NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सेल्टरमा आश्रय लिइरहेको सुँगुर बित्यो, मानिसलाई जस्तै गरी भावुक बिदाइ !

काठमाडौं । अभियन्ताहरूले विश्वमा पशु कल्याणका कुरा गर्न थालेको अलिक लामै समय भयो । यसले एकखालको जागरण नल्याएको होइन तर  जुन मात्रामा विस्तार हुनुपर्ने हो त्यो भने अझै हुन सकेको छैन । त्यसैले ‘पशु त हो नि’ भनेर मारकाटदेखि कुटपिटसम्म ज्यादतिजन्य घटना बरोबर भइरहेका सुनिन्छन्, देखिन्छन् ।

नेपाली समाजमा पशुमध्ये पनि सबैभन्दा फोहोरी मानिन्छ, सुँगुर । कसैलाई फोहोरीका रूपमा चित्रित गर्नुपरे तपाईं–हाम्रो मुखबाट फ्याट्टै निस्किहाल्छ– कस्तो सुँगुरजस्तो ।

नेपाली समाजले हेयको दृष्टिले हेर्ने यही सुँगुर सेल्टरमा आश्रय लिइरहेका बेला अकस्मात बितेपछि मानिसलाई जस्तै गरी फूलमाला र अविर लगाएर भावुक अन्त्येष्टि गरिएको छ ।

पशु कल्याणको क्षेत्रमा काम गर्दै आइरहेको स्नेहाज केयरले ४ वर्षअघि एउटा सुँगुरको उद्धार गरेर आफ्नो सेल्टरमा राखेको थियो । स्नहाज केयरकी संस्थापक सञ्चालिका स्नेहा श्रेष्ठले त्यसलाई नाम दिएकी थिइन्, ब्ल्याकी । त्यही ब्ल्याकी बुधबार सेल्टरमा मृत अवस्थामा भेटिएपछि मानिसलाई जस्तै गरी फूलमाला र अविरले श्रद्धाञ्जली दिएर अन्त्येष्टि गरिएको हो ।

केही समयअघि क्यामेरामा कैद ब्ल्याकी ।

स्नेहाजकी संस्थापक श्रेष्ठले चार वर्षअघि हाँसो लिएर आएको सुँगुर आँशु दिएर बिदा भएको र त्यसलाई सम्मानपूर्वक बिदाइ गरिएको बताइन् ।

सुँगुरलाई श्रद्धाञ्जली दिइएको अनौठो घटनाको तस्बिर पोस्ट् गर्दै श्रेष्ठले सुँगुरको मृत्युमा आफू निकै दुःखी बनेको उल्लेख गरेकी छन् ।  ‘मेरो प्रिय बच्चा, तिमी दुनियाँको परिभाषामा जे भए पनि मेरो मुटुको टुक्रा थियौ, आँखाको नानी थियौ । गहभरी आँशु र मुटुभरि तिम्रो माया छचल्क्याउँदै भारि मनले तिमीलाई श्रदाञ्जली,’ स्नेहाले लेखेकी छन् ।

सुँगुरलाई बचाउने कुरा आफ्नो ल्याकतभन्दा बाहिरको कुरा रहेको उल्लेख गर्दै उनले यसप्रति अफसोस जनाएकी छन् । उनले लेखेकी छन्, चार बर्षअघि हामीमाझ जुन मुस्कान लिएर आएका थियौ, आज आँशुमा परिणत भएको छ । आँखै अघिल्तिर पापी दैवले तिमीलाई मेरो काखबाट खोसेर लग्यो । मिल्थ्यो भने म लड्ने थिएँ तिमीलाई पापी दैवको पञ्जाबाट खोसेर फेरि खुसीयाली फर्काउने थिएँ ।