NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रहरीका सेलिब्रेटी पूर्वअधिकारी खनाल र खरेल सांसद बन्ने दोस्रो प्रयास कति सहज ?

काठमाडौं । विभिन्न कारणले रिक्त रहेका तीन क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि आइतबार हुने उपनिर्वाचनमा नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल र डिआइजी रमेश खरेल चुनावी मैदानमा उत्रिएका छन् ।

मंसिरमा भएको निर्वाचनमा पराजित भएका यी दुवैजना फेरी दोस्रोपटक जनताको परिक्षामा उत्रिएका हुन् । खनाल अहिले तनहुँ–१ मा एमालेबाट उम्मेदवार रहेका छन् । खरेल बारा–२ मा रास्वपाबाट उम्मेदवार रहेका छन् ।

यसअघि एमालेबाट नै उम्मेदवार रहेका खनाल काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनालसँग भारी मतान्तरले पराजित भएका थिए। सुशासन पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार खरेल काठमाडौं–१ मा तेस्रो स्थानमा पराजित भएका हुन् ।

काठमाडौं–१ मा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी हुँदा दोस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहेका थिए । अहिले उनी रास्वपाबाट उम्मेदवार रहेका छन् । यी दुवै उम्मेदवारले योपटक आफूले जित्ने दाबी गर्दै आएका छन् ।

२०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका थिए । सोहि ब्याजका हुन्, रमेश खरेल । कार्यक्षमता, कार्यसम्पादन मुल्याङ्कन र सिनियरिटीको आधारमा एक नम्वरमा रहेका खनाललाई २०७४ मा ओली सरकारले आईजीपी बनाएपछि खरेलले राजीनामा दिएका थिए । खनाल ३० वर्षे प्रहरी सेवा पुरा गरी २०७८ माघमा अनिवार्य अवकास पाएका हुन् ।

प्रहरी संगठनमा रहँदा यी दुवै अब्बल, कुशल नेतृत्वको रूपमा चर्चामा रहेका अधिकारी हुन् । राजीनामा दिएपछि भ्रष्टाचारविरूद्धको अभियान्तको रूपमा चर्चित छन् । खनाल मंसिरको निर्वाचनअघि मात्र एमाले प्रवेश गरेका हुन् ।

ओली सरकारको पालामा महेश बस्नेत, किसन श्रेष्ठसँगको मिलिभगतमा जसपाका सांसद सुरेन्द्र यादव अपहरण विवादमा खनाल मुछिएका उनी विवादित भएका थिए । सेलिब्रेटी प्रहरी अफिसरका छवि बनाएका यी दुवै उम्मेदवार चुनावी मैदानमा पनि सेलिब्रेटी जस्तै देखिएका छन् ।

जित्ने अवस्था कस्तो छ ?

चुनावी मैदानमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ दल कांग्रेसले तनहुँ–१ मा आफ्नो विरासत कायमै राखि चितवन–२ मा परिणाम उल्ट्याउने तयारीमा छ ।

बारा–२ मा सत्ता घटक अर्को दल जसपाले विरासत कायमै राख्ने कसरतमा छ । तीनै क्षेत्रमा परिणाम उल्टाउने रणनीतिमा एमाले छ । रास्वपाले चितवन–२ को विरासतलाई कायमै राखि तीन क्षेत्रमा ‘क्लीन स्वीप’ बनाउने अभियानमा छ । तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धन दल र एमालेलाई रास्वपाले चुनौती दिएको छ । यद्यपि खनाल र खरेल सांसद बन्ने दोस्रो प्रयास त्यति सजिलो नरहेको अनुमान गर्न थालिएको छ ।

तनहुँ–१ बाट उम्मेदवार रहेका खनाललाई रास्वपाका वाग्ले र कांग्रेसका गोविन्द भट्टराईले चुनौती दिएका छन् । वाग्ले विश्व चर्चित अर्थशास्त्री हुन् । कांग्रेस पृष्ठभूमिका वाग्लेले भर्खरमात्र पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका हुन् । विश्व बैंक, युएनडिपीमा लामो समय काम गरेका वाग्लेसँग अर्थराजनीतिमा राम्रो ज्ञान छ ।

आफैं अब्बल उम्मेदवार रहेका उनी रास्वपामा देखिएको जनलहरले वाग्लेले जित्ने सम्भावना बलियो देखिन्छ । उनलाई कांग्रेसभित्रकै असन्तुष्ट पक्षले साथ दिएको छ । खनाललाई उम्मेदवार बनाएकोमा एमालेका असन्तुष्ट पक्षले पनि वाग्लेलाई साथ दिने सम्भावना देखिन्छ ।

यसैगरी कांग्रेसको पकेट क्षेत्र रहेको तनहुँ–१ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । मंसिरमा भएको निर्वाचनमा पौडेल २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि अहिले कांग्रेसका केन्द्रीय सदस्य भट्टराई गठबन्धनबाट उम्मेदवार छन् ।

उनलाई कांग्रेस, माओवादी, नेकपा एस लगायतका दलहरूको साथ छ । तनहुँलाई केन्द्रविन्दू बनाएर ४० वर्ष लामो राजनीति गरेका उनी पनि बलिया उम्मेदवार हुन् । गएको चुनावी परिणामले पनि भट्टराई निकै मतले अगाडि देखिन्छन् ।

२०७४ को निर्वाचनमा कांग्रेस भित्रको अन्तरकलको फाइदा उठाउँदै एमालेले यो क्षेत्रमा बाजी मारेपनि अहिले त्यो अवस्था नरहेको अनुमान गरिएको छ । त्यतिबेला निर्वाचित सांसद किसान श्रेष्ठ अहिले कांग्रेसका उम्मेदवार भट्टराईलाई जिताउन मैदानमा उत्रिएका छन् । पराजित भएको ५ महिना नै नपुगी पुन गैर राजनीति पृष्ठभूमिका खनाललाई पुनः उम्मेदवार बनाएकोमा एमालेभित्र असन्तुष्टि बढेको छ । त्यसैले संसद भवन छिर्ने खनालको दोस्रो प्रयास असफल हुने सम्भावन बलियो देखिन्छ ।

मंसिरमा भएको निर्वाचनमा दलहरूले पाएको मत परिणाम अनुसार पनि खनाल निर्वाचित हुन निकै कठिन देखिन्छ । त्यतिबेला समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ। यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ ।

मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।

यसैगरी रास्वपाका उम्मेदवार खरेलका लागि पनि संसद प्रवेश गर्ने दोस्रो प्रयास त्यति सजिलो देखिँदैन । निर्वाचनको मुखमा रास्वपाबाट उम्मेदवार रहेका उनका लागि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव र सत्ता घटककै अर्को दल सीके राउतको दल जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह मुख्य चुनौती देखिएका छन् । बारा–२ उपराष्ट्रपति रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्रसमेत हो ।

यसअघि रामसहाय १३ हजार ८२२ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । यो क्षेत्रमा यादवको बाहुल्यता रहेकाले ती भोट आफूलाई आउने यादवको विश्वास छ । कुशवाह पुरानै अनुहार भएपनि सीके राउतको पाटी जपाप्रति जनमत आकर्षित भएकाले योपटक मत प्रभावित हुने सम्भावना बलियो देखिन्छ ।

यहाँ खरेल नयाँ अनुहार भएपनि पछिल्लो समय मधेशमा पनि रास्वपाप्रति जनलहर देखिन थालेको छ । यद्यपि गठान्धन र जपाका कारण खरेलले जित्ने सम्भावन कम रहेको विश्लेषण हुन थालेको छ । त्यस्तै गएको निर्वाचनमा यहाँ स्वतन्त्र उम्मेदवारसमेत बलिया प्रतिस्पर्धी भएकाले योपटक कसले बाजी मार्छ भन्नेमा अनुमान गर्ने अवस्था देखिँदैन ।

त्यतिबेला स्वतन्त्र उम्मेदवार त्रय रामकिशोरप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, अरुणकुमार ज्ञवालीले क्रमशः ११ हजार ४३, १० हजार ७५० र ७ हजार ६९८ मत पाएका थिए । जनमत पार्टीले २ हजार ७२५ मत पाएको थियो । योपटक बारा–२ बाट स्वतन्त्रबाट १५ जनाले उम्मेदवारी दिएका छन् ।

यादवलाई कांग्रेस, माओवादी, जसपा, नेकपा एस र लोसपाले समर्थन गरेतापनि बारा–२ यादवको लागि नयाँ क्षेत्र भएको, निर्वाचनमा पराजित भएको ५ महिना नपुग्दै पुनः सांसद बन्न खोजेको, पटक–पटक सांसद र मन्त्री भएरपनि मधेशलाई मागी खाने भाँडो बनाएको आरोप छ ।

यहाँ समानुपातिकतर्फ जसपाले १३ हजार २४२ पाएको छ । कांग्रेसको ११ हजार १७९, एमालेको ९ हजार १९३, जपाको ८ हजार ८४६, लोसपाको ४ हजार २३५, नाउपाको ३ हजार ७९४, माओवादीको ३ हजार २६५ र नेकपा एसको १ हजार ४५५ मत रहेको छ । अघिल्लो मतपरिणाम हेर्दा यादव समर्थित गठबन्धन दलको जम्मा मत ३३ हजार ३७६ मत रहेको छ ।