NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

श्रीमान्–श्रीमती मिलेर सहकारीको १० अर्ब हिनामिना

काठमाडौं । भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा सर्वसाधारणको करिब १४ अर्ब निक्षेप हिनामिना भएको छ । त्यसमध्ये करिब १० अर्ब संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताले मात्र हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरूले आफ्ना नाममा करिब एक दर्जन कम्पनी खोलेर सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । त्यो पैसा फर्काउन नसकेपछि सहकारी समस्यामा परेको हो । सो हिनामिनाका योजनाकार केदार फरार छन् । गीतालाई भने प्रहरीले पक्राउ गरेको छ ।

सरकारी निकायको कमजोर नियमनको फाइदा उठाउँदै शर्मादम्पतीले सर्वसाधारणको पैसा आफूअनुकूल खर्च गरेका हुन् । उनीहरूले संस्थाबाट कर्जा लिएर विभिन्न क्षेत्रमा लगानी गरेकोमा संस्थालाई ब्याजसमेत तिरेका छैनन् । अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी भन्छन्, ‘जसरी इच्छाराज तामाङले सिभिल सहकारी डुबाएका थिए, त्यसैगरी शर्मादम्पतीले शिवशिखर सहकारी डुबाएको देखिन्छ ।’

यो हिनामिनामा संस्थाका धेरै सञ्चालक तथा कर्मचारीको मिलेमतो देखिएको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा ३५ वटा शाखा कार्यालय तथा सेवा केन्द्र रहेको सो सहकारी लामो समयदेखि संकटमा छ । संस्थाले हजारौँ निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन । १६ प्रतिशत ब्याज दिने भन्दै विज्ञापन गरेर उनीहरूले देशभरिबाट ठूलो निक्षेप उठाएका थिए ।

उपत्यकाका तीनै जिल्लाका साथै विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा संस्थाको सेवा केन्द्र छ । ती ठाउँका पीडितहरूले निक्षेप फिर्ताका लागि संघर्ष गर्दै आएका छन् । सहकारी विभागले पनि यस विषयमा पटक–पटक छलफल गराउँदै आएको छ । गत १२ वैशाखमा गीतालाई समेत उपस्थित गराई छलफल गरेको थियो । जसमा उनले आफ्ना सबै सम्पत्ति बेचेर संस्थाको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएकी थिइन् । साथै, १० दिनभित्र श्रीमान्लाई उपस्थित गराउने बताएकी थिइन् । शर्मादम्पतीलगायत सहकारीका सबै सञ्चालकको सम्पत्ति रोक्का गर्न सहकारी विभागले नै यसअघि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । विभागकै पत्राचारअनुसार सिआइबीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

उपत्यकाका पीडितहरूलाई ब्युरोमा तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा सम्पर्क गर्न सिआइबीले आग्रह गरेको छ । पीडितसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही अघि बढाउन सो सहकारीको शाखा कार्यालय रहेका जिल्लाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।