NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० असोज ११ गते

दुर्घटनामा घाइते सामान्य अवस्थाका व्यक्तिको बिएण्डबीमा मृत्यु

आफन्त भन्छन्– अस्पतालले लापरबाही गर्दा ज्यान गयो

काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालको चरम लापरबाहीले मोटरसाइकल दुर्घटनामा घाइते धादिङका गोविन्द ढुंगानाको मृत्यु भएको आफन्तले बताएका छन् । सामान्य अवस्थाका घाइतेको अस्पतालले समयमा नै उचित उपचार नगर्दा ज्यान गएको भन्दै आफन्तले दोषीउपर कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन अस्पताल प्रशासनसमक्ष माग गरेका छन् ।

बुधबार बेनीघाट रोराङ गाउँपालिका ५, चारघारेस्थित पृथ्वी राजमार्गमा धादिङको नीलकण्ठ नगरपालिका–५ का ढुंगाना सवार बा.प्र. ०२–०१६प२१३९ नम्बरको स्कुटरलाई बाटो काट्दै गर्दा ना १६ प २६२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका थिए । घाइते ढुंगानालाई मलेखुमा प्राथमिक उपचारपछि बिएण्डबी अस्पतालमा भर्ना गरिएकोमा करङमा चोट लागेको र बिहीबार अप्रेसन गर्ने अस्पतालले जनाएको थियो । तर सामान्य अवस्थामा रहेका ढुंगानाको बिहीबार बिहान ५ः१० बजे मृत्यु भएको थियो ।

मृतकका आफन्तले सामान्य अवस्थामा रहेका बिरामीको अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका आफन्त नवराज ढुंगानाले सामान्य अवस्थामा रहेका गोविन्दको अस्पतालले लापरबाही गरेकै कारण ज्यान गएको बताए ।

‘सामान्य अवस्थामा रहेका बिरामी अस्पतालकै बेडमा भोलिपल्ट बिहान मृत भेटिनुले अस्पतालको चरम लापरबाही प्रष्ट हुन्छ,’ ढुंगानाले भने ।

अस्पतालले गोविन्दको मृत्यु हृदयघातका कारण भएको बताएको छ । तर पोस्ट् मार्टम रिपोर्टले अस्पतालले दाबीविपरीत आन्तरिक रक्तश्रावका कारण उनको मृत्यु भएको देखाएको छ । यसले घटनामा अस्पतालको चरम लापरबाही रहेको संकेत गर्छ ।

पोस्ट् मार्टम रिपोर्ट र अस्पतालको दाबीमा तालमेल नमिलेकोबारे अस्पताल प्रशासनले भने केही बताएको छैन ।

अस्पतालको लापरबाहीले घाइतेको मृत्यु भएपछि उनका आफन्तले दोषीउपर कारबाही र पीडित परिवारका सदस्यलाई क्षतिपूर्ति दिन बिहीबार अस्पताल प्रशासनसमक्ष माग राखेका छन् । यससम्बन्धमा कुनै सहमति नभएको र शुक्रबार बिहान ९ः०० बजे दुवै पक्ष छलफलमा बस्ने सहमति भएको मृतकका एक आफन्तले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष