NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
वेथिति

देशभरका ८११ वनमा डढेलो, नियन्त्रणमा जुट्नुपर्ने कर्मचारी विदेश सयरमा !

काठमाडौं । यतिबेला देशभरका वन क्षेत्र डढेलोको चपेटामा परेको छ । वन तथा भू–संरक्षण विभागको पछिल्लो तथ्यांक अनुसार, मुलुकभर ८ सय ११ वटा क्षेत्रका जंगलमा आगलागी भइरहेको छ । यही कारण काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दर्ज भएको छ । तर डढेलो नियन्त्रणमा जुट्नुपर्ने, यसबारे महत्त्वपूर्ण निर्णय लिनुपर्ने निकायका जिम्मेवार अधिकारी भने विदेश भ्रमणमा निस्किएका छन् ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक देबेशमणि त्रिपाठी देशभर डढेलो फैलिरहेको संकटकालीन अवस्थामा छिमेकी देश भारतको भ्रमणमा निस्किएका हुन् । उनीसँगै विभागकी सूचना अधिकारी सवनम पाठक पनि भारत भ्रमणमा छिन् ।

त्रिपाठी कर्मचारी बोकेर भ्रमणमा हिँडेपछि कार्यवाहकको जिम्मेवारी उपमहानिर्देशक नवराज पुडासैनीले पाएका छन् । तर उनीसँग जटिल परिस्थितिमा लिनुपर्ने निर्णय गर्ने अधिकार भने छैन ।

सूचना अधिकारी पाठक विदेश भ्रमणमा जाँदा विभागसँग सम्बन्धित सूचना लिन र दिनसमेत कठिनाइ भएको छ । सूचना अधिकारीका रूपमा आफूले गर्ने कामको जिम्मेवारी अरू कसैलाई हस्तान्तरण गरेर जानुपर्नेमा उनले त्यसो नगर्दा विभागका सूचना लिन, दिन कठिनाइ भएको हो । पाठकले प्रयोग गर्दै आएको नम्बरमा फोन गए पनि उठ्दैन ।

कार्ययोजनाअनुसार काम नगरे ठूलो समस्या बन्न सक्छ डढेलो : उपमहानिर्देशक

यतिबेला विज्ञहरूले काठमाडौंकोे प्रदूषणको स्तर आकाशिएपछि सावधानी अपनाउन सुझाइसकेका छन् । हावाको प्रदूषण मापन गर्ने एयर गुणस्तर सूचक (एक्युआई) ले आइतबार नै काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको छ । काठमाडौं उपत्यकासहित विश्वभर नै वायु प्रदूषण बढ्दै गएकोएक्युआईले जानकारी दिएको छ ।

वन विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वायु प्रदूषणको मुख्य कारण डढेलो भएको स्वीकार गर्दै समस्या समाधानका लागि काम भइरहेको दाबी गरे ।

‘वन विभागले डढेलो नियन्त्रणका लागि तीन तरिकाले काम गरिरहेको छ । एउटा, यो वर्षको लागि कार्ययोजना तयार गरेर कार्यान्वयन गरिरहेका छौं । वन डढेलो व्यवस्थापन योजना भनेर कार्यान्वयनको चरणमा छ । यसभित्र जनशक्ति परिचालन, सरकार, कर्मचारी र सुरक्षा निकायका कर्मचारी परिचालन गर्ने विषय समेटिएको छ’, उनले भने ।

डढेलो नियन्त्रणका लागि समुदायको उपस्थिति थोरै भएको र जानशक्ति अभाव भएकाले समस्या आएको उनले बताए । देशभरि परिचालन भएका जनशक्ति वनरक्षक र सशस्त्र वनरक्षक पर्याप्त नभएको उनले स्वीकार गरे ।

डढेलोको कारण वायु प्रदूषणमा समस्या देखिए पनि सम्पत्ति नष्ट हुने किसिमले समस्या नदेखिएको उनले जिकिर गरे । उनका अनुसार, डढेलोको समस्या चुरे क्षेत्रका जिल्लाहरू सिन्धुली, मकवानपुर, बारा, पर्सा, रौतहट, उदयपुर र नवलपरासीमा बढी देखिएका छन् ।

समयमै कार्ययोजना अनुसार काम गर्न नसके भविष्यमा डढेलो ठूलो समस्या बन्ने उनको भनाइ छ ।

‘क्राउन फायर’ भयो भने धेरै सम्पत्ति नष्ट हुने सम्भावना रहन्छ । वन डढेलोले वायु प्रदूषणलाई सहयोग गरेको छ, यसमा हामीले ढाँट्न हुँदैन । प्रदूषण न्यूनिकरणका लागि हामी गम्भीर छौं’, उनले भने ।

कस्तो अवस्थामा हुन्छ जोखिम ?

अत्यधिक वायु प्रदूषणका कारण केही दिनयता आँखा पोल्ने, श्वास–प्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् । एक सयभन्दा माथि भएमा सबैका लागि हानिकारक रहन्छ । काठमाडौंको एक्यूआई अहिले थपघट भइरहेको छ । बिहान १७० को हाराहारीमा रहेको एक्युआई यो रिपोर्ट तयार पार्दासम्म १५१ को हाराहारीमा छ । ५१ देखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।

हाल बारा, पर्सा र चितवन राष्ट्रिय निकुञ्जहरूमा डढेलो लाग्दा निस्किएको तुँवालोे बागमती करिडोर हुँदै काठमाडौं प्रवेश गरकाले समस्या देखिएको छ । वातावरणविदका अनुसार पिएम २.५ भन्दा साना कण हावामा रहेमा त्यसले श्वासप्रश्वास माध्यमबाट रगतसम्म पुग्ने गर्छ । यसले कसैलाई तत्कालै समस्या देख्छ । दीर्घकालमा त्यसले मस्तिष्कघात, हृदयघातसमेत हुने गर्छ ।

पिएम २.५ भन्ने पर्टिकुलेट म्याटरको कन्सल्टेसन हावामा बढाउने प्रमुख माध्यम आगो भएको वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए । सडकमा उड्ने धुलो तथा सवारीसाधनबाट निस्कने धुँवाले पनि वायु प्रदूषणमा भूमिका खेलेको जानकारहरू बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष