NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अमेरिकी कम्पनीले अघि बढायो चिनियाँ जहाज मूल्यांकनको काम, कति आउला मूल्य ?

काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउण्डेड गरेका पाँचवटा चिनियाँ जहाजको मूल्यांकन प्रक्रिया अघि बढेको छ । लामो समयसम्म त्रिभुवन विमानस्थलमा थन्किएका ती जहाजको मूल्यांकनकाे काम अमेरिकी कम्पनीले सुरू गरेको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काले अमेरिकी कम्पनी एभिएसन एसेट म्यानेजमेन्ट इंकले मूल्यांकनको काम सुरू गरिसकेको जानकारी दिइन् । उनका अनुसार कम्पनीले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी पाएको छ । ‘मूल्यांकनको काम सुरू भएको एक हप्ता भयो,’ उनले भनिन्, ‘प्रतिवेदन आएपछि हामीले बिडिङ जारी गरेर विक्री प्रक्रिया अघि बढाउछौं।’

हाल निगमसँग एउटा एमए ६० र चारवटा वाइ १२ जहाज छन् । एउटा एमए ६० कोरोना महामारीमा स्वाब लिन जाँदा नेपालगञ्जमा दुर्घटनाग्रस्त भएर काम नलाग्ने भइसकेको छ । उक्त जहाजको करिब ३४ लाख ४० हजार डलर (३८ करोड रुपैयाँ) बिमाबापत निगमले लिइसकेको छ ।

यसअघि निगमले ती जहाजलाई भाडामा सञ्चालन गर्न सूचना जारी गरेको थियो । तर यसको लागि कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएपछि अर्थ मन्त्रालयले लिलाममार्फत बिक्री गर्न मूल्यांकन गर्न सुझाव दिएको थियो ।

६ वर्षमा दुई अर्ब भन्दा बढी घाटा भएको भन्दै गत २०७७ साउन १६ बाट निगमले ६ वटा चिनियाँ जहाज औपचारिक रूपमा नउडाउने घोषणा नै गरेको हाे ।

जहाज नचलाई लामो समयसम्म राख्दा उडान र यात्रुवाहक क्षमता घट्दै जान्छ । अन्ततः जहाजको मूल्य पनि घट्दै जाने पाइलटहरू बताउँछन्।

निगमको इन्जिनियरिङ विभागका पूर्व प्रमुख अच्युतराज पहाडी वार्षिक रूपमा घट्ने एउटा प्रक्रियासँगै जहाज नउडेको अवस्थामा भएका कारण पनि मूल्य थप घट्न सक्ने बताउँछन् । यद्यपी निगमका लागि यो जहाज विक्री गर्नु नै उपयुक्त रहेको उनको तर्क छ । ‘यो जहाज निजी कम्पनीलाई विक्री गर्ने हो भने मज्जाले चलाउन सक्छ । तर निगमको हकमा यो सम्भव छैन,’ उनले भने, ‘यहाँ पाइलट भर्ना हुनेवित्तिकै एयरबसमा जान हतारो भइसक्छ । राजनीतिलगायत विभिन्न कारणले पनि सम्भव रहेन । निजीले चलाउने हो भने सकिन्छ ।’

उनी सञ्चालक समिति सदस्य रहँदा ती जहाज नचलाउने निर्णय भएको थियो ।

६ वटा जहाजमध्ये निगमले दुईवटा अनुदानमा पाएको हो भने सरकारले बाँकी चार जहाज ४ अर्ब ३३ करोडमा खरिद गरेको हो । निगमको श्वेतपत्रअनुसार नेपाल सरकारले दुईवटा एमए–६० जहाजका लागि २ अर्ब ६४ करोड र चारवटा वाई १२–ई का लागि १ अर्ब ६८ करोड रुपैयाँ गरी जम्मा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको हो ।

जहाजको आम्दानीभन्दा सञ्चालन खर्च धेरै भएको, जहाजका पाटपूर्जा समयमा नपाइएको, जहाज उडाउने पर्याप्त पाइलट नभएको, इन्धन अत्यधिक खपत गर्ने, प्रशिक्षक पाउन गाह्रो भएको र चिनियाँ जहाज उडाउँदा निगमलाई २ अर्बभन्दा बढी घाटा भएको निष्कर्ष निकाल्दै ती जहाज नउडाउने निर्णय भएको हो । तर जहाज खरिद गर्नुअघि अध्ययनका लागि चीन पुगेको टोलीले भने ती जहाजहरू हाल नेपाली आकाशमा उडिरहेको ट्वीन अटर र एटिआर भन्दा राम्रो भएको प्रतिवेदन बुझाएको थियो ।

२०७१ असारदेखि आन्तरिक रुटमा उड्न थालेका चिनियाँ जहाज २०७७ साउन १५ सम्म सञ्चालनमा रहे पनि पूर्ण क्षमतामा कहिल्यै पनि उडेनन् ।