NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

देउवा-आरजुको ‘गिरोह’ बाट फुत्किएका स्वर्णिम संसद पुग्ने सम्भावना कति ?

स्वर्णिमको मूल आधार : व्यक्तित्व, कांग्रेसभित्रको दरार र रास्वपाको लहर

काठमाडौं । कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री डा.स्वर्णिम वाग्ले ५० वर्ष लामो पुस्तौनी विरासत रहेको कांग्रेसबाट १६ चैतमा अलग भए । कांग्रेसबाट अलग भएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका उनी आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा सोही पार्टीका तर्फबाट तनहुँ–१को चुनावी मैदानमा खडा छन् ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सुरूमा वाग्ले कांग्रेसबाट टिकटका आकांक्षी थिए । तर सभापति शेरबहादुर देउवाले उनलाई रोक्न केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई अघि सारे ।

त्यसपछि नै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई म्यासेज गरेर आफू कांग्रेसमा नरहने कठोर निर्णय लिएका थिए । जसको केही समयपछि उनले फेसबुकमार्फत कांग्रेस परित्याग गरेको सार्वजनिक गरे ।

वाग्लेको यस्तो अनपेक्षित निर्णयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । उनको शान्त र शालीन विद्रोहले कांग्रेसभित्र र बाहिर दुवैतिर पक्ष/विपक्षमा बहस पैरवी भइरहेका छन् । लामो विरासत बोकेको पार्टीसँगको संलग्नता परित्याग गर्ने यो निर्णयमा नेतृत्वको कार्यशैली र व्यवहारले धकेलेको वाग्लेको भनाइ छ ।

‘देउवा–आरजु गिरोह’ को निरन्तर हेपाइ र अपमानका कारण कांग्रेसमा रहन सकिनँ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै ०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु,’ उनले उल्लेख गरेका छन् ।

२०२७/२८ सालदेखि कांग्रेसमा संलग्न आफ्नो परिवारले ०४२ को सत्याग्रह आन्दोलनमासक्रिय सहभागिता जनाएको र ०४६ सालको जनआन्दोलनमा आफू स्वयं संलग्न रहेको वाग्लेको जिकिर छ । कांग्रेससँगको उनको प्रत्यक्ष र परोक्ष संलग्नताका रहेका कारण उनी प्रतिनिधिसभा प्रवेश गर्न चाहेका थिए ।

उनको विद्रोहलाई लिएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वाग्लेलाई अस्थिर, अवसरवादी भएको आरोप लगाएका छन्।

‘उहाँलाई कांग्रेसले सबै प्लेटर्फम दियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत बनायो । तर सांसद र मन्त्री हुन पाइनँ भनेर कांग्रेसकै विरूद्ध विषबमन गर्नुभयो । उहाँमा देखिएको वौद्धिक क्षयीकरण अवसरवादबाहेक केही होइन,’ महामन्त्रीद्वयको भनाइ छ ।
विपक्षीहरूले वाग्लेको विद्रोहलाई लिएर कांग्रेसभित्र राम्रो व्यक्तित्त्वको भविष्य नभएको भन्दै मूल चुनावी एजेण्डा बनाएका छन् । वाग्लेले कांग्रेससँग विद्रोह गरी आफ्नो पार्टी प्रवेश गरेकोमा रास्वपाका सभापति रवि लामिछाने निकै हौसिएका छन् ।

चैत २० गते मनोनयन दर्ताका लागि वाग्लेसँगै तनहुँ पुगेका रविले उनलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरे । वाग्लेको अर्थतन्त्रसम्बन्धी विषय विज्ञता र परराष्ट्रसम्बन्धमा रहेको अनुभव नेपालको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वाग्लेले पनि लोकतान्त्रिक समाजवाद, नीति, सिद्धान्त लगभग कांग्रेससँग मेल खाने भएकाले आफूले रास्वपा रोजेको जिकिर गरे ।

‘यसअघि कांग्रेसले मलाई टिकट नदिएपछि एमाले र रास्वपाबाट उम्मेदवार बन्न प्रस्ताव आएका थिए । उनीहरूको प्रस्ताव मैले मानिनँ । कांग्रेसभित्रै युवा साथीहरू मिलेर देशको आर्थिक उन्नतिका लागि केही गर्नुपर्छ भन्ने ममा हुटहुटी थियो । तर १० वर्षयताको मेरो अनुभवमा नेतृत्वको कार्यशैली सच्चिने मैले कुनै छाँटकाँट देखिनँ । करिव १० वर्षको ऊर्जाशील समय त्यतिकै खेर जाने देखिएपछि म पार्टी छोड्न बाध्य भएँ,’ उनको जिकिर छ ।

वाग्लेको उपस्थिति कांग्रेस–एमालेलाई पर्नसक्छ भारी

कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेपछि सबैको चासो अहिले वाग्ले र उनी उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा छ । वाग्लेको कांग्रेससँगको विरासत जति लामो छ, तनहुँमा उति नै स्थापित इतिहास छ कांग्रेसको ।

गत फागुन २५ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त तनहुँ–१ मा कांग्रेसले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाएको छ । नेविसंघका पूर्वसभापतिसमेत रहेका उनको कांग्रेस राजनीतिसँगको आबद्धता झण्डै चार दशक पुरानो छ । भट्टराई गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा नै तनहुँ १ बाट उम्मेदवार बन्न चाहेका थिए । तर फेरि पनि पौडेल अघि सरेपछि उनले मौका पाउन सकेनन् । कांग्रेसको बलियो निर्वाचन क्षेत्रमध्ये एक यहाँ २०४८ देखि ०७४ बाहेकका बाँकी सबै निर्वाचनमा विजयी हुँदै आएको छ । ०७४ मा पनि कमजोर भएकाले कांग्रेस पराजित बनेको होइन । पूर्वमन्त्री तथा नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसक्दा उक्त क्षेत्र फुत्काएको हो । कांग्रेसको गढ मानिने तनहुँ–१ मा वाग्लेको उपस्थितिले भट्टराईलाई आफ्नो विरासत जोगाउन मुख्य चुनौती देखिएको छ । ०७४ बाहेकका चुनावमा सहजै जित निकालेको कांग्रेसका उम्मेदवार भट्टराईलाई वाग्ले भारी पर्ने विश्लेषण हुन थालेका छन् । नयाँ दल, त्यसमा पनि वाग्ले भट्टराईका लागि महँगो पर्ने नै छन् । यो क्षेत्रमा वाग्ले बलियो प्रतिस्पर्धी हुनुनमा केही आधार रहेको राजनीतिक विश्लेषकहरूको भानाइ छ ।

पहिलो त वाग्ले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त अर्थशास्त्री हुन् । उनको विषय विज्ञता, अर्थराजनीतिमा मित्रराष्ट्र शक्तिसँग बलियो सम्बन्ध भएका व्यक्तित्वका कारण वाग्लेको लोभ लाग्दो उपस्थिति रहेको छ । मंसिरमा भएको निर्वाचनमा मूल धारका सबै दलले उनलाई उम्मेदवार बनाउन हानाथाप गर्नुमा उनको व्यक्तित्वले प्रमुख भूमिका खेलेको देखिन्छ ।

दोस्रो उनले उठाएका आर्थिक एजेण्डा रहेको छ । लामोसमय संयुक्त राष्ट्रसंघका प्रमुख आर्थिक सल्लाहकार भएर काम गरेका उनीसँग खस्किँदो अर्थतन्त्र उकास्ने राम्रो अनुभव र ज्ञान रहेको छ ।

तेस्रो उनले उम्मेदवारी दिएको दल रास्वपा जनताबीच भर्खर स्थापित भएकाले परिक्षण हुन पाएको छैन । दल खोलेको पाँच महिनामै निर्वाचनमा होमिएको रास्वपाले ११ लाखभन्दा बढी लोकप्रिय मत ल्याउन सफल भएको छ । यो दलप्रति जनताको आकर्षण बढ्दो मात्रामा छ । उनी आफैपनि पहिलो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा उत्रिएका नयाँ अनुहार हुन् । उनी आफू परिक्षण हुनका लागि आम मतदातामाझ अपिल गर्ने, परिचित हुने, घुलमिल हुने र आफ्ना एजेण्डाका बारे जनतालाई बुझाउन उपयुक्त मौका पाएका छन् ।

चौंथो उनको जित्ने आधार भनेको कांग्रेसभित्रको आन्तरिक विवाद नै प्रमुख देखिन्छ । आफ्नै उम्मेदवार विरूद्ध अन्तर्घात गर्ने कांग्रेसको पुरानै रोग हो । २०७४ को निर्वाचनमा त्यही अन्तर्घातको शिकार भएका थिए वर्तमान राष्ट्रपतिसमेत रहेका कांग्रेसका उम्मेदवार पौडेल । त्यतिबेला तनहुँ–१ बाट पूर्वमन्त्री तथा नेता जोशी उम्मेदवार बन्न चाहेका थिए । तर २०४८ देखि निरन्तर जित्दै आएका पौडेल पछि हटेनन् । पौडेल–जोशी द्वन्द्वका कारण पौडेल निर्वाचनमा पराजित भए ।

पार्टीको आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको आरोपमा जोशीमाथि अनुशासनको कारवाही भयो । कांग्रेसको जनमत विभाजित हुन सक्ने डरका कारण देउवाले जोशीमाथि गरिएको कारवाही फुकुवा गरेका छन् । आफूमाथि भएको कारवाही फुकुवा भएपनि मौन बसेका जोशीले कसलाई समर्थन गर्छन भन्ने अहिलेसम्म खुल्न सकेको छैन । कांग्रेसभित्र देखिएको यही अन्तर्विरोध, रास्वपाप्रति जनताको बढ्दो लहर, वाग्लेको व्यक्तित्व र आर्थिक एजेण्डाको मुद्दालाई रास्वपाले मूल मुद्दा बनाएको देखिन्छ ।

तथापि वाग्ले बलिया प्रतिस्पर्धी भएतापनि भट्टराई आफैंमा कमजोर उम्मेदवार भने होइनन् । उनको सबैभन्दा सबल पक्ष के भने उनी वाग्लेजस्तो टुरिस्ट उम्मेदवार नभएर तनहुँमा स्थापित अनुभवी नेता हुन् । तनहुँका जनताको सुख–दुःखमा उनी लामो समयदेखि साथ साथै छन् । भट्टराईले वैशाख १० मा हुन गइरहेको यो निर्वाचनमा यसको लाभांश राम्रैसँग लिने देखिन्छ ।

भट्टराई जिल्ला तहमा लोकप्रिय र सम्भावना बोकेका नेता हुँदाहुँदै पनि परीक्षण हुन भने बाँकी छन् । अहिलेसम्म यस्तो जिम्मेवारी नरहेका फ्रेस पात्र रहेकाले मतपत्रमा छाप लगाउने बेला मतदाताले यसतर्फ गौर गरी सोच्न सक्छन् ।

सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणाको पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, पदलोलुपता, अपारदर्शी गतिविधिले इमानदार कांग्रेसी कार्यकर्ताको शिर लगातार निहुरिरहेको छ । सत्तामा गयो कि थप कलंकको टीको सिउरिहाल्ने देउवाको कार्यशैली भएकाले उनीहरू देउवाको शीघ्र वहिर्गमन चाहिरहेका छन् । यही बेला वाग्लेले गरेको शान्त विद्रोहले कांग्रेसभित्रका विवेकशील नेता कार्यकर्तामा इमानदार, क्षमतावानको हार र बदनामहरूको जित हुन गएको सन्देश नजानिँदोसँग प्रवाह भएको छ । तुलनात्मक रूपमा शिक्षित र विकेशील मतदाता बढी भएका क्षेत्रमा खडा भएकाले भट्टराईले यसको मूल्य पनि स्वाभाविक रूपमा चुकाउनुपर्नेछ ।

रास्वपाप्रति बढ्दो देशव्यापी जनलहर भट्टराईको अर्को मूल चुनौती हो । टेलिभिजन प्रस्तोताको कर्मबाट राजनीतिमा हेलिएका रवि लामिछाने नेतृत्वको दलप्रतिको आकर्षण छोटो समयमा अभूतपूर्व देखिएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उसले प्रत्यक्ष र समानुपातिक गरी २० सिटमा विजय हासिल गर्नु चानचुने कुरा थिएन । यद्यपि, नागरिकता प्रकरणमा सर्वोच्चले रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि रास्वपाको प्रतिनिधिसभाको उपस्थिति एक सिटले खस्किएर १९ मा झरेको छ । जनतामा बढ्दो रास्वपाप्रतिको आकर्षण भट्टराईका लागि फलामको चिउरा चपाएसरह हुने देखिन्छ ।

रास्वपाबाट नयाँ राजनीतिक यात्रा थालेर थप परिचय निर्माणमा जुटेका वाग्लेको पहिचान एक कुशल अर्थशास्त्रीका रूपमा छ । उनी देशभित्र मात्र नभएर विदेशमा समेत उत्तिकै पत्याइएका अर्थशास्त्री हुन् । उनको यो टावर पर्सनालिटीसामु प्रतिस्पर्धा गर्न भट्टराईलाई सजिलो पक्कै हुनेछैन ।

त्यसो त, भट्टराई अप्ठ्यारा नै अप्ठ्यारामा मात्र भने छैनन् । गठबन्धन आबद्ध दल माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले उनलाई समर्थन गर्न भन्दै आफ्ना उम्मेदवार उठाएका छैनन् । यसले उनलाई प्रतिस्पर्धाका क्रममा आइपर्ने अप्ठ्यारा सामना गर्न सहजता थपिदिने छ ।

तनहुँ १ को रोचक प्रतिस्पर्धामा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल पनि उत्रिएका छन् । उनी एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । गएको निर्वाचनमा पनि उनी काठमाडौं–६ बाट प्रतिस्पर्धामा उत्रिएका थिए । तर रास्वपाका उम्मेदवार शिशिर खनालसँग फराकिलो मतान्तरले पराजित भए ।

प्रहरी सेवामा तीस वर्ष लामो समय व्यतीत गरेका खनाल राजनीतिको सागर पार गर्न दोस्रो पटक परीक्षामा उत्रिएका हुन् । तर उनका लागि दोस्रो परीक्षा सहजभन्दा बढी अप्ठ्यारो देखिन्छ ।

को हुन् स्वर्णिम वाग्ले ?

२०४६ सालमा बूढानीलकण्ठबाट एसएलसीमा ‘बोर्ड सेकेन्ड’ भएका वाग्लेले डाक्टर र इन्जिनियर बन्ने सपना त्यागेर मानविकी संकायअन्तर्गत अर्थशास्त्र रोजे । त्यतिबेला उनले उठाएको जोखिमबाट उनका घरपरिवार र विद्यालय परिवारसमेत खुशी नदेखिएको उनले बताउने गरेका छन् । गोरखाको बुंकोटजस्तो विकट क्षेत्रमा जन्मिएका वाग्लेका लागि बूढानीलकण्ठ स्कुलमा प्रवेश पाउनु नै ठूलो अवसर थियो । तर उनले ती अवसरलाई छाडेर अर्थशास्त्रमा अध्ययन गर्ने अभिरूचि राखे र त्यसैमा अडिग रहे ।

एसएलसी. उत्तीर्णपछि उच्च शिक्षाका लागि उनले ‘लण्डन स्कुल अफ इकोनोमिक्स’मा आवेदन दिए । नाम निस्किएपछि उनी अध्ययनका लागि बेलायत गए । त्यहाँबाट ब्याचलर डिग्री लिएपछि उतै बस्ने सुविधा उनीसँग थियो । तर उनले त्यसो गरेनन्, नेपाल नै फर्किए ।
त्यहाँबाट फर्किएपछि मास्टर्स डिग्रिका लागि चर्चित विश्वविद्यालय अक्सफोर्ड र हावर्ड विश्वविद्यालयमा आवेदन दिएकोमा दुवैमा नाम निकाल्न उनी सफल भए । हावर्ड विश्वविद्यालयमा मास्टर्स डिग्री अध्ययन गर्न उनी अमेरिका गए । त्यसपछि कामको सिलसिलामा अस्टेलिया पुगेका वाग्लेले उतैबाट अर्थशास्त्रमा विद्यावारिधि गरे ।

यहीबीचमा उनले युएन एजेन्सी र विश्व बैंकमा झण्डै २० वर्ष काम गरे । संयुक्त राष्ट्रसंघका ३६ देश हेर्ने गरी प्रमुख आर्थिक सल्लाहकार रहेकै बेला उनलाई कांग्रेसबाट बोलावट भयो । योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलका अनुसार, उनले अमेरिकाको न्युयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी नियुक्त पाएका थिए । वाग्ले त्यहाँ बसेर चीन, भारत, भियतनाम, पाकिस्तान, बंगलादेशलगायत देश हेर्थे ।

युएनडीपीले न्युयोर्कस्थित मुख्यालयबाट एसिया प्रशान्त क्षेत्रअन्तर्गत ३६ देशलाई कार्यक्षेत्र बनाएको थियो । उक्त देश तथा कार्यालयको कार्यक्षेत्रअन्तर्गत उनी एसिया प्रशान्त क्षेत्रको रणनीति, नीति र साझेदारीका लागि वरिष्ठ विशेषज्ञका रूपमा कार्यरत थिए ।
यसबीचमा उनी सन् २०१४ नेपाल फर्किए । उनी ०७४ देखि ०७५ सम्म उपाध्यक्ष भएर काम गरेका थिए । त्यसअघि दुई कार्यकाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।

२०७४ र २०७९ मा भएको तीन वटै तहको निर्वाचनमा कांग्रेसले चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो । त्यसको मुख्य सदस्यमध्ये एक वाग्ले थिए । वाग्ले युएनडीपीको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर गत वर्षमात्र नेपाल आएका हुन् । उनी अहिले सर्वाङ्गीण विकास अध्ययन केन्द्र(क्ष्क्ष्म्क्) का अध्यक्षसमेत छन् ।

वाग्लेबारे के भन्छन् विज्ञ ?

अन्तर्राष्ट्रिय फोरममा राम्रो अनुभव र ज्ञान हासिल गरेका वाग्ले संसद् र मन्त्रिपरिषदमा उपस्थिति भए आर्थिक कूटनीतिलाई थप बलियो बनाउने अवसर मिल्ने विज्ञहरूको तर्क छ ।

नेपाल सरकारका पूर्वमुख्य सचिव विमल कोइरालाले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए मुलुका लागि धेरै फाइदा हुने बताए ।

‘स्वर्णिम वाग्ले एउटा राम्रो जानकार भएको विश्वासिलो अर्थशास्त्री हो । उहाँको क्षमता, दक्षता संसदले पायो भने नीति निर्माण तहमा राम्रो मद्दत पुग्छ भन्ने विश्वास छ । उहाँको उपस्थितिले संरचनागत सुधार र कार्यान्वयनमा ल्याउन दबाब दिन सकारात्मक रहन्छ । उहाँ र उहाँजस्ता मानिसहरू संसदमा आउन जरूर छ’, उनले भने ।

पूर्वअर्थमन्त्रीसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले वाग्लेबारे टिप्पणी गर्न चाहेनन् ।
‘उहाँ एउटा दल परित्याग गरेर अर्को दलमा प्रवेश गरिसक्नुभएकोले यसबारे अहिले कुनै टिप्पणी गर्न चाहन्न’, उनले भने ।

यस्तो छ २०७४ को दलगत चुनावी अंकगणित

मंसिरमा भएको निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।
समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ ।
यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ । मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।