NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रविको कमजोरी विपक्षीलाई हाइसञ्चो : बिग्रेला चुनावी माहोल ?

काठमाडौं । चितवन—२ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावको मुखैमा एकपछि अर्को गम्भीर विवादमा फसेका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहरभएपछि निर्वाचित भएको दुई महिनामै उनले सांसद पद गुमाएका थिए । वैशाख १० मा हुने उपनिर्वाचनमा उनी फेरी उम्मेदवार छन् ।

चैत २० मा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन राहदानी दुरूपयोग गरेको आरोपसम्बन्धी मुद्दा अगाडि बढाउन रविविरूद्ध मुद्दा परेको छ । सोही मुद्दा अदालतमा विचाराधिन रहेकै अवस्थामा उनका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ रकम लेनदेन विवादमा तानिए ।

आफूलाई स्वास्थ्यमन्त्री बनाउनका लागि रविका कोर टिमले २ करोड रूपयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको सहयोग मागेको अडियो सार्वजनिक भएपछि अहिले रविमाथि चौतर्फी प्रश्न उठेको छ । चुनावी अभियानमा आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका उनी श्रेष्ठको अडियोबारे निर्णय लिन बुधबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । मंगलबार बयानको क्रममा निलम्बित सांसद श्रेष्ठले आफूलाई मात्र कारवाही गरिए कोर टिमका सदस्यहरूको नाम सर्वाजनिक गरिदिने धम्की दिएपछि रवि थप अप्ठ्यारोमा परेका हुन् ।

सोमबार अडियो सार्वजनिक भए लगत्तै श्रेष्ठलाई साधारण सदस्यबाटसमेत निलम्बन गरेको जानकारी दिएका उनले ७२ घण्टाभित्र कारवाही गर्न नसके आफूलाई गढीमाईमा बली चढाउन सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । श्रेष्ठसहित कोर टिमलाई कारवाही गर्दा चुनावको मुखमा पार्टी भत्किने डर रविलाई छ । कारवाही नगरे विपक्षीसहित आम जनताले उनीमाथि प्रश्न उठाउने देखिन्छ ।

रविको कमजोरीमाथि खेल्दै प्रतिस्पर्धी

उनका प्रतिस्पर्धी कांग्रेस र एमालेले नागरिकता, राहदानी विवादलाई मूल हतियार बनाएकोमा आर्थिक अपचलन सम्बन्धी अडियो सार्वजनिक भएपछि रविविरूद्ध थप मशला पाएका छन् । यसरी धर्मसंकटमा फसेका रविले श्रेष्ठ र कोर टिममाथि सत्यतथ्य पत्ता लगाए निर्मम कारवाही नगरे निर्वाचनमा थप क्षति पुग्ने देखिन्छ । चित्तबुझ्दो खालको कारवाही प्रक्रिया अगाडि नबढाए रास्वपा नयाँ दल भएपनि व्यवहोरा पुरानै पार्टी रहेको उनीमाथि गम्भीर प्रश्नको सामना गर्नुपर्ने देखिन्छ ।

मंसिरको निर्वाचनमा झण्डै ३५ हजार मतान्तरले कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पराजित गरेका रविले योपटक कांग्रेस चिवतनका पूर्वसभापति जितनारायण श्रेष्ठले चुनौतीको समाना गर्दैछन् । श्रेष्ठ चितवन कांग्रेसका पूर्वसभापतिसमेत हुन् । उनलाई गठबन्धन दल कांग्रेससहित माओवादी, नेकपा एस, जसपा लगायतले समर्थन गरेका छन् ।

आफू स्थानीय भएको र जनताको सुखदुःखमा राम्रोसँग भिजेकाले रविलाई पराजित गर्ने उनको दाबी छ । यसअघि रविमाथि मतदाताको भ्रम रहेकाले निर्वाचन जितेको दाबी गर्दै अहिले त्यो भ्रम हटिसकेको उनको जिकिर छ । रास्वपाभित्र देखिएको आर्थिक अपारदर्शीता, रविको नागरिकता र राहदानी प्रकणलाई नै उनले चुनावी मुद्दा बनाएका छन् ।

‘अघिल्लो चुनावमा रविबारे आम जनतामा निकै भ्रम थियो । त्यो भ्रम चितवनका जनताले बुझ्दै गएका छन् । आर्थिक पारदर्शिका कुरा गर्ने उहाँले अडियो प्रकरण सार्वजनिक भएपछि के मुखले जनतामाझ भोट माग्नुहुन्छ ? नागरिकता र राहदानीमा आम जनतालाई मात्र होइन राज्यलाई नै रविले ढाँट्नुभएको छ । हामीले वर्षैंदेखि जनतासँगै बसेर राजनीति गरेकाले योपटक चुनाव जित्छौं’, श्रेष्ठले भने ।

अर्का प्रतिस्पर्धी एमालेको उम्मेदवार रामप्रसाद न्यौपानेले पनि रविको नागरिकता, राहदानी र आर्थिक अपचलनका विषयलाई नै आफ्नो चुनावी मूद्दा बनाएका छन् । चितवनका वर्तमान अध्यक्षसमेत रहेका उनले बाहिरका उम्मेदवारले चितवनका समस्या समाधान गर्न नसक्ने दावी गरेका छन् ।

‘रवि को हो भन्ने अब चितवनका जनताले बुझिसके । उहाँमाथि राहदानी जस्तो गम्भीर फौजदारी सम्बन्धी अभियोमा सर्वोच्च अदालतमा मुद्दा परेको छ । यसअघि पनि यहाँका जनताले हराएका होइनन्’, उनले भने, ‘नागरिकता प्रकरणमा उहाँको ढंग नपुगेर सांसद गुमाएका हुन् । अपराध लुकाउनका लागि योपटक चितवन–२ का मतदाताले रविलाई भोट हाल्दैनन् ।’

चितवन–२ सहित तीनवटै क्षेत्रमा कसैसँग चुनावी तालमेल नगरेको रास्वपा रवि र उनका सांसदहरूको अपारदर्शी गतिविधिका कारण क्षति पुग्न सक्ने आंकल गरिएको छ ।

राजनीतिमा आएको पाँच महिनामै २० सिट जितेको रास्वपा ११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भयो । उपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित सरकारको नेतृत्व गरेका रवि ३२ दिनै पदमुक्त भएका थिए ।

आफूमाथि गम्भीर उजुरी हुँदाहुँदै स्वार्थ बाजिने मन्त्रालयमा गएको, म्यान पावरका मालिकलाई मन्त्री बनाएको, पदमुक्त भएपछि पनि पुनः गृहमन्त्री बन्न दलका नेताहरूको घरघर चारेको, सत्ता स्वार्थका लागि सरकारलाई दिएको समर्थन कायमै राखेको लगायत अरोप पनि रविमाथि लागेकोे छ ।

यस्तो छ दलहरूको चुनावी परिणाम

मंसिरमा भएको निर्वाचन परिणाम हेर्दा रास्वपा अत्याधिक मतले अगाडि रहेको छ । चितवन–२ मा रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाए । एमालेका पोखरेलले १४ हजार ६५२ मत पाए ।

समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५, एमालेको १६ हजार ७८४, कांग्रेसको १२ हजार १३२, माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ । एसको ६१६, मंगोल नेसनल अर्गनाइजेसनको ४५६, सुशासन पार्टीको ३३०, मालेको २२०, जपाको १५५, हानेपाको १२६, नाउपाको १२४ र जनमोर्चाको १२२ रहेको छ ।

यसरी तथ्याङक हेर्दा सत्तापक्षले जम्मा २१ हजार ५५६, रास्वपा एक्लैले ३५ हजार ९४५ मत पाएको छ । त्यस्तै एमाले १६ हजार ७८४, राप्रपाले ३ हजार २१८ र अन्यले १ हजार १३२ मत पाएको छ ।