NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ट्राफिक जामले काठमाडौं उपत्यकामा वार्षिक १ खर्ब १६ अर्ब ४९ करोड आर्थिक क्षति

काठमाडौं । काठमाडौं उपत्यकामा सडक जामकै कारण बर्सेनि एक खर्ब १६ अर्ब ४९ करोड आर्थिक क्षति हुने गरेको छ । जामको समयमा हुने इन्धन खपत, सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मत लागत, ट्राफिक व्यवस्थापन खर्च, वायु तथा ध्वनि प्रदूषण, सवारीसाधनको इन्जिनमा पर्ने भार, चालक र यात्रुको स्वास्थ्यमा पर्ने समस्या, दुर्घटनाजस्ता कारणलाई आधार मानेर क्षतिको यो हिसाब निस्किएको हो ।

शेरजंगबहादुर चन्द नेतृत्वको प्राविधिक टोलीले २०१९ नोभेम्बरदेखि २०२० मेसम्म ६ महिना लगाएर यसबारे अध्ययन गरेको थियो । उपत्यकामा खास जाम हुने काठमाडौंको कोटेश्वर, थापाथली, रत्नपार्क, माइतीघर, सुन्धारा, चाबहिल, कलंकी, त्रिपुरेश्वर, नयाँ बसपार्क, ललितपुरको एकान्तकुना, लगनखेल, सातदोबाटो तथा भक्तपुरको जगातीलगायत सडक क्षेत्रमा पुगेर अध्ययन गरेको थियो । अध्ययनमा डा. कृष्णभक्त दुवाल र डा. अरुण कुँवर तथा इन्जिनियरिङ अध्ययनरत १५ विद्यार्थी सहभागी थिए ।

काठमाडौं महानगरपालिकाले यो प्रतिवेदन अमेजन डटकमबाट खरिद गरेर ट्राफिक व्यवस्थापनको रणनीति बनाउँदै छ । ‘अध्ययनलाई विश्वसनीय ठानेर ट्राफिक व्यवस्थापनका लागि आधार मानेका छौँ, यसमा मेयरसाबले पनि विशेष चासो दिनुभएको छ,’ महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले भने, ‘प्रतिवेदनका आधारमा अब महानगरभित्र ट्राफिक जाम व्यवस्थापनको खोजी गरिन्छ । यसबारे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभागलगायतसँग छलफलको तयारी भएको छ ।’

जामका कारण वार्षिक दुई अर्ब ८२ करोड ७८ लाख २६ हजार पाँच सय ५० रुपैयाँबराबरको अतिरिक्त इन्धन खर्च हुने अध्ययनको निष्कर्ष छ । जामका क्रममा चालकले सवारीसाधन स्टार्टमै राख्छन् र बिस्तारै गुडाउँछन्, जसकारण इन्धन बढी खपत हुने अध्ययनले जनाएको छ । त्यस्तै, सवारीसाधनको आयु घटेर वार्षिक ३३ अर्ब १८ करोड ८१ लाख ५२ हजार तथा प्रदूषणले सात अर्ब ५० करोड ७० लाख ५० हजारको क्षति निम्त्याउने अध्ययनले देखाएको छ । जाम व्यवस्थापनका ट्राफिक जनशक्ति परिचालनमा १९ करोड १९ लाख तीन हजार तीन सय ६०, सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मतमा ३५ करोड ९७ लाख ४४ हजार र जामका क्रममा हुने घटना–दुर्घटनाबाट १२ करोड २१ लाख खर्च हुने पनि अध्ययनले देखाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।