NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

देउवा–आरजुको ‘गिरोह’ बाट फुत्किएर सांसद बनेका स्वर्णिम को हुन् ?

काठमाडौं । ५० वर्ष लामो कांग्रेससँगको पारिवारिक विरासतलाई विट मार्दै उपनिर्वाचनको मुखमा  भर्खर खुलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्यमा सानदार जित हात पारेका छन् ।

कांग्रेसभित्र सबै सम्भावनाको अन्त्य भएको निष्कर्ष निकाल्दै रास्वपा प्रवेश गरेर उनले जीवनमा  ठूलो जोखिम मोलेका थिए । आफ्नो तीन पुस्ता हुर्किको पार्टीबाट अलग हुने उनको जुन किसिमको अलोकप्रिय निर्णय गरे, त्यसरी नै मतदाताले उनलाई लोकप्रिय मत दिएर प्रतिनिधिसभा सदस्यमा अनुमोदन गरेका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा आफ्ना अग्रज नेता रामचन्द्र पौडेलको आँगनमा आफ्नै युवा नेता गोविन्द भट्टराईलाई १४ हजार बढी फराकिलो मतान्तरले पराजित गरी संसदको यात्रा तय गरेका हुन् । निकटतम् द्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।

३४ हजार ९१८ मतसहित वाग्ले विजयी हुँदा भट्टराईले २० हजार १२२ मत पाए । वाग्लेले कांग्रेससहित एमालेकोसमेत लोकप्रिय मत पाएका छन् । संसदमा उनको गर्विलो उपस्थितिले संकटग्रस्त नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महत्वपूर्ण भूमिका रहने विज्ञहरूले विश्वास गरेका छन् ।

यस्तो छ उनको जीवनी

२०४६ सालमा बूढानीलकण्ठबाट एसएलसीमा ‘बोर्ड सेकेन्ड’ भएका वाग्लेले डाक्टर र इन्जिनियर बन्ने सपना त्यागेर मानविकी संकायअन्तर्गत अर्थशास्त्र रोजे । त्यतिबेला वाग्लेले उठाएको जोखिमबाट उनका घरपरिवार र विद्यालय परिवारसमेत खुशी नदेखिएको उनले बताउने गरेका छन् । गोरखाको बुंकोटजस्तो विकट क्षेत्रमा जन्मिएका वाग्लेका लागि बूढानीलकण्ठ स्कुलमा प्रवेश पाउनु नै ठूलो अवसर थियो । तर उनले ती अवसरलाई छाडेर अर्थशास्त्रमा अध्ययन गर्ने अभिरूचि राखे र त्यसैमा अडिग रहे ।

एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि उनले ‘लण्डन स्कुल अफ इकोनोमिक्स’मा आवेदन दिए । नाम निस्किएपछि उनी अध्ययनका लागि बेलायत गए । त्यहाँबाट ब्याचलर डिग्री लिएपछि उतै बस्ने सुविधा उनीसँग थियो । तर उनले त्यसो गरेनन् नेपाल नै फर्किए ।

त्यहाँबाट फर्किएपछि मास्टर्स डिग्रिका लागि चर्चित विश्वविद्यालय अक्सफोर्ड र हावर्ड विश्वविद्यालयमा आवेदन दिएकोमा दुवैमा नाम निकाल्न उनी सफल भए । हावर्ड विश्वविद्यालयमा मास्टर्स डिग्री अध्ययन गर्न उनी अमेरिका गए । त्यसपछि कामको सिलसिलामा अस्टेलिया पुगेका वाग्लेले उतैबाट अर्थशास्त्रमा विद्यावारिधि गरे ।

यहीबीचमा उनले युएन एजेन्सी र विश्व बैंकमा झण्डै २० वर्ष काम गरे । संयुक्त राष्ट्रसंघका ३६ देश हेर्ने गरी प्रमुख आर्थिक सल्लाहकार रहेकै बेला उनलाई कांग्रेसबाट बोलावट भयो । योजना आयोगका पूर्वउपाध्यक्ष डा। गोविन्द पोखरेलका अनुसार, उनले अमेरिकाको न्युयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी नियुक्त पाएका थिए । वाग्ले त्यहाँ बसेर चीन, भारत, भियतनाम, पाकिस्तान, बंगलादेशलगायत देश हेर्थे ।

युएनडीपीले न्युयोर्कस्थित मुख्यालयबाट एसिया प्रशान्त क्षेत्रअन्तर्गत ३६ देशलाई कार्यक्षेत्र बनाएको थियो । उक्त देश तथा कार्यालयको कार्यक्षेत्रअन्तर्गत उनी एसिया प्रशान्त क्षेत्रको रणनीति, नीति र साझेदारीका लागि वरिष्ठ विशेषज्ञका रूपमा कार्यरत थिए ।
यसबीचमा उनी सन् २०१४ नेपाल फर्किए । उनी ०७४ देखि ०७५ सम्म उपाध्यक्ष भएर काम गरेका थिए । त्यसअघि दुई कार्यकाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।

२०७४ र २०७९ मा भएको तीन वटै तहको निर्वाचनमा कांग्रेसले चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो । त्यसको मुख्य सदस्यमध्ये एक वाग्ले थिए । वाग्ले युएनडीपीको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर गत वर्षमात्र नेपाल आएका हुन् । उनी अहिले सर्वाङ्गीण विकास अध्ययन केन्द्रका अध्यक्षसमेत छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष