NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते
वैकल्पिक शक्ति

राजनीतिमा चर्चित पूर्वसञ्चारकर्मी : रवीन्द्रले राजसंस्था बोक्दा रविलाई फाइदै फाइदा

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा आएका रवि लामिछाने र रविन्द्र मिश्र पछिल्लो पुस्ताका चर्चित पात्र हुन् । रवीन्द्र पुरातन दल राप्रपाका वरिष्ठ उपाध्यक्ष छन् । रवि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति छन् ।

यी दुवैको पृष्ठभूमि र उदेश्य सुरूमा एउटै भएपनि अहिले उदेश्य फरक रहेको देखिन्छ । नेपालमा परम्परागत मुल धारका दलहरूको विकल्पमा नयाँ लोकतान्त्रिक शक्ति निर्माण गर्ने दाबीसहित राजनीतिमा यी दुवै जाना राजनीतिमा आएका हुन् ।

खारगरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्तिको खोजि पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए । अब वामपन्थी वा कम्युनिस्टको खोल ओडेर देश विकास हुन नसक्ने भन्दै २०७२ मा भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति दल गठन गरे ।

युवा पुस्ताको नेतृत्व गर्दै तत्कालीन विवेकशील नेपालीका संयोजक रहेका उज्ज्वल थापाले वैकल्पिक शक्तिको आन्दोलनको उभार नै ल्याएका थिए । वैकल्पिक शक्तिको रापतापको बीचमा मिश्र मिसिन आए ।

२०७४ को निर्वाचनको पूर्वासन्ध्यामा साझा पार्टी खोलेका उनले पछि थापासँग एकीकरण गरी विवेकशील साझा पार्टी बनाए । वर्षैंदेखि परम्परागत दलबाट वाक्कदिक्क भएका युवा पुस्ता, विभिन्न पेशा व्यवसायमा रहेका व्यक्ति, नागरिक अगुवा, पूर्वप्रशासक, सामाजिक अभियान्ता लगायत वैकल्पिक शक्तितर्फ आकर्षित भए ।

स्थानीय, प्रदेश र संघको निर्वाचनमा शहरी क्षेत्रबाट विवेकशील साझा पार्टीले राम्रो मत पाए । निर्वाचनको प्रभाव गाउँ–गाउँसम्म युवा र शिक्षित वर्गमा पर्यो । त्यतिबेला स्थानीय तह निर्वाचनअन्तर्गत विवेकशील नेपालीबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार रहेका रज्जु दर्शनाले २३ हजार बढी मत पाएर परम्परागत दललाई चुनौती दिएकी थिइन् । वाग्मती प्रदेशमा उक्त पार्टीले तीन सिट जित्न सफल भयो । पछि यी पार्टीबीच एकीकरण हुँदा पनि राम्रो माहोल बनेको थियो ।

तर अध्यक्ष मिश्रले छद्म भेदमा पार्टीभित्र राप्रपाको पुरातनवादी सिद्धान्त(राजासहित)को बिउ रोपेर पार्टी तहनसह बनाए । २०७९ को मुखमा पार्टी नै छाडेर मिश्र राप्रपा पलायन भए । मिश्रको जस्तै हालत बाबुरामको भयो । उनले नयाँ शक्तिलाई उपेन्द्र यादवले नेतृत्व गरिरहेका संघीय समाजवादीमा लगेर विलय गराए । त्यसपछि वैकल्कि शक्तिमा गोलबन्द भएका मतदाताहरू अन्योल भएका बेला रविले नयाँ दल खेले । सबै ठूला पार्टीहरूको विकल्प खोजेकाहरूले रविकै दल रोजे । रवि संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्दै प्रतिस्पर्धाको राजनीतिमा छन् भने मिश्र संवैधानिक राजतन्त्रको वकालत गर्दै प्रतिस्पर्धाको राजनीतिमा छन् । रविन्द्रले पछिल्लो समय राजसंस्था बोक्दा रविलाई फाइदै फाइदा भएको छ ।

मिडियामा स्थापित, राजनीतिमा विस्तापित रवीन्द्र

नेपालमा सुसंस्कृत राजनीतिको जग निर्माण नगरी रूपान्तरण सम्भव नभएको निष्कर्ष मिश्रको थियो । १७ फागुन, २०७३ मा बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका थिए । मिडियामा रहँदा विकृति र विसंगतिको विषयमा विभिन्न राजनीतिक दलका नेताहरूमाथि खरो प्रश्न गरी चर्चामा रहेका उनै मिश्रलाई दुई–दुई पटक प्रतिनिधिसभा सदस्य बनाउन जनमतले अस्वीकार गर्यो । अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भए । सिंहले १० हजार ९३६ मत ल्याइ विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।
२०२४ सालमा काठमाडौंमा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालबाट अंग्रेजीमा स्नाकोत्तर गरे । यसैगरी पाकिस्तानको पञ्जाव युनिभर्सिटीबाट पत्रकारिता र लण्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका उनी लामो समय लण्डन बीबीसी नेपाली सेवाको प्रमुख भएर काम गरे ।

नाम वैकल्पिक शक्ति काम राजाको चाकडी

नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ) राष्ट्रवादी शक्तिको निर्माणको खोजी गर्दै उनी अहिले राप्रपाको शरणमा पुगेका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा साविक निर्वाचन क्षेत्रबाट चुनाव लडेका मिश्र पुरानै प्रतिद्वन्द्वी सिंहसँग दोस्रोपटक पराजित भए । सिंहले ७ हजार १ सय ४० मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार ११ मत ल्याए । योपटक उनी १ सय २९ मतले चुके । यसअघि मिश्र ८१९ मतान्तरले पराजित भएका थिए । यद्यपि योपटक आफूलाई मिडियाले सिध्याएको जिकिर गर्दै आएका छन् । दुवैपटक झिनो मतले पराजित भएका उनले योपटकको निर्वाचनलाई उनले महासंग्रामको निर्वाचन भएको टिप्पणी गरे ।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु । म त्यो शब्दमा व्यक्त गर्न सक्दिन ! यस पटक काठमाडौं क्षेत्र नं १ मा ‘चुनावी संग्राम’मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो’, ६ मंसिरमा उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले जतिसुकै विकशित देश भएपनि हरेक देशमा अर्थ–राजनीतिक रूपमा कल्याणकारी एजेण्डा बोकेका तर राजनीतिक–सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ’ पार्टी आवश्यक भएको उनको तर्क छ । आगामी दिनमा यसको नेतृत्व राप्रपाले गर्ने दाबी उनको छ ।

‘जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ–राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक–सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ । अब त्यसको नेतृत्व राप्रपाले गर्नेछ’, राप्रपा प्रवेश कार्यक्रमा उनले भनेका थिए ।

माओवादी केन्द्रको भविष्य नभएको भन्दै उनले राजनीतिक चरित्रका हिसाबले कांग्रेस र एमाले एउटै भएकाले उनीहरूको अस्तित्व कायमै रहने उनले भविष्यबाणि गरेका थिए । सार्वजनिक पदमा रहने व्यक्तिले मिडियासँग तंगा लिन नहुने रविलाई सुझाव दिएका मिश्र आफै शिकार बन्न पुगे ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण योजना अलपत्र

संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माणको वैकल्पिक राजनीतिको खोजी गर्ने बताएका थिए ।

सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण आफ्नै जीवनकालमा सम्भव छैन भन्ने तर्क उनको थियो । त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले साथ पाउने मिश्रको बुझाइ थियो ।

तर तत्कालीन विवेकशील साझाका अध्यक्ष मिश्र र नेता मिलन पाण्डेबीच राजनीतिक खितातानीका कारण वैकल्पिक शक्ति निर्माण गर्ने योजना अलपत्र छाडेर उनी राप्रपाको शरणमा पुगेका छन् । विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज पुस्तकका लेखकसमेत रहेका मिश्र अहिले राजसंस्था पुनस्र्थापनाको अभियानमा जोडतोडले लागेका छन् । वैकल्पिक शक्तिको नाममा राजनीति गरेका उनी अन्ततः पुरानतवादी शक्ति राप्रपामा बसेर राजाको चाकडी गरिरहेका छन् ।

मिडिया र राजनीति दुवैमा फलिफाप रवि

तर रविन्द्रको ठीक विपरित राजनीतिमा रविप्रति जनलहर ह्वात्तै बढेको छ । जनउत्तरदायी, प्रत्यक्ष जनसहभगितामुलक समावेशी लोकतन्त्रको कार्यदिशालाई अंगिकार गरी राजनीतिमा उदाएका रवि मंसिरमा भएको प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट जित्न सफल भए । निर्वाचनमा होमिएको ५ महिनामै उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार बढी लोकप्रिय मत ल्याएर सवैलाई आश्र्चयचकित बनायो ।

२०३२ सालमा काभे्रमा जन्मेका रविले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारकबाट २०४९ सालमा एसएलसी पास गरेका थिए । सन् २००२ मा उनले अमेरिका लागि भिजिट भिसा पाएपछि उनले नेपाल छाडे । अमेरिका पुगेपछि लामो समय उनी उतै बसे । सन् २००८ मा रविले अमेरिकाको ग्रिनकार्ड पाए । २१ फेब्रुअरी २०१४ अर्थात् ९ फागुन २०७० मा उनले अमेरिकाको नागरिकता प्राप्त गरे । करिब तीनवर्षपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए ।

नातेदार भिसामा नेपाल आएका उनले एक निजी टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रहेका उनी सोही कार्यक्रमबाट लोकप्रियता कमाए । बढ्दो लोकप्रियतासँगै गत असारमा रास्वपा दल दर्ता गरेका उनी विवादमा तानिए ।

प्रश्नै प्रश्नको घेरामा मतदाताले दिए शंकाको लाभ

विवादै विवादकाबीच लोकप्रिय मत ल्याइ निर्वाचन जितेका उनी ११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहति गृहमन्त्री भए । राजनीतिमा आएको निकै छोटो समयमा रविले छलाङ मार्न सफल भए । तर मन्त्री भएको ३२ दिनमै नागरिकता प्रकरणमा पदमुक्त भएका उनी वैशाख १० मा भएको उपनिर्वाचन फेरी भारी मतले विजयी भए । योपटक उनले मत र मतान्तरमात्र बढाएनन् कांग्रेसको परम्परागत गढ मानिएको तनहुँ–१ बाट थप एक सदस्य थप्न सफल भए । सर्वोच्चको फैसलाबाट सांसद र मन्त्री पद एकसाथ गुमाएका उनी आफूलाई मिडियाले चौतर्फी लखेटेको आरोप लगाएका छन् । २३ माघमा पत्रकार सम्मेलन गरी मूलधारका मिडियामाथि निकै आक्रोसित मुडमा खनिएका उनले आफू प्रधानमन्त्री भएर छाड्ने दाबी गरे ।

‘मलाई मिडियाले लखेटी लखेटी उपप्रधानमन्त्री एवं गृहमन्त्री बनायो । यसैगरी लखेट्दै जानोस् अर्को निर्वाचनमा म प्रधानमन्त्री भएर छड्छु’, त्यतिबेला उनले भनेका थिए ।

खासमा मिडियामाथि उनको आक्रोस श्रम स्वीकृति नलिइ नेपालमा काम गरेको, दोहोरो नागरिकता र राहदानी लिएको जस्ता विषय सार्वजनिक भएकोमा थियो । सर्वोच्चको आदेशपछि जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नागरिकता लिएका उनीमाथि फेरी राहदानी दुरूपयोग गरेको आरोपमा मुद्दा परेको छ । यसरी उनीमाथि चौतर्फी प्रश्न उठेपनि अहिलेसम्म जनमत भने रविकै पक्षमा देखिएको छ । त्यसको पुष्टी उपनिर्वाचनमा उनले पाएको मतले गरेको छ । रवि र उसको पार्टीप्रति यहि अवस्था कायमै रहेमा आगामी निर्वाचनमा परम्परागत दललाई ठूलो धक्का लाग्ने देखिन्छ ।