NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यी हुन् मूख्य प्रतिस्पर्धी उम्मेदवार, जसले आफैलाई मतदान गर्न पाउने छैनन्

काठमाडौं । विभिन्न कारणले रिक्त रहेको तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार निर्वाचन जारी छ ।

निर्वाचनमा मुख्य दलका उम्मेदवारसहित ६९ जना चुनावी मैदानमा उत्रिएका छन् । तर उपनिर्वाचनमा भाग लिएका मूख्य दलका उम्मेदवारहरू नै आफैलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

तनहुँ–१ मा ९ जना उम्मेदवार रहेकामा कांग्रेसका गोविन्द भट्टराई र राप्रपाका शोभा गुरुङले मात्र मतदान गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसरी आफैलाई मतदान गर्न नपाउने उम्मेदवारहरूमा सत्ता गठबन्धनबाट बारा–२ का उम्मेदवार उपेन्द्र यादव रहेका छन् । त्यस्तै सत्ता समर्थक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ का उम्मेदवार रवि लामिछाने, एमालेका उम्मेदवार रामप्रसाद न्याैपानेले पनि मतदान गर्न पाउने छैनन् । त्यस्तै तनहुँ–१ का उम्मेदवार रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले र सुशासन पार्टीका अध्यक्षसमेत रहेका बारा–२ का रमेश खरेलले पनि आफैलाई मतदान गर्न पाउने छैनन् ।
यसैगरी विपक्षी एमालेबाट तनहुँ–१ का उम्मेदवार रहेका पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि भोट हाल्न पाउने छैनन् ।

विराटनगर–१४ का स्थायी बासिन्दा रहेका यादवले मंसिरमा भएको निर्वाचनमा स्थानीय डिग्री क्याम्पस मतदान केन्द्रमा भोट हालेका थिए । त्यतिबेला उनी सप्तरी–२ बाट निर्वाचनमा उठेका थिए । यादव जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग पराजित भएका थिए ।

बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी आफै सो क्षेत्रबाट उम्मेदवार बनेका हुन् । उनलाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा(एकीकृत समाजवादी) र लोसपाले समर्थन गरेका छन् ।

लामिछाने काठमाडौंका स्थायी बासिन्दा हुन् । यसअघि उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्थित महाँकालचौर मतदान केन्द्रबाट मतदान गरेका थिए । मंसिरमा भएको निर्वाचनमा उनी चितवन–२ बाट निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पदमुक्त बनाएपछि फेरी उनी सोही क्षेत्रबाट उम्मेदवार बनेका हुन् । यसैगरी रविका प्रतिस्पर्धी रहेका एमालेका न्यौपनेको निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता नामावली रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् ।

वाग्ले पनि काठमाडौंका स्थायी बासिन्दा हुन् । कांग्रेसबाट विद्रोह गरी भर्खर रास्वपा प्रवेश गरेका उनले आफैलाई मतदान गर्न पाउने छैनन् ।

खरेलले पनि आफैलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली काठमाडौं–३१ स्थित कमल नेत्र छुनामुना स्कुल नयाँ बानेश्वरमा रहेको छ । यसअघि उनी काठमाडौं–१ बाट पराजित भएका थिए ।

काठमाडौंका स्थायी बासिन्दा रहेको खनालले पनि मतदान गर्न पाउने छैनन् । मंसिरमा भएको निर्वाचनमा उनी काठमाडौं–६ बाट पराजित भएका थिए ।

कानुन अनुसार मतदाता नामावली जुन केन्द्रमा रहेको छ, त्यहि क्षेत्रमा मात्र मतदान गर्न पाउने भएकाले उम्मेदवारहरूले आफैलाई मतदान गर्न नपाएका हुन् ।

तनहुँ–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, चितवन–२ का जितनारायण श्रेष्ठ र बारा–२ का एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल स्थायी बासिन्दा भएकाले उनीहरूले मतदान गर्न पाउने छन् ।

उपनिर्वाचनमा तनहुँ–१ बाट ९ जना, चितवन–२ बाट २४ जना र बारा–२ बाट ३६ जना गरी जम्मा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।