NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दाहालको अभिव्यक्ति रेकर्डबाट हटाएर प्रतिनिधिसभा बैठक अघि बढाउने शीर्ष नेताबीच सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ (राजन) दाहालले पशुपति नाथको जलहरीमा चाँदी हालेर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भ्रष्टाचार गरेको भनी दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइने भएको छ ।

शनिबार बिहान बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता केपी शर्मा ओलीबीचको बैठकले सांसद दाहालले दिएको अभिव्यक्ति गलत र संसदीय मर्यादाविपरीत भएको निचोड निकाल्दै त्यसलाई  रेकर्डबाट हटाउने सहमति गरेको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले शीर्ष नेताबीचको बैठकमा सांसद दाहालले दिएको अभिव्यक्ति गलत भएकाले संसदको रेकर्डबाट हटाउने सहमति भएको जानकारी दिए । साथै यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा समेत सम्बोधन गर्नेछन् ।

‘पशुपतिमा जलाहरी लगाउने काम पशुपति क्षेत्र विकास कोषको हो । सरकारले बजेट मात्र छुट्याइदिने भएकाले केपी ओलीज्यूको संलग्नता छ भनेर लगाइएको आरोप गलत छ भन्ने कुरा भयो,’ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गिरीले भने, ‘गलत कुरा बोलेकाले त्यसलाई रकेर्डबाट हटाउने र प्रधानमन्त्रीज्यूले संसदमा संम्बोधनका क्रममा पनि यसबारे बोल्ने सहमति भएको छ ।’ शीर्ष तीन नेताबीच भविष्यमा संसदमा यस्ता तथ्यहीन र आधारहीन कुरा कम गर्ने सहमति पनि भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिमा सुनको जलाहरी लगाउने नाममा चाँदी हालेर केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा लगाएपछि एमालेले शुक्रबार त्यसको विरोधमा संसद अवरुद्ध पारेको थियो । शुक्रबार भएका पटक पटकका छलफलमा सहमति नजुटेपछि आज शीर्ष नेताको बैठक बसेको हो ।

प्रतिनिधिसभाको बैठक आजका लागि तय छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची छ ।