NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सचिवको लगेज काण्डपछि निगमको निर्णय : कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाइने

काठमाडौं । यात्रुका लगेज फुटाउने गरेको बारम्बारको गुनासो थेग्न नसकेपछि नेपाल वायुसेवा निगमले नयाँ व्यवस्था लागू गरेको छ । ६ वटा बुँदा सार्वजनिक गर्दै निगमले यसबारे जानकारी गराएको हो ।

उक्त व्यवस्था अनुसार विमानस्थलमा खटिने निगमका कर्मचारीले अब खल्ती भएको लुगा लगाउन पाउने छैनन् । अब उनीहरूका लागि गोजिरहित पोसाकको व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले ब्यागेज सुरक्षाका लागि कर्मचारीहरू पनि खटाएको छ ।

अबदेखि ब्यागेज सम्बन्धी गुनासो सुनाुवाइका लागि एयरपोर्टस्थित ‘ब्यागेज ह्याण्डलिङ युनिट’ लाई २४ घण्टा क्रियाशिल गराइएको छ ।

त्यस्तै ब्यागेज ओसारपसार गर्ने ट्रलिहरूमा बार तथा चेन लगाइएको छ भने वर्षाको पानीबाट जोगाउन ब्यागेज ट्रलीमा छानाको व्यवस्था गरिएको छ । योसँगै अतिरिक्त सिसिटिभीको व्यवस्थासँगै सुरक्षा निकायको निगरानी बढाइएको निगमले जनाएको छ ।

निगमका कर्मचारीबाट ब्यागेज फुटाउने गरेको समस्या पुरानै हो । केही समयअघि निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले नै गन्तव्यमा पुग्दा आफ्नो लगेज फुटाइएको अवस्थामा पाएपछि समाजिक सञ्जाल ट्वीटरमा आक्रोश पोखेका थिए । उनको आक्रोशसँगै थप आलोचित भएको निगमले यसपटक भने नयाँ व्यवस्था लागू गरेको हो ।

विमानस्थलमा सामान चोरी बढेपछि कर्मचारीलाई खल्ती नभएका लुगा उपलब्ध गराउन निगमलाई अनुरोध

दिल्ली पुगेपछि सचिवलाई निगमको फुटाइएको ब्यागेज उपहार !