NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्तागठबन्धन दलको बुधबार बसेको बैठकबाट मन्त्रालय भागबण्डाको विषय टुंगिएपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

बिहीबार बस्ने सत्तागठबन्धनको बैठकमा दललाई दिने मन्त्रालयबारे जानकारी गराउने र त्यहीअनुसार मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, प्रधानमन्त्रीले सत्तागठबन्धनका दलहरूसँग भागबण्डाअनुसार मन्त्रीको नाम मागेका छन् ।

‘प्रधानमन्त्रीज्यूले सबै सत्तागठबन्धनका दलसँग मन्त्रीको नाम माग्नुभएको छ । प्राप्त हुनेबित्तिकै सरकार विस्तार हुन्छ,’ स्रोतले भन्यो ।

सत्तासाझेदार दलबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २–२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय पाउनेछन् ।

यद्यपि, सत्तासाझेदार दलमध्ये केहीले अझैसम्म सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिइसकेका छैनन् । कांग्रेसले मन्त्रीबारे निर्णय लिन बिहीबारका लागि पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले पार्टीभित्रका गुटलाई समेटेर मन्त्री चयन गर्ने तयारी गरेको छ । तर भागमा परेको मन्त्रालय सीमित र आकांक्षी धेरै भएकाले चयन गर्ने सकस पर्ने ठानिएको छ ।

प्रधानमन्त्री बन्दा सामेल दल सरकारबाट बाहिरिएपछि अहिले प्रचण्ड एक्लैसँग १६ मन्त्रालयको भारी छ । राष्ट्रपति निर्वाचनमा प्रचण्डले गठबन्धन बदलेपछि एमाले र राप्रपा आफ्नो समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए । त्यसअघि पुरानो सहमति पालना नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले पनि राजीनामा दिएका थिए ।