NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

उपनिर्वाचको रूझान: परम्परागत दललाई ठूलो धक्का, नयाँको परिक्षण

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको रुझान हेर्दा परमम्परागत दल कांग्रेस र एमालेलाई ठूलो धक्का लागेको छ । विभिन्न कारणले रिक्त रहेको तीन क्षेत्रमध्ये तनहुँ–१ र चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले परम्परागत दलका मुख्य प्रतिस्पर्धीमाथि सानदार जित हात पारेको छ ।

कांग्रेसको विरासत बोकेको तनहुँ–१ मा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भए । एमालेको गढ मानिएको चितवन–२ मा सभापतिसमेत रहेका रवि लामिछानेले दोस्रोपटक भारी मतान्तरले विजयी भए ।

मंसिरमा भएको निर्वाचनमा २० सिट जितेको रास्वपाले उपनिर्वाचनमा थप एक सिट जित्न सफल भएको छ । दल खोलेको ५ महिनामै रास्वपाप्रति देखिएको जनलहरले परम्परागत दललाई यथास्थितिमा आगामी राजनीति यात्रा चुनौतीपूर्ण रहेको संकेत दिएको छ ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका रवि उपनिर्वाचनमा पराजित नभएपनि अलोकप्रिय मत ल्याउने कांग्रेस र एमालेको निष्कर्ष थियो । तर परम्परागत दलहरूको अनुमानविपरित यसअघिको मतभन्दा थप ४ हजार ८७६ बढी मत ल्याइ विजयी भए । उनले अघिल्लोपटक आफैले पाएको मत र मतान्तरलाई तोड्दै योपटक मतसंख्या बढाएका हुन् । मंसिरको निर्वाचनमा रविले ४९ हजार ३०० मत पाएका थिए ।

प्रतिस्पर्धीसँगको मतान्तर ३४ हजार ३१२ रहेको थियो । योपटक मतान्तर बढाएर उनले ४२ हजार ९६२ बनाए । मंगलरबार सकिएको मतगणनामा रवि ५४ हजार १७६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २१४ मत पाए ।

यसैगरी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । रविलाई सके धुलो चटाउने नसके विगतको मतान्तर घटाउने दाबी गरेका कांग्रेस र एमालेका उम्मेदवाले अघिल्लो पटक पाएका जनमतसमेत जोगाउन सकेनन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । अघिल्लोको तुलनामा योपटक कांग्रेसका उम्मेदवारले ३ हजार ७७४ मत घटाए । यसैगरी एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएकोमा योपटक ३ हजार ७१६ मत घटाए । अघिल्ला तीनवटा निर्वाचनमा पोखरेल लगातार निर्वाचित भएका थिए ।

माथिको तथ्यले रवि थप शक्तिशाली बन्दै गएको देखाउँछ भने कांग्रेस र एमाले झन कमजोर बन्दै गएको देखाउँछ । यस्तै हविगत कांग्रेसको परम्परागत गढ भनिएको तनहुँ–१ मा देखियो । २०७४ को निर्वाचनबाहेक २०४८ देखि लगातार कांग्रेसले जित्दै आएको यहाँ भर्खर पार्टी परित्याग गरेका विद्रोही नेता डा. स्वर्णिम वाग्लेले १४ हजार बढी मतसहित गोविन्द भट्टराईलाई पराजित गरे ।

वाग्लेले ३४ हजार ९१९ मत ल्याइ विजयी हुँदा भट्टराईले २० हजार १२२ मत पाए । एमालेका सर्वेन्द्र खनालले अघिल्लोपटक एमालेले पाएको जनमतसमेत बचाउन सकेनन् । उनी ८ हजार ४८८ मतसहित तेस्रो स्थानमा खुम्चिए । मंसिरमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३१८ मतसहित विजयी भएका थिए । एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए ।

चुनावी परिणमाबारे के भन्छन् कांग्रेस–एमालेका नेताहरू ?

यो परिणामले विगतमाजस्तो जनता परम्परागत दलको गोटी नभइ परिवर्तन चाहेको देखाउँछ । यद्यपि चुनावी परिणामबारे कांग्रेस र एमालेका शीर्ष नेताहरूले प्रतिक्रिया दिएका छैनन् । यसबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्लान् नै ।

चुनावी परिणामबाट पाठ सिकेर गम्भीर समीक्षा गरी अघि बढ्नुपर्नेमा कांग्रेस र एमालेभित्र नेताहरूले आवाज उठाउन थालेका छन् ।
कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनभावना अनुसार दलहरू सच्चिएर अगाडि नबढे आगामी यात्र चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

‘हामीले जनादेशलाई मान्नुपर्छ । नयाँ भनिएका दल र तीनका नेतामाथि प्रशस्त प्रश्ने उठेका भएपनि जनताले त्यसलाई अस्वीकार गरेको देखियो । उनीहरू लोकप्रिया भएर भन्दापनि पुराना दलका नेताहरूको कार्यशैलीप्रति देखिएको वितिष्णाको प्रतिविम्व हो । अब आफूलाई करेक्सन गरे अगाडि बढ्नुको कुनै विकल्प छैन’, उनले भने ।

यसैगरी कांग्रेसका अर्का नेता जीवन परियारले रविमाथि नैतिक, कानुनी र संवैधानिक प्रश्नै प्रश्न भएकाले उनको वास्तविकता जनताले केही समयमा बुझ्ने बताए ।

‘नयाँ भनिएका दल र तिनका नेताहरूले भ्रमको खेती गरेका छन् । मिडियामार्फत राजनीति स्टन्टबाजी गरेका छन्’, उनले भने, ‘रविमाथि लागेका आरोप हामीमाथि लागेका भए धेरै आलोचना सहनु पथ्र्यो तर उनलाई आँखा चिम्लिएर समर्थन गरेको देखियो । रविको भ्रमको खेती मिडिायाले पनि बुझ्न जरूरी छ ।’

यस्तै एमाले नेता द्वय कृष्णभक्त पोखरेल र देवी ज्ञवाली रविमाथि जनताको भ्रम कायमै रहेकाले जनमत उल्टिएको जस्तो देखिएपनि धेरै समय नटिक्ने प्रतिक्रिया दिए ।

‘यी बेमौसमी भेल हो । यसो भन्दैमा प्रतिस्पर्धा नभएको होइन । रविलाई भागवानको रूपमा बुझ्दा जनमत उल्टिएको जस्तो देखिएको हो’, उनीहरूले भने, ‘एक दुईवटा निर्वाचन जित्दैमा आत्तिने अवस्था छैन । केही समयमा जनताले नयाँ भनिएका दल र नेताको वास्तविकाता जनताले बुझ्ने छन् । यस विषयमा पार्टीभित्र गम्भीर समीक्षा गर्न जरूरी छ ।’

रविले कसरी पाए लोकप्रिय मत ?

निश्चय नै अघिल्लो पटकको तुलनामा रविमाथि नैतिक,कानुनी र संवैधानिक प्रश्न उठेका थिए । उनीमाथि उठेका यी तमाम प्रश्नलाई मूल हतियार बनाएर कांग्रेस र एमाले जनताको मन जित्ने प्रयत्न गरेका थिए ।

नागरिकता प्रकरणमा निर्वाचित भएको २ महिनामै सांसद पद गुमाका रविमाथि राहदानी दुरूपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । तर यसको कुनै प्रवाह नगरी एक्लै चुनावी मैदानमा उत्रिएका रविले कांग्रेस र एमालेका प्रभावशाली उम्मेदवारलाई पाँच गुणा बढी मतले पराजित गरे ।

तर रास्वपाका नेताहरूले पुराना दलमाथि जनताको विश्वास नभएकाले विकल्प खोज्नुु स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् । रास्वपाका उपसभापति रहेका डोलप्रसाद अर्यालले आफ्नो दल र नेतामाथि राज्य सत्ताको घेराबन्दी जनताले राम्रैसँग बुझेकाले मतमार्फत त्यसको प्रतिकार गरेको उनको भनाइ ।

‘हामी कसैको भाग खोस्न आएको होइन । पुराना दलले वर्षौंदेखि गरेका वेथिति, भ्रष्टाचारको अन्त्य गरी जनताले चाहेको शासनको प्रत्याभूति दिन राजनीतिमा आएका हौं । हाम्रो पार्टीप्रति जनलहर देखेर पुराना दलहरू आतंकित भएका छन् । त्यसैले हामीलाई सिध्याउन विभिन्न षड्यन्त्र रचेका हुन् । उनीहरूको षड्यन्त्रलाई जनताले अस्वीकार गरेका हुन् ।’

नेताहरूले आ–आफ्ना तर्क पेश गरेपनि नयाँ दल र नेतृत्वप्रति जनता आकर्षित हुनुमा पुराना दलहरू नै मूख्य जिम्मेवार देखिन्छन् । नेतृत्वमाथि प्रश्न उठ्दाउठ्दै पनि नयाँ दल र तीनका नेतृत्व लोकप्रिय हुनुमा विभिन्न मनोविज्ञानले काम गरेको देखिन्छ ।

जनताको म्याण्डेटलाई पुराना दलहरूले लत्याउनु

विभिन्न कालखण्ड गरी झण्डै चार दशक राज्यसत्ता चलाएका परम्परागत मुख्य दलहरूले सत्ता र शक्तिको स्वार्थमा देश र जनताको म्याण्डेटलाई कुल्चिँदै आएकाले योपटक जनताले विकल्प खोजेको देखिन्छ ।

विशेषगरी २०४६ को राजनीति परिवर्तनपछि राज्यसत्तामा कांग्रेस, एमाले र माओवादीको हालिमुहाली रह्यो तर जनताले महशुस गर्ने गरी काम गर्न नसकेको उनीहरूको आरोप छ । ५० को दशकदेखि ८० को दशकसम्म आइपुग्दा भ्रष्टाचार, महंगी, वेरोजगारी ह्वात्तै बढ्यो । तर बेलैमा यी समस्या समाधान गर्न दलहरू असफल देखिए । ६० को दशकसम्म पुराना दलहरूले परिवर्तको बाधक राजालाई देखाएर पन्छिन खोजे । जनताले सडकबाट राजतन्त्र नै फालेर गणतन्त्र स्थापना गर्न यी नै दलहरूलाई साथ दिए ।

देशमा गणतन्त्र आउँदासमेत जनजीविका, आर्थिक समस्या, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षामा कुनै सुधार भएको उनीहरूले महशुस गरेको देखिँदैन । २००७ सालदेखि २०८० सालसम्म आइपुग्दा कांग्रेस, एमाले, माओवादीलाई पटक–पकट परिक्षण गरे । व्यवस्था परिवर्तनसँगै जनताको अवस्थामा सुधार आउनेमा विश्वास लिएका उनीहरूले पुराना दलबाट सुधार नहुने देखिएपछि विकल्प खोजेका जनमतले प्रष्ट देखाएको छ।

रास्वपाप्रति नजरअन्दाज

दल खोलेको ५ महिनामै रास्वपाले २० सिट जित्ने दलहरूले कल्पना नै गरेका थिएन । लामोसमय सञ्चारकर्ममा रहेका रवि लामिछानेबाहेक अन्य उम्मेदवार परिचित अनुहार नभएकाले चुनाव जित्न नसक्ने कांग्रेस , एमाले र माओवादीको निष्कर्ष थियो । तर मंसिरमा भएको निर्वाचनमा रास्वपाले १० लाखबढी लोकप्रिय मत ल्याइ २० सिट जितेपछि सबैलाई आश्चर्यचकित बनायो ।

राज्यशक्तिको दुरूपयोग

परम्परागत दलहरूलाई चुनौती दिँदै रास्वपा संसदको चौंथो ठूलो शक्तिका रूपमा उदाएपछि तर्सिएका दललहरूले नागरिकता, राहदानी लगायत केही नीतिगत र राजनीतिक अपरिपक्कको फाइदा उठाउँदै राज्यशक्तिले आफूमाथि दमन गर्न खोजेको विषय नेताहरूले जनतामाथि जोडतोडले उठाए । जनताले पनि रास्वपाका नेताहरूको नेताहरूलाई विश्वास गरेको चुनावी परिणमाले देखाउँछ । रास्वपा शक्तिशाली भए आफ्नो भविष्य सकिनेमा पुराना दलहरू रहेकाले रास्वपालाई समाप्त पार्न राज्यशक्तिको दुरूपयोग गरेको बुझाइ जनताको देखिन्छ ।

दलहरूप्रति वितृष्णा

रास्वपा लोकप्रिय हुनुमा उनीहरूको कामबाट प्रभावित भएर नभइ पुराना दलहरूप्रति जनताको वितृष्णा देखिन्छ । जनतामा देखिएको यहि वितिष्णाको भावनालाई क्यास गर्न सफल भएको रास्वपाले इगो भोट पाएको देखिन्छ ।

नयाँमाथि परिक्षण

पटक पटक जिताएर पठाएका आफ्ना जनप्रतिनिधिमार्फत उल्लेख्य परिवर्तनको प्रत्याभूति नपाएका उनीहरूले परिक्षणका लागि नयाँ दल र उम्मेदवारलाई रोजेको देखिन्छ । पहिलाको तुलनामा मतदाताहरूको रोजाइ युवा र नयाँ अनुहारप्रति आकर्षित देखिएको छ । त्यसकै फाइदा रास्वपाले लिएको देखिन्छ ।