NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

व्यापार घाटा १७ प्रतिशत बढीले सुधार, अन्य सूचक कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० चैत्र मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । प्रतिवेदनअनसार अर्थतन्त्रका केही सूचकहरू सुधारोन्मुख देखिएका छन् । केही सूचक झन् खराब हुँदै गएको देखिएको छ ।

चैत्रसम्ममा आइपुग्दा महंगी झन् बढेको देखाएको छ । आयात र निर्यात दुबै घटेको छ । व्यापारघाटामा पनि कम हुँदै गएको छ । त्यस्तै रेमिट्यान्समा उल्लेखीय वृद्धि हुँदै गएको छ ।

यस्तो छ,पछिल्लो आर्थिक तथा वित्तीय स्थिति :

वाञ्छित सीमाभन्दा बढी मूल्यवृद्धि

चालु आर्थिक वर्ष ०७९/८० को चैत्र महिनामा मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दुले बढी देखिएको छ ।

चालु आवमा मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने सरकारले लक्ष्य लिएको थयो । तर नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ । फागुनमा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।

वार्षिक बिन्दुगत आधारमा समेत मूल्यवृद्धि बढी छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ । यसैगरी खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत,खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत,फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उप–समूहकोवार्षिक विन्दूगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी महंगी काठमाडौं उपत्यकामा

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत छ । त्यस्तै तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत रहिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति

चैत महिनामा वार्षिक विन्दूगत थोक मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहीमहिनामा यस्तो मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो ।

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ०.२१ प्रतिशत, ८.८८प्रतिशत र ५.१८ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.१४ प्रतिशत रहेको छ ।

रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि

चालु आव ०७९/८० को चैत्र मसान्तसम्ममा आइपुग्दा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा ३ लाख ८७ हजार ८३९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

चालु खाता ५१ अर्ब घाटामा,शोधनान्तर स्थितिमा सुधार

चालु आवको चैत्रमसान्त सम्ममा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थितिमा सुधार देखिएको छ । चैत्र मसान्तसम्ममा १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुदप्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

निर्यात २६.३ प्रतिशतले कमी

चालु आवको चैत्र मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा निर्यात २६.३ प्रतिशतले कमी देखिएको छ । तथ्यांकअनुसार सो अवधिमसम्मा १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँको विभिन्नवस्तु निर्या भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो। नेपालले विभिन्न मूलुकमा वस्तु निर्यात गर्दै आइरहेको छ । जसमध्ये नेपाललको सबैभन्दा धेरे व्यापार छिमेकी मूलुक भारतबाट हुँदै आएको छ ।

यस अवधिमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीनतथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड,अलैंची, ऊनी गलंैचा, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयात १८.१ प्रतिशतले कमी

आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी देखिएको छ । सरकारले गत वर्ष विलासी वस्तु जस्तै महंगा मोबाइल, गाडी, मोटरसाइललगायतमा लगाएको प्रतिबन्धका कारण आयातमा केही कमी आएको हो । हाल प्रतिबन्धित वस्तुको आयात खुलिसकेको छ ।

तथ्यांकअनुसार ९ महिनाको अवधिमा १२ खर्ब १ अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो । नेपालले सबैभन्दा बढी वस्तु आयात भारतबाटै गर्दै आएको छ । नौ महिनासम्ममा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत १९.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन,कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएसविलेट,दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

व्यापार घाटा १७.१ प्रतिशतले कमी

आव ०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी देखिएको छ । सो अवधिसम्म नेपालको विभिन्न मूलुकसँग व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो ।

विदेशी विनिमय सञ्चिति

चैत्र मसान्तसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति (फरेन एक्सचेञ्ज रिजर्भ) १७.९ प्रतिशतले वृद्धि भएको छ । ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैतमसान्तमा आइपुग्दा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९चैत मसान्तसम्म १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्रबैंकमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ ख्र्ब ५९ अर्ब ७४  करोड पुगेको छ । २०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०७९÷८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमयसञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

खर्च

चालु आवको नौ महिनामा संघीय सरकारको कुल खर्च ९ खर्ब ४३ अर्ब ५ करोड भएको छ । अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार समीक्षा अवधिमा चालु खर्च ७०६ अर्ब ७७ करोड, पुँजीगत खर्च १०७ अर्ब २४ करोड र वित्तीय व्यवस्था खर्च १२९ अर्ब ४ करोड रहेको छ ।

राजश्व परिचालन

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्वपरिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) गरी ६ खर्ब ८३ अर्ब ८१ करोड भएको छ । यस अवधिमा यसअन्तर्गत कर राजस्वतर्फ ६ खर्ब १६ अर्ब १२ करोड र गैर कर राजस्वतर्फ ६७ अर्ब ६९ करोड परिचालन भएको छ ।

प्रदेश सरकार अन्तर्गत

समीक्षा अवधिमा प्रदेश सरकारको कुल खर्च ९२ अर्ब १३ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेशसरकारको स्रोत परिचालन १३० अर्ब ८१ करोड रहेको छ । यसमध्ये संघीय सरकारलेहस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी१०१ अर्ब ६४ करोड छ र प्रदेशसरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट २९ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

कर्जा

चैत्र मसान्तसम्ममा कुल आन्तरिक कर्जा ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोहीअवधिमा उक्त कर्जा १०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । यस अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.० प्रतिशतले बढेको छ ।