्भावना देखिँदैन । जनमत पार्टीले त उपेन्द्रविरुद्ध उम्मेदवारी दिने बताइरहेका छन् । यस्तो अवस्थामा उनलाई चुनाव जित्ने ज्यादै मुस्किल देखिन्छ । त्यसबेला गठबन्धन र विपक्षी एमालेमा नरहेका जपाका उम्मेदवारले २ हजार ७२५ मत पाएको छ । नाउपाको उम्मेदवारले १ हजार १११ मत पाएको छ ।

सत्ता पक्ष र प्रतिपक्षबाहेक बारा–२ स्वतन्त्र मत निर्णायक देखिन्छ । स्वतन्त्र उम्मेदवारले पाएको मत मात्र २९ हजार ४९१ रहेको छ भने अन्य मत ३ हजार १५५ छ । उनले निर्वाचन जित्नका लागि गठबन्धनको बलियो साथ र यसअघि स्वतन्त्र उम्मेदवारहरूले पाएको मत तान्न सके जित्ने सम्भावना बलियो देखिन्छ ।