NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

लोकतान्त्रिक मूल्यका दृष्टिले वर्तमान संविधानका विशेषता

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले वर्तमान संविधान र लोकतान्त्रिक मूल्यमान्यताबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

वर्तमान संविधानका विशेषताबारे चर्चा गर्दै लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले यस संविधानको संक्षिप्त टिप्पणी गर्नुहोस । ५+५ =१०

१. विषय प्रवेश

राज्य व्यवस्था सञ्चालन गर्न राज्यको मुल कानुनको रुपमा रहने दस्तावेजलाई संविधान भनिन्छ । यो राज्य सञ्चालनको मार्ग निर्देशक दस्तावेज माग नभएर तत्कालीन सामाजिक सांस्कृतिक, आर्थिक राजनैतिक कानुनी प्रणालीको दस्तावेज पनि हो । जनआन्दोलन र शसस्त्र विद्रोहको परिणामस्वरुप संविधान सभाबाट निर्माण गरिएको यो संविधान संविधानवाद र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर निर्माण गरिएको संविधानका रुपमा रहेको छ ।

२. वर्तमान संविधानका विशेषताहरु

  • नेपालको वर्तमान संविधानका विशेषताहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ ः
    संविधान सभाबाट निर्माण भएको संविधान
  • सशस्त्र द्धन्द्ध र जनआन्दोलनको परिणामस्वरुप केन्द्रीकृत एकात्मक शोषणमूलक राज्य व्यवस्थाको अन्त्य गर्ने उद्घोषसहित निर्माण भएको संविधान
  • लोकतान्त्रिक मूल्यमान्यता र संविधानवादका आधारभूत मान्यतामा रहेर निर्माण भएको संविधान
  • समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने उद्देश्य राखेको संविधान
  • संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गरेको संविधान
  • नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार तथा सामुहिक अधिकारलाई मौलिकहकका रुपमा राखेको संविधान
  • तीन तहको संघीयतालाई अबलम्बन गर्ने कुरा उल्लेख गरेको संविधान
  • तीनै तहको सरकारहरुको एकल अधिकार सुची र साझा अधिकार सुचीलाई संविधानमा नै स्पष्ट गरिएको
  • सुधारिएको संसदीय प्रणालीलाई शासकीय प्रणालीका रुपमा अबलम्बन गरिएको

३. वर्तमान संविधानको लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले संक्षिप्त टिप्पणी

लोकतान्त्रिक संविधान हुनका लागि संविधानवादको आधारभूत मान्यतामा संविधान निर्माण भएको हुनुपर्छ । जसमा मौलिक हक, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, पूर्ण प्रेश स्वतन्त्रता, बहुदलीय व्यवस्था, बहुमतको शासन, जिम्मेवार प्रतिपक्षको व्यवस्था लगायतका विषय पूर्वशर्तका रुपमा रहेको हुनुपर्छ । संविधानलाई लोकतान्त्रिक मूल्यका दृष्टिले हेर्दा यसका अन्तरनिहित विषय जति लोकतान्त्रिक हुन्छ, यो निर्माण गर्ने पद्धति पनि त्यति नै लोकतान्त्रिक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । यी विविध सन्दर्भमा नेपालको वर्तमान संविधानलाई लोकतान्त्रिक मूल्य मान्यताका दृष्टिले हेर्दा देहाय बमोजिम टिप्पणी गर्न सकिन्छ :

  • संविधानको प्रस्तावनामा नै जनतालाई सार्वभौमसत्ता सम्पन्न भएको कुरा उल्लेख गरिएको र देशको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको,
  • जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पुर्ण प्रेश स्वतन्त्रता, स्वतन्त्र निष्पक्ष न्याय प्रणाली, कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको,
  • लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षाको परिपूर्ति गर्ने विषयलाई पनि प्रस्तावनामा नै उल्लेख गरिएको,
  • जननिर्वाचित संविधान सभाको माध्यमबाट लोकतान्त्रिक विधि र पद्धतिको प्रयोग गरी संविधान जारी गरिएको,
  • राज्यको सबै क्षेत्रमा समावेशी, समानुपातिक प्रणालीलाई अबलम्बन गरी सबै वर्ग, जाति, क्षेत्र र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने कुरा उल्लेख भएको,
  • स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट न्याय सुनिश्चित गरिएको,
  • कार्यपालिकाको स्वेच्छाचारितामाथि अंकुश लगाउन स्वतन्त्र संवैधानिक निकायहरुको व्यवस्था गरिएको,
  • जनताका अधिकारलाई थप प्रदान गर्न एकात्मक राज्य व्यवस्थालाई अन्त्य गरी संघीय व्यवस्थाको निर्माण गरिएको
  • शक्ति पृथकीकरण र सन्तुलनको व्यवहारिक प्रयोगलाई कार्यान्वयनमा ल्याउन संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति र सीमालाई उल्लेख गरिएको,

४. निष्कर्ष

नेपालको वर्तमान संविधान लोकतान्त्रिक मूल्य मान्यतामा आधारित विशेषतायुक्त छ । सार्वभौम जनताले संविधान सभाबाट निर्माण गरेको यस संविधानले परम्परागत केन्द्रीकृत एकात्मक राज्य व्यवस्थालाई अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ ।

हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्