NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यसकारण चुनाव जित्नेमा रविकै प्रतिस्पर्धी ढुक्क छैनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने निर्वाचित भएको दुई महिना ५ दिनमै पदमुक्त भए । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि १३ माघमा उनी पदमुक्त भएका हुन् ।

४ मंसिरमा भएको निर्वाचनमा रविले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले आफ्ना बलिया प्रतिस्पर्धीलाई पराजित गरेका थिए । नागरिकता सम्बन्धी सानो त्रुटीका कारण दोस्रोपटक चुनावी मैदानमा उत्रिएका उनी अहिले मतदाताको घर–घरमा मत माग्न व्यस्त छन् ।

यसअघि निसर्त अत्याधिक मत दिएर विजयी गराएका चितवनबासीले योपटक रविमाथि केही प्रश्न उठाएका छन् । अत्याधिक मतसहित प्रतिनिधि चुनेर पठाएको तीन महिना नपुग्दै फेरी मत माग्न आफ्नो घरआगनमा आएका उनलाई राजनीति परिपक्वकता देखाउन, देशको नियम र कानुन पालना गर्न सुझाव दिएका छन् । आम मतदाताबीच आफ्ना कमजोरी स्वीकारेका उनले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएका छन् । पहिलेको भन्दा बढी मतले चुनाव जित्नेमा उनी ढुक्क छन् । यद्यपि योपटक रविमाथि राजनीति, कानुनी, संवैधानिक र नैतिक प्रश्न धेरै उठेका छन् ।

चुनाव जित्नेमा ढुक्क छैनन् उनकै प्रतिस्पर्धी

चितवन–२ लाई उपनिर्वाचनतिर धकेल्नमा जिम्मेवार रवि रहेको उनका प्रतिस्पर्धीहरूको आरोप छ । उनको लापरवाहीका कारण चितवनबासीले दुःख पाएको, राज्यकोषमा अनावस्यक व्ययभार थपेको र देशलाई ढाँटेको जस्ता मुद्दालाई विपक्षीले चुनावी एजेण्डा बनाएका छन् । तर निर्वाचन जित्नेमा रविका प्रतिस्पर्धीहरू नै ढुक्क देखिँदैनन् । बाहिर आफूले चुनाव जित्ने दाबीसहित प्रचार गरेपनि भित्रि रूपमा रविमाथि जनताको क्रेज नघटेकाले योपटक पनि सुखद परिणाम आउनेमा ढुक्क नदेखिएका हुन् ।

चितवन–२ मा अहिले गठबन्धनबाट कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ मैदानमा उत्रिएका छन् । पूर्वसभापतिसमेत रहेका श्रेष्ठ स्थानीय माझ निकै लोकप्रिय नेता हुन् । उनलाई गठबन्धनका कांग्रेससहित माओवादी, नेकपा एस, जसपाले समर्थन गरेका छन् । तर रविको बढ्दो लोकप्रियताका कारण आफूले निर्वाचन जित्नेमा उनी ढुक्क छैनन् ।

यद्यपि नागरिकता, राहदानी प्रकरणमा मुछिएको, पार्टीभित्र कोर टिमको नाममा अपारदर्शी गतिविधि गरेको, गृहमन्त्री हुँदा आर्थिक अपचलन गर्न खोजेको जस्ता कारणले योपटक रवि पराजित हुने श्रेष्ठको दाबी छ ।

‘यसअघि रविलाई जुन रूपले चितवनका मतदाताले बुझेका थिए आज त्यो पाएनन् । गलत उम्मेदवारलाई जिताउँदा दुःख पाउँदो रहेछ भन्ने यहाँका जनताले बुझेएका छन्’, उनले भने, ‘रविमाथि अहिले चौतर्फी प्रश्न उठेको छ । नागरिकता र राहदानी प्रकरणमा उहाँले राज्यलाई ढाँट्नुभएको छ । अब त्यो गल्ति यहाँका जनताले दोहोर्याउँदैनन् भन्ने मेरो विश्वास छ ।’

कांग्रेसका नेता तथा यसअघि रविका प्रतिस्पर्धी रहेका उमेश श्रेष्ठले योपटक कांग्रेसले निर्वाचन जित्ने जिकिर गरेपनि विश्वस्त देखिँदैनन् । मंसिरमा भएको निर्वाचनमा हावाहुरी आएकाले रविले चुनाव जिते पनि योपटक त्यस्तो सम्भावना नरहेको उनको भनाइ छ । तथापि चुनाव जित्नका लागि धेरै मेहनत गर्नुपर्ने उनले बताए ।

‘यसअघिको निर्वाचनमा हावाहुरी आएकाले चुनावमा म पराजित भएको हुँ । रविमाथि चितवनका जनताको भ्रम थियो । अब त्यो भ्रम उदाङ्गो भएको छ’, श्रेष्ठले भने, ‘यद्यपि हामीले चुनाव जित्न अझै ढुक्क हुने अवस्था छैन । धेरै मेहनत गर्नुपर्छ ।’

मंसिरको निर्वाचनमा वर्तमान गठबन्धनबाट चुनाव लडेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । समानुपातिकतर्फ कांग्रेस एक्लैले पाएको मत नै १२ हजार १३२ रहेको छ । माओवादी केन्द्रले ८ हजार ४०७ मत पाएको थियो । यी दुई दलको मत जोड्दा २० हजार ५३९ मत हुन्छ । चुनावी परिणामले गठबन्धन गरेपनि भोट रविलाई गएको देखिन्छ ।

यसैगरी २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार विजयी भएको एमाले योपटक पनि चुनाव जित्नेमा विश्वस्त देखिँदैन । सोही क्षेत्रबाट निर्वाचन जितेर ह्याट्रिक गरेका एमालेका नेता तथा चर्चित उम्मेदवार कृष्णभक्त पोखरेल मंसिरको निर्वाचनमा १४ हजार ६५२ मतसहित तेस्रो स्थानमा चित्त बुझाए । सो निर्वाचनमा कृष्ण भगवान नै आएपछि आफ्नो केही नलागेको उनको गुनासो थियो । यहाँको जनताले योपटक पुरानो गल्ति नहोराउने उनले विश्वास लिएका छन् । एमालेले चुनाव जित्नेमा उनी पनि विश्वस्त छैनन् ।

‘गएको निर्वाचनमा अपत्यारिलो बाढी आयो । हाव हुन्डरी आयो । कृष्ण भगवान नै चुनाव लड्न आएपछि हामी पराजित भयौं । अब त्यो भ्रम जनतामा छैन । हामी चुनाव जित्छौं । उहाँले जितेर गए भने फेरी चुनाव गर्नुपर्ने हुन सक्छ । त्यो गल्ति योपटक चितवन–२ का जनताले गर्ने छैनन्’, उनले भने ।

आफ्नो मुख्यप्रतिस्पर्धी कांग्रेस भएको बताएका उनले चुनाव जित्ने आधार पनि कांग्रेससँग मिल्दोजुल्दो देखेका छन् । रवि नागरिकता, राहदानी प्रकरण विवादमा तानिएको, अपारदर्शी आर्थिक गतिविधि गरेको र चटके राजनीति स्टनबाजी आम मतदाताले बुझेकाले एमालेले चुनाव जित्ने तर्क उनले गरे । यसअघिको निर्वाचनमा पार्टीभित्रै बाट आफूलाई असहयोग भएकाले पराजित भएको उनको तर्क छ ।

एमाले चितवनका अध्यक्षसमेत रहेका रामप्रसाद न्यौपाने रविका प्रतिस्पर्धी रहेका छन् । उनी युवामाझ निकै लोकप्रिय नेता हुन् । प्रतिनिधिसभा सदस्यमा उनी नयाँ अनुहार भएको र आफू चितवनका जनताको सुखदुःखमा सारथी रहेकाले रविलाई पराजित गर्ने उनले जिकिर गरे । इच्छाकामना र कालिकामा एमालेको भोट राम्रो भएको तथा महानगरपालिकामा चुनावी विशेष अभियान चलाएकाले आफू विजयी हुने उनको तर्क छ । उनको चुनावी मूल एजेण्ड पनि रविमाथि उठेको नैतिक, राजनीतिक, आर्थिक, कानुनी तथा संवैधानिक विवाद रहेको देखिन्छ ।

‘आफ्नो नागरिकतासमेत सम्हाल्न नसक्ने रविले चितवनका जनतालाई न्याय दिन सक्दैनन् । अघिल्लो निर्वाचनमा उनीमाथि भ्रम थियो । उहाँको सक्कली अनुहार अब सबैले बुझेका छन् । यहाँका जनताले रविलाई भोट दिँदैनन्’, उनले भने ।

उम्मेदवार न्यौपानेले चुनाव जित्ने दाबी गरिरँदा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवाली एमालेले चुनाव जित्नेमा ढुक्क छैनन् । कालिका र इच्छाकामनामा एमालेलाई राम्रो मत आउनेमा उनी विश्वस्त रहेपनि महानगरपालिकाका मतदाता रविप्रति आकर्षित भएकाले चुनाव जित्न धेरै मेहनत गर्नुपर्ने उनले बताए ।

यद्यपि यसबीचमा एमालेको ग्रासरूट अभियानले केही मतदातालाई आकर्षित गर्न सकिएपनि त्यो पर्याप्त नभएको उनको तर्क छ । तर रविबारे मतदाताको धेरै भ्रम हटेको र महानगरपालिकामा विशेष अभियान जारी रहेकाले एमालेको पक्षमा परिणाम उल्टिन सक्ने उनको अनुमान छ ।
‘हामीलाई कालिका र इच्छाकामनामा डर छैन । महानगरपालिकामा रविबारे अझै भ्रम छ । त्यो भ्रम चिर्ने प्रयास जारी राखेका छौं । महानगरपालिकाका मतदातामा रविबोर भ्रम चिर्न सक्यौं भने हामीले चुनाव जित्छौं’, उनले भने ।

रविले गरेका फटाईं र बदमासी योपटक चितवनका जनताले राम्रैसँग बुझेको उनको भनाइ छ ।

यस्तो छ पालिकागत अवस्था

भरतपुर महानगरपालिका १० वटा वडासहित कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका यो क्षेत्रमा पर्छन् । इच्छाकामना गाउँपालिका एमालेको पकडक्षेत्र हो । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित २, ३, ४, ५, ६ वडा एमालेले जितेको थियो । १ मा माओवादी केन्द्र र ७ नम्बर वडा मात्र कांग्रेसले जितेको थियो ।

यसैगरी कालिका नगरपालिकामा प्रमुख, उपप्रमुख एमालेले जितेको थियो । ११ वटा वडा रहेको यो नगरपालिकामा १, ५, ६, ७ र १० वडामा कांग्रेसले जितेको थियो । २, ४, ९ र ११ एमालेले जितेको थियो । ३ र ८ माओवादी केन्द्रले जितेको थियो । यो नगरपालिकामा कांग्रेस र एमाले प्रतिस्पर्धी देखिन्छन् ।

त्यस्तै भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले जितेको थियो । यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा पर्छ । १, २, ४, ५, १० र २९ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै ३, ११ र १२ एमालेले जितेको थियो भने ७ नम्बर वडामा गठबन्धनबाट एकीकृत समाजवादीले जितेको थियो । त्यतिबेला रास्वपा दल दर्ता नभइसकेकाले उसको वास्तविक मतदाता देखिएको छैन । मंसिरमा भएको निर्वाचनमा रास्वपाले ३५ हजार ९४५ मत पाएको थियो ।
अहिले पनि गठबन्धन दल र एमालेप्रति जनमत आकर्षित नभएकाले पहिलेको भन्दा बढी मत ल्याएर चुनाव जित्नेमा रवि ढुक्क छन् । चुनावी

माहोलमा रविप्रति जनताको क्रेजका कारण पनि रविकै पोल्टामा चुनावी परिणाम जाने सम्भावना बलियो देखिन्छ । उनीमाथि चौतर्फी नैतिक, राजनीतिक, आर्थिक, कानुनी र संवैधानिक प्रश्न उठ्दाउठ्दै पनि परम्परागत दलहरूप्रति मतदाता आकर्षित नहुनुमा उनीहरूको विगतको व्यवहार जिम्मेदवार देखिन्छ ।

पुराना दलले पटक–पटक चुनाव जितेर पनि चितवनको विकासमा दलहरूले केही नगरेको उनीहरूको गुनासो छ । अहिले आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ । उनको समन्वयमा चितवन–२ मा चुनावी अभियान जारी छ ।
शेरबहादुर देउवालाई साथ दिएर स्वर्णिम वाग्लेलाई आलोचना गरिएकोमा कांग्रेसकै मतदाताले मन पराएको देखिँदैन । यसअघि कारवाहीमा परेका नेता तथा कार्यकर्ता रविको समर्थनमा खुलिसकेकाले कांग्रेसलाई चुनाव जित्न त्यति सहज देखिँदैन ।

यसैगरी एमालेले पूर्वमन्त्री एवं नेता गोकुल बास्कोटालाई चितवनमा खटाएको छ । बास्कोटा आफैं आर्थिक विवादमा मुछिएका हुनाले रविविरूद्ध सशक्त आवाज उठाउन सकेका छैनन् । चितवनका चर्चित नेता द्वय पोखरेल र ज्ञवालीको पहलमा एमालेले योपटक विशेष चुनावी अभियान चलाएपनि मतदाता आकर्षित गर्न सकेका देखिँदैन ।

यस्ता छन् रविमाथि क्रेज नघट्नुका कारण

आफूमाथि चौतर्फी प्रश्न उठ्दा पनि रविप्रति जनताको क्रेज नघट्नुमा केही सवालहरू रहेको देखिन्छ ।

पहिलो, लामोसमय टेलिभिजनको पर्दामा ‘सिधा कुरा जनतासँग’ राजनीतिक, प्रशासनिक वेथितिमाथि आक्रामक प्रस्तुतीका कारण रवि लोकप्रिय छन् । त्यस्तै टेलिभिजनमार्फत जनजीविकाको पक्षमा लगातार खबरदारीका कारण उनले केही गर्छन् भन्ने विश्वास मतदातमा गहिरोसँग प्रभाव परेको देखिन्छ । जनताको यही सेन्टिमेन्ट बुझेका रविले यसैलाई राजनीति हतियार बनाए ।

दोस्रो, सञ्चारकर्म त्यागेर गत असारमा राजनीतिमा होमिएका थिए । उनी काठमाडौंका मतदाता हुन् । तर रविले निर्वाचन क्षेत्र चितवन–२ लाई रोज्नु राजनीति चलाखी थियो ।

पूर्वसहकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरूस्साहनको आरोपमा २७ दिन उनी चितवन प्रहरीको हिरासतमा बसेका थिए । उनलाई छुटाउनका लागि चितवनबासीले ठूलो दबाब सिर्जना गरेका थिए । देशभरीबाट सर्मथक र शुभचिन्तक चितवन आएका थिए ।

मंसिरमा उम्मेदवारी दर्ता गर्दै त्यतिबेला रविले आफूमाथि चितवनबासीले लगाएको गुन तिर्न चुनाव लड्न आएको सन्देश दिएका थिए । त्यहाँको मतदातको मन जित्नका लागि चितवनमै घरसमेत खरिद गरे । आफू निर्वाचनमा विजयी भएपनि वा पराजित भएपनि चितवनमै बसेर राजनीति गर्ने प्रतिवद्धता जनाए । उनको यही चलाखीलाई त्यहाँको जनताले विश्वास गरे ।

तेस्रो, उनी स्पष्ट बोल्छन् । गल्ति पनि तत्कालै स्वीकार गर्छन् । आम मतदाताको भावनासँग जोडिएर आफ्ना अभिव्यक्ति दिन्छन् । आफू निर्वाचित भए सांसदमात्र नभइ प्रधानमन्त्री हुने अभिव्यक्ति दिन्छन् । आफ्नो सरकार आएपछि भ्रष्टाचारी, घुसखोरी ठेगान लगाउने आक्रामक अभिव्यक्ति दिएर माहोल तताएका छन् ।

कालिका र इच्छाकामना ग्रामीण भेगमा पर्ने भएकाले रविका समर्थक केही कम देखिन्छ । तर भरतपुर महानगरपालिकामा शिक्षित र युवाहरूको बाहुल्यता बढी रहेका छन् । विशेष गरी विभिन्न काम विशेषले विदेशीका छोराछोरीले रविलाई भोट हाल्न आफ्ना आमाबुवा, आफन्त, नातेदार र छरछिमेकमा लबिङ गरेका छन् ।

चौंथो, आम मतदातामा पुराना दलप्रति राजनीति वितृष्णा बढी देखिन्छ । अघिल्ला निर्वाचनमा पटक–पटक चुनाव जितेर गएपनि चितवनबासीको समस्या समाधान गर्न नचाहेको आरोप छ । रवि आफै एक नयाँ अनुहार हुन् । उनको दल खुलेको पनि भर्खर ९ महिना पुगेको छ । उनी र उनको दल रास्वपा परिक्षण हुन पाएको छैन । त्यसैले पुराना दलहरूप्रतिको इगो भोट रविप्रति खनिएको देखिन्छ । गएको निर्वाचनको परिणाम हेर्दासमेत पुराना दलहरूले राम्रै मत पाएका छन् तर आफ्नै उम्मेदवारले पार्टीको भोटसमेत पाएको देखिँदैन । यी परिणामले रविले केही गर्छन् भन्ने विश्वास आम मतदातालाई परेको छ ।

पाँचौं, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी प्रमाणित गरेपनि चितवनका जनताले रविलाई नै साथ दिएको देखिन्छ । रविले चुनावी अभियानमा आफूविरूद्ध राज्य नै लागेकाले चितवनका जनताले साथ दिए उनीहरूको षड्यन्त्र असफल हुने बताउँदै आएका छन् । उनीमाथि लागेका नागरिकता, राहदानी प्रकरणसम्बन्धी मुद्दा आफूलाई फसाउन ल्याइएको प्रपञ्च भन्दै उनले मतदाताको मन जित्ने प्रयास गरेका देखिन्छ।

चुनावकै मुखमा सांसद ढाकाकुमार श्रेष्ठले रविको कोर टिमको हवला दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको घुस काण्ड सम्बन्धी अडियो बाहिरियो । अडियो बाहिरिएसँग उनले श्रेष्ठलाई तत्काल बर्खास्ति गरे । भ्रष्टाचार आरोप लागेका अन्य दलले बचाउ गरेको तर आफूले अडियो बाहिरिएको ७२ घण्टाभित्र कारवाही गरेर भ्रष्टचारविरूद्ध आफू निर्मम भएको सन्देश प्रवाह गरे । यस अडियो काण्डलाई पनि उनले आफूलाई फाउन ल्याइएको षड्यन्त्र भएको जिकिर गरे । रविका यी र यस्तै राजनीति चलाखीका कारण उनीमाथि यावत प्रश्न उठ्दाउठ्दै पनि जनताले साथ दिएको देखिन्छ ।