NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

केवाईसी अपडेटका लागि भन्दै तपाईंलाई कल वा एसएमएस आयो ? सावधान अकाउन्टबाट गायब हुन सक्छ रकम!

काठमाडाैं । अहिलेको समय डिजिटल युगको समय भएका हुनाले चोर/ ठगहरूले त्यही माध्यमलाई चोरीको लागि बढ्दो प्रयोग गर्न थालेको पाइएको छ । मोबाइलबाटै सम्पूर्ण अनलाइन कारोबार हुने भएकाले चोरले पनि नयाँ नयाँ उपाय अपनाएर ठगी गरिरहेको छ ।

पछिल्लो समय अनाधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकहरुलाई बैंकको केवाइसी अपडेट गर्नुपर्ने र सोको लागि सम्बन्धित ग्राहकलाई मोबाइलमा आएको ६ वटा पिन नम्बर उपलब्ध गराइदिन अनुरोध गर्ने गरेको पाइएको छ ।

क्रेडिट, डेबिट कार्ड नम्बर/ ओटिपी मागेर ठगी गर्ने ठगीहरूको निशानामा डिजिटल वालेटहरू पर्दछन् । तपाईको सानो गल्तीका कारण, कहिले क्यासब्याक वा कहिले केवाईसीको नाममा, तपाईको खातामा भएको रकम गायब हुन सक्छ ।

ती अनाधिकृत व्यक्तिहरुले ओटिपी कोड प्राप्त भएपश्चात मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस/ आइपिएस/वालेट जस्ता उपकरणहरुको पासवर्ड रिसेट गरी अकाउन्ट एक्ससिस गर्ने र ग्राहकको खाताबाट विभिन्न बैंक तथा वालेटहरुमा रकमान्तर गर्ने क्रम बढ्दो मात्रामा देखिएको छ ।

यस विषयमा बैंक तथा वित्तिय संस्थाहरुले ग्राहकलाई सचेत हुन सूचना नै जारी गरी सावधान गराइरहेको छ । साथै बैंक तथा वित्तिय संस्थाहरुले इमेल वा फोनमार्फत ओटिपी/पासवर्ड वा अन्य कुनै पनि गोप्य राख्नुपर्ने जानकारी कहिल्यै पनि नसोध्ने भएकाले यदि यसरी कसैले मागेको खण्डमा सचेत रहन अनुरोध गर्दै आएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ/कनेक्ट आइपिएस/आइपिएस/वालेटको पासवर्ड/पिन/ओटिपी गोप्य राख्न पनि बैंकले सूचित गरेको छ ।

फेक केवाइसी अपडेट लिंकबाट बच्ने उपाय

१. बैंक तथा वित्तिय संस्थाको कर्मचारी बनेर आएका कलरहरूलाई वेवास्ता गर्नुहोस्।

२. बैंक तथा वित्तिय संस्थाले गोप्य पासवर्ड, ओटिपी कोड कहिल्यै नमाग्ने हुनाले मागिहालेमा विश्वास नगनुहोस्, नदिनुहोस् ।

३. सामाजिक सञ्जाल जस्तै फेसबुक, म्यासेन्जर, भाइबर, ह्वाट्सएपमा आएका लिंकहरु क्लिक गर्नुअघि आधिकारिक हो या होइन भेरिफाइ गर्नुहोस्

४.आफ्नो मोबाइल वा गोप्य डाटा कसैसँग सेयर नगर्नुहोस्

५. यदि AnyDesk वा TeamViewer एप डाउनलोड गर्न भनियो भने, नगर्नुहोस्।

६. एप डाउनलोड गरेमा ९ अंकको कोड माग्छ भने सेयर नगर्नुहोस्।